2006-09-24 - press release - NHRC२०६३-०६-०८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20287 अभिलेखालय सि. नं.: NCA-20287

मिति: 2006-09-24
डोटी घटनामा दलितमाथि दर्ुर्व्यवहार भयो - आयोग अनुगमन

प्रेस विज्ञप्ति/असोज ७, २०६३

डोटी घटनामा दलितमाथि दर्ुर्व्यवहार भयो - आयोग अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले यही असोज १ गते सिलगढी नगरपालिका-४, डोटीमा मन्दिर प्रवेशको विषयमा गैर दलित समुदायका व्यक्तिहरूबाट दलितउपर जातिय छुवाछुत र भेदभावपूर्ण व्यवहार भएको भनिएको घटनाको स्थलगत अनुगमन सम्पन्न गरेको छ।

गत भदौं १० गते दलित महिलाहरूले स्थानीय शिवालय मन्दिरमा पूजा गर्ने क्रममा मन्दिरका पूजारी र गैर दलित समुदायका व्यक्तिहरूसँग भएको विवाद बढेपछि स्थानीय प्रशासनको प्रयासमा दलित, गैर दलित, मन्दिरका पूजारी, ने.क.पा (माओवादी) र सात राजनीतिक दलहरूबीच सहमति भई भदौ ३१ गते सम्पूर्ण मन्दिरमा दलितहरूलाई समान पहुँच दिने लिखित समझदारी सम्पन्न भएको थियो। सो समझदारी अनुसार दलित अधिकारसँग सम्बन्धित संस्थाहरू सम विकास केन्द्र (EDC) र महिला सेवा संघ (FEDO)को नेतृत्वमा झण्डै डेढ सयको दलित समूह असोज १ गते सामूहिक पूजा गर्ने कार्यक्रम राखी शैलेश्वरी मन्दिर प्रबेश गरेको आयोगको क्षेत्रीय कार्यालय धनगढीले गरेको अनुगमनबाट प्राप्त भएको छ।

अनुगमनबाट प्राप्त तथ्य अनुसार सो दिन उक्त समूह स्थानीय राधाकृष्ण मन्दिरमा पूजा गर्न जाँदा गैर दलित समुदायका व्यक्तिहरूबाट उनीहरूमाथि आक्रमण भएको पाइयो। आक्रमणपछि दलित समुदायका केही व्यक्तिहरू भागेर दिपायल, राजपुर, डडेल्धुरा र धनगढीसम्म पुगेका र सुरक्षाको कारण देखाई हालसम्म आफ्नो घर पर्किएका छैन्न।

गैर दलित समुदायका व्यक्तिहरूको आक्रमणबाट राधाकृष्ण मन्दिरमा पूजा गर्न गएका दलित समुदायका केही व्यक्तिहरू र्घाईते हुनको साथै दलित अधिकारसँग सम्बद्ध संस्थाहरू EDC र FEDO मा समेत क्षति पुगेको पाइयो। यी घटनाहरू हुन नदिन प्रहरी प्रशासनले आवश्यक पहल गर्न नसकेको पाइयो।

यस घटनाबाट नेपाल अधिराज्यको संविधान २०४७ को धारा ११, जातीय विभेद उन्मूलन सम्बन्धि महासन्धी १९६५, अन्य प्रचलित नेपाल कानुन र हालै संसदबाट भएको जातीय छुवाछुत उन्मूलन गर्ने घोषणाको समेत उलंघन हुन पुगेको छ।

आयोग घटनाका र्घाईतेहरूलाई उपचार र क्षतिपूति, तोडफोड भएका संस्थाहरूको भौतिक क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिन/दिलाउन, दलित माथि भेदभाव र दुर्व्यवहार गर्ने पूजारी लगायत तोडफोडमा संलग्न दोषीहरूको पहिचान गरी कानुन बमोजिम कारवाही गर्न नेपाल सरकारसँग आग्रह गर्दछ।

विमलबाबु खत्री

संचार अधिकृत