2006-09-04 - press release - NHRC२०६३-०५-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20268 अभिलेखालय सि. नं.: NCA-20268

मिति: 2006-09-04
विस्थापित व्यक्तिहरूलाई पुनर्स्थापना गराउन आयोगको आग्रह

प्रेस विज्ञप्ति/भाद्र १८, २०६३

विस्थापित व्यक्तिहरूलाई पुनर्स्थापना गराउन आयोगको आग्रह

ललितपुर - मुलुकमा विगत एक दशकदेखि सञ्चालित सशस्त्र द्वन्द्वका क्रममा विस्थापित व्यक्तिहरूलाई घर फर्काउने वातावरण सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोग नेपाल सरकार र ने.क.पा ( माओवादी ) लाई अनुरोध गर्दछ।

विस्थापित व्यक्तिहरूको घर फर्काउने वातावरणका लागि उनीहरूको कब्जा गरिएको घर तथा सम्पत्ति फिर्ता गर्न र आफ्नो प्रतिबद्धतालाई पूर्ण पालनाका लागि कार्यकर्ताहरूलाई निर्देशन दिन ने.क.पा ( माओवादी ) समक्ष आग्रह गर्दछ। त्यसैगरी उचित खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षा लगायतका कुरा सुनिश्चित गरी पुनर्स्थापना कार्यक्रम ल्याउन नेपाल सरकारसमक्ष आयोगको आग्रह छ। यसका लागि आयोगले विभिन्न समयमा विस्थापित व्यक्तिहरूको पुनर्स्थापना र उनीहरूको अधिकार संरक्षणका लागि गरेका सिफारिसहरू कार्यान्वयन गर्न समेत आयोग नेपाल सरकारसमक्ष पुनःआग्रह गर्दछ।

यसै सन्दर्भमा ने.क.पा ( माओवादी ) पीडित संघले गत साता आयोजना गरेको शान्तिपूर्ण धर्ना कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेको घटनाप्रति आयोग चासो व्यक्त गर्दछ। शान्तिपूर्ण रूपमा विरोध प‍र्दर्शन गर्न पाउनु संविधान तथा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनद्वारा प्रत्याभूत अधिकारको हो, जसको सदैव सम्मान हुने वातावरण सिर्जना हुनुपर्छ भन्ने आयोगको भनाइ छ। आयोगले त्यसरी गरिने विरोध पर्दशनको नियमित अनुगमन गर्दै आइरहेको छ।

माओवादी पीडित संघका प्रतिनिधिहरूसँग आज आयोगमा भएको छलफलमा समेत आयोगले यस सम्बन्धमा प्रष्ट पारेको छ। आयोगले माओवादी पीडित व्यक्तिहरूको संरक्षणका लागि उचित ध्यान पुर्‍याउन नसकेको भन्दै आयोगमा आएका सो संघका पदाधिकारीहरूसँग आयोगमा निमित्त सचिव ध्रुव नेपालको टोलीले छलफल गरेको थियो।

ध्रुव नेपाल

निमित्त सचिव