Archive ref no: NCA-20131
मिति: 2006-03-17
वेपत्ताहरूको स्थिति पत्ता लगाउन विशेष कार्यक्रम र कब्जामुक्त गर्न आग्रह, २०६२ चैत ४
वेपत्ता परिएकाहरूको स्थिति पत्ता लगाउन आयोगको विशेष कार्यक्रम
वेपत्ता पारिएका व्यक्तिहरूको स्थिति पत्ता लगाउन राष्ट्रिय मानव अधिकार आयोगले विशेष कार्यक्रमका साथ सक्रिय रूपमा काम गरिरहेको छ।
यसै सिलसिलामा आयोगका सदस्य सुदिप पाठकसहित अधिकृतहरू सम्मिलित टोली यही चैत ५ गते पोखरा प्रस्थान गर्नेछ। सो टोलीले बेपत्ता परिएको भनी आयोगको क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीहरू र त्यस सम्बन्धमा भईरहेका काम कारवाहीको बारेमा जानकारी लिनेछ। सो टोलीले त्यस क्षेत्रमा वेपत्ता पारिएका व्यक्तिहरूको स्थिति पत्ता लगाउन सम्बन्धित सरकारी निकाय र सम्पूर्ण सरोकारवालाहरूसँग समेत छलफल गर्नेछ। वेपत्ता पारिएका व्यक्तिहरूकै खोजीका क्रममा आयोगका सदस्यसहितको टोली पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रहरूमा समेत जाने कार्यक्रम रहेको छ।
वेपत्ता पारिएका व्यक्तिहरूको खोजीका क्रममा आयोगले केन्द्रीय कार्यालयमा वेपत्ता इकाईमा अधिकृतहरू थप गरी सात जनालाई विशेष रूपमा कार्य गर्न खटाएको र विराटनगर, पोखरा, नेपालगञ्ज तथा धनगढीस्थित क्षेत्रीय कार्यालयहरूमा छुट्टै इकाई स्थापना गरी काम शुरू गरिसकेको छ।
आयोगले यसै सिलसिलामा श्री ५ को सरकार तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरूसँग छलफल र जानकारी माग गरेको छ। यसैगरी नेपालस्थित राष्ट्रसंघीय मानव अधिकार उच्चायोगको कार्यालय, पिडितका परिवारहरू, मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू लगायत सम्पूर्ण सरोकारवालहरूसँग पनि छलफल र भेटघाट गरिरहेको छ। साथै शाही नेपाली सेना र प्रहरी हिरासत, थुनुवा केन्द्र तथा कारागारको नियमित अनुगमन तथा निरिक्षण र विभिन्न जिल्लाहरूमा स्थलगत अनुसन्धान/अनुगमन जारी राखेको छ।
कब्जामुक्त गर्न आग्रह
ने.क.पा. (माओवादी) का कार्यकर्ताहरूले कृषि विकास कार्यालय ओखलढुङ्गामा कार्यरत धनबहादुर रानालाई यही चैत १ गते कब्जामा लिई गएको भन्ने प्राप्त उजुरीप्रति यस आयोगको ध्यानाकर्षा भएको छ।
आयोग ने.क.पा.(माओवादी) का कार्यकर्ताहरूलाई मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न तथा कब्जामा लिई गएका कर्मचारी रानालाई विना शर्त तत्काल कब्जामुक्त गर्न आव्हान गर्दछ।
ध्रुव नेपाल
निमित्त सचिव