2006-11-17 - press release - NHRC२०६३-०८-०१ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20344 अभिलेखालय सि. नं.: NCA-20344

मिति: 2006-11-17
ने.क.पा (माओवादी ) लाई आव्हान

ने.क.पा. (माओवादी) का कार्यकर्ताहरूले मुलुकका विभिन्न स्थानबाट स्कुले विद्यार्थी तथा युवाहरूलाई आर्थिक प्रलोभनमा पार्ने र जबरजस्ती कब्जामा लिई सैन्य गतिविधिमा संलग्न गराइएको भनी यस आयोगमा प्राप्त उजुरीहरू र यसैसम्बन्धमा केही दिन यता विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचारहरूका सम्बन्धमा आयोग विशेष चासो व्यक्त गर्दछ।

पाल्पा, कपिलवस्तु, दैलेख, वैतडी, सुर्खेत, रामेछाप, धादिङ्ग, ताप्लेजुङ्ग, मोरङ्ग, सुनसुरी, उदयपुर, नवलपरासी लगायतका जिल्लाहरूमा विद्यालयमा पठन-पाठन भइरहेको समयमा समेत विद्यार्थीहरूलाई जबरजस्ती कब्जामा लिई सैन्य गतिविधिमा संलग्न गराइएको आयोगको अनुगमन तथा प्राप्त उजुरीहरूबाट समेत स्पष्ट भएको छ।

ने.क.पा (माओवादी) को यस्ता कार्य बाल अधिकारसम्बन्धी महासन्धि १९८९, विद्यमान नेपाल कानून र मानव अधिकार तथा बाल अधिकारका सर्वमान्य सिद्धान्त विपरीत छन्। माओवादीको यस कार्यबाट नेपाल सरकार र ने.क.पा ( माओवादी ) बीच यही कार्तिक २२ गते भएको सम्झौता तथा युद्धविराम आचार संहिताको समेत बर्खिलाप हुन पुगेको देखिन्छ।

मुलुकमा अघि बढिरहेको शान्ति वार्ता, मानव अधिकार तथा बाल अधिकारको संरक्षणमा आफूबाट पटक -पटक व्यक्त सार्वजनिक प्रतिबद्धता र मानव अधिकारका सिद्धान्तहरूलाई ख्याल राख्दै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न आयोग ने.क.पा ( माओवादी) लाई आव्हान गर्दछ।

ध्रुव नेपाल

नि. सचिव