2006-08-31 - press release - NHRC२०६३-०५-१५ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20263 अभिलेखालय सि. नं.: NCA-20263

मिति: 2006-08-31
जबरजस्ती वेपत्ता पारिने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवस अगस्ट ३० का अवसरमा आयोगले जारी गरेको

प्रेस विज्ञप्ति/भाद्र १४, २०६३

(जबरजस्ती वेपत्ता पारिने कार्य विरूद्धको अन्तर्राष्ट्रिय दिवस अगस्ट ३० का अवसरमा आयोगले जारी गरेको)

सशस्त्र द्वन्द्वका क्रममा पक्राउपश्चात वेपत्ता पारिएका तथा अपहरणपश्चात स्थिति अज्ञात पारिएका भनिएका सयौं नागरिकहरूको स्थिति सार्वजनिक हुन सकेका छैन। राष्ट्रिय मानव अधिकार आयोगको २०६३ साउन मसान्तसम्मको तथ्याङ्क अनुसार सुरक्षाकर्मीबाट पक्राऊ गरी वेपत्ता पारिएका भनिएका १७६८ जना मध्ये ५६३ जनाको स्थिति अज्ञात छ। त्यसैगरी, ने.क.पा. माओवादीबाट कब्जामा लिई वेपत्ता पारिएका भनिएका ७५० जना मध्ये ३१५ जना र अज्ञात समूहबाट वेपत्ता पारिएका भनिएका ७३ जना मध्ये ५८ जना व्यक्तिहरुको स्थिति सार्वजनिक हुन सकेको छैन।

नागरिकलाई नियन्त्रणमा लिई स्थिति अज्ञात तुल्याउने कार्य हालसम्म पनि पूर्णरुपले नरोकिनु गम्भीर चिन्ताको विषय हो। अर्कोतिर, नेपाल सरकार र ने.क.पा (माओवादी) बीच भएको युद्धविराम आचार संहितामा समेत अज्ञात पारिएका व्यक्तिहरूको स्थिति यथाशीघ्र सार्वजनिक गर्ने सहमति भएपनि सोको प्रभावकारी कार्यान्वयन भएको देखिदैंन। यसले स्थिति अज्ञात पारिएका व्यक्तिहरूको अवस्था पत्ता लगाउने कार्यमा सम्बन्धित पक्षहरूको प्रतिबद्धतामाथि शङ्का उत्पन्न गरेको छ।

आयोग वेपत्ता पारिएका तथा अपहरण गरी स्थिति अज्ञात पारिएका सम्पूर्ण व्यक्तिहरुको स्थिति तत्काल सार्वजनिक गर्न नेपाल सरकार तथा ने.क.पा. (माओवादी) लाई आग्रह गर्दछ। साथै, मानिसलाई नियन्त्रणमा लिई स्थिति अज्ञात तुल्याउने कार्य तत्काल बन्द गर्न आयोग सम्बन्धित पक्षलाई आव्हान गर्दछ ।

ध्रुव नेपाल

निमित्त सचिव