Archive ref no: NCA-20080
मिति: 2006-02-07
नेपाल बन्द फिर्ता लिन आग्रह, २०६२ माघ २५
ललितपुर, माघ २५, २०६२ - ने.क.पा. (माओवादी) ले यही माघ २३ गतेदेखि २९ गतेसम्म आव्हान गरेको नेपाल बन्दले स्वतन्त्र रूपमा पेशा, व्यवसाय गर्न पाउने, आवागमन गर्ने, अत्यावश्यकीय सेवा प्राप्त गर्ने लगायतका आधारभूत अधिकारहरूबाट आम नागरिक वञ्चित हुन पुगेको तथ्यप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।
डर, धम्की तथा हिंसाको समेत प्रयोग गरी बन्द गराउने कार्यले आफ्नो हक प्रयोग गर्दा अर्काको हकको हनन गर्न नहुने मानव अधिकारको सामान्य सिद्धान्तको समेत उल्लंघन हुन गएको देखिएको छ। आम जनजीवनलाई सामान्य रूपमा फर्काइ मानव अधिकारको निर्वाध उपभोग गर्न पाउने अवस्था सिर्जना गर्न एक साता लामो नेपाल वन्दको बाँकी दिनका कार्यक्रम तत्काल फिर्ता लिन आयोग ने.क.पा.(माओवादी)लाई आव्हान गर्दछ।
ने.क.पा (माओवादी)को केन्द्रीय नेत्तृत्व तहबाट विभिन्न समयमा मानव अधिकारका सर्वमान्य सिद्धान्तप्रति जारी सार्वजनिक प्रतिबद्धता समेतलाई ख्याल राखी आम नागरिकले निर्वाध ढङ्गबाट अधिकारको उपभोग गर्न पाउने अधिकारमा अवरोध नपुर्याउन समेत आयोग ने.क.पा (माओवादी) लाई आग्रह गर्दछ।
ध्रुव नेपाल
निमित्त सचिव