2006-11-01 - press release - NHRC२०६३-०७-१५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20316 अभिलेखालय सि. नं.: NCA-20316

मिति: 2006-11-01
कब्जामा लिने कार्य बन्द गर्न आग्रह

ने.क.पा ( माओवादी ) ले कब्जामा लिई भक्तपुरको ठिमीस्थित ब्राइटर टुथपेष्ट कारखानाभित्र थुनेर राखेको अवस्थामा रहेका मैतीदेवीका श्यामराज दहाल, ज्ञानेश्वरका राजेन्द्रमान श्रेष्ठ, भक्तपुरका विश्वराम माक र नेपाली कांग्रेस सिन्धुपाल्चोकका कार्यकर्ता डबले लामा राष्ट्रिय मानव अधिकार आयोग टोलीको रोहवरमा आज मुक्त भएका छन्।

मुक्त सबै व्यक्तिहरूलाई युद्धविराम आचारसंहिता राष्ट्रिय अनुगमन समितिसमक्ष जिम्मा लगाई पत्रकार सम्मेलन मार्फ परिवारजनको जिम्मा लगाइएको थियो।

आयोग टोलीले सो स्थानको अनुगमन गर्दा पेस्तोल सहित कब्जामा लिइएका भनिएका सीतापाइलाका सुविरमान बस्नेत अझै माओवादी कब्जामा रहेको पाइएको आयोग टोलीले जनाएको छ।

यसैगरी आयोग टोलीले आजै काठमाडौं जिल्ला बिष्णु बुढानिलकण्ठ गाविस वडा नं. ४ बस्ने नेपाली काँग्रेस ( प्रजातान्त्रिक) का कार्यकर्ता प्रविण खड्कालाई मेडिकेयर अस्पतालमा उपचार गराइरहेको अवस्थामा भेटेको थियो। निज खड्कालाई ने.क.पा. ( माओवादी ) का कार्यकर्ताले यही कार्तिक १२ गते महाराजगञ्जबाट कब्जामा लिई कार्तिक १४ मुक्त गरेका थिए। माओवादीको नियन्त्रणमा रहदा उनलाई माओवादी कार्यकर्ताले निर्घात कुटपिट गरी चरम यातना दिइएको कुरा आयोग टोलीले अनुगमन प्रतिवेदनमा जनाएको छ।

ने.क.पा ( माओवादी ) बाट भएका यस्ता कार्यले अन्तर्रािट्रय मानवीय कानून र मानव अधिकारको उल्लंघन हुनाका साथै युद्धविराम आचार सहिंतालाई समेत वेवास्ता गरेको देखिन्छ। आयोग ने.क.पा ( माओवादी ) लाई व्यक्तिहरुलाई यातना दिने कार्य नगर्न र कब्जामा लिइएका सम्पूर्ण व्यक्तिहरूलाई तत्कालै विना शर्त मुक्त गर्न तथा नियन्त्रणमा लिइएका सरसामानहरु फिर्ता गर्न आग्रह गर्दछ।

बिमलबाबु खत्री

संचार अधिकृत