2006-04-06 - press release - NHRC२०६२-१२-२४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20157 अभिलेखालय सि. नं.: NCA-20157

मिति: 2006-04-06
प्र.जि.अ. सहित सबैलाई मुक्त गर्न आग्रह र पहिलो दिन मानव अधिकार अवस्थाको अनुगमन, २०६२ चैत २४

प्र.जि.अ अधिकारीसहित सबैलाई मुक्त गर्न आग्रह

मिति २०६२ चैत २३ गते राती ने.क.पा.(माओवादी) ले र्सलाही जिल्ला सदरमुकाम मलंगवा आक्रमणमा सो जिल्लाका प्रमुख जिल्ला अधिकारी बोधराज अधिकारीसहित केही सुरक्षाकर्मीहरूलाई कब्जामा लिई गएको भन्ने प्रारम्भिक जानकारी यस आयोगमा प्राप्त भएको छ।

आयोग, कब्जामा लिइएका व्यक्तिहरुलाई अन्तर्राष्ट्रिय जेनेभा महासन्धिको धारा ३ अनुरूपको व्यवहार गर्न तथा तत्काल विना शर्त मुक्त गर्न ने.क.पा. (माओवादी) लाई आग्रह गर्दछ। साथै, प्र.जि. अ. अधिकारी उच्च रक्तचाप, मधुमेह लगायतका रोगबाट ग्रस्त रहनुभएको र नियमित औषधि सेवन गरिरहनुभएको उहाँको परिवारले यस आयोगमा जानकारी दिएको हुँदा त्यसतर्फ ध्यान पुर्‍याउन समेत आयोगको आग्रह छ।

मानव अधिकार अवस्थाको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगले सात राजनीतिक दलहरूले आयोजना गरेको देशव्यापी आम हडतालको पहिलो दिन आज मानव अधिकार अवस्थाको अनुगमन गर्‍यो।

आयोगको काठमाडौंस्थित केन्द्रीय, विराटनगर, पोखरा, नेपालगञ्ज तथा धनगढीस्थित क्षेत्रीय कार्यालयहरूबाट खटेका छुट्टाछुट्टै टोलीहरूले आम हडताल तथा त्यस क्रममा सात राजनीतिक दलहरूले विभिन्न स्थानहरूमा आयोजना गरेका विरोध प्रदर्शनमा मानव अधिकार अवस्थाको अनुगमन सम्पन्न गरेका थिए। आयोगको केन्द्रबाट सदस्य सुदीप पाठकको नेत्तृत्वमा खटेको अधिकृतहरूको टोलीले उपत्यकाका विभिन्न स्थानहरूमा पुगी अनुगमन गरेको थियो।

अनुगमनका क्रममा सशस्त्र प्रहरी गण महाराजगञ्ज, वडा प्रहरी कार्यालय महाराजगञ्ज बानेश्वर लगायतका ठाउँमा गई पक्राउ गरी थुनामा राखिएका ब्यक्तिहरुसंग भेट गरेको थियो। थुनामा राखिएकाहरुको लागि पिउने पानी, बस्ने ठाउँ तथा खानाको समुचित प्रबन्ध गरिएको नपाइएकोले सो को प्रबन्ध गर्न तथा कतिपय विद्यार्थीहरुको स्नातक तहका विभिन्न बर्षो परीक्षा सञ्चालन भइरहेको समेत बुझिन आएकोले पक्राउ परेका विद्यार्थीहरुलाई तत्काल रिहा गर्न तथा निर्भयतापूर्वक परीक्षा दिने बातावरण तत्कालै मिलाउन, काभ्रे एमाले जिल्ला कमिटी सदस्य कुमार थापा तथा नेपाल कमर्स क्याम्पस मीनभवनका स्व.वि.यू. सहसचिव भीम रावल पक्राउका क्रममा गंभीर घाइते भएको पाइएको तर उपचारको कुनै पहल गरिएको नपाइएकोले निजहरुको तत्काल उपचार गराउनका लागि आयोग श्री ५ को सरकारलाई अनुरोध गर्दछ।

विमलबाबु खत्री

सञ्चार अधिकृत