2006-02-05 - press release - NHRC२०६२-१०-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20074 अभिलेखालय सि. नं.: NCA-20074

मिति: 2006-02-05
आयोगका अध्यक्षसहितको टोलीद्वारा थुनुवा केन्द्रहरूको आकस्मिक निरीक्षण, २०६२ माघ २३

ललितपुर, माघ २३, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्री, सदस्यहरू सुशीला सिंह सिलु र सुदिप पाठकसहितको टोलीले आज जाउलाखेलस्थित महिला प्रशिक्षण केन्द्र र त्रिपुरेश्वरस्थित प्रहरी पहरा गणमा थुनामा राखिएका व्यक्तिहरूको मानव अधिकारको अवस्थाको बारेमा आकस्मिक निरीक्षण गर्‍यो।

अनुगमनका क्रममा सुरक्षाकर्मीद्वारा पर्याप्त र उचित आधार विना - निषेधित क्षेत्रबाहिर प्राध्यापक, पेशाकर्मी, मानव अधिकारकर्मी र वटुवाहरूसमेतलाई पक्राउ गरी थुनामा राखिएको, कतिपय स्थानमा पक्राउ गर्दा अधिक बल प्रयोग गरिएको पाइयो। यस्ता कार्य स्वतन्त्र रूपमा आवागमन गर्ने तथा विना हात हतियार शान्तिपर्ूवक भेला हुने संविधानप्रदत्त मौलिक हक र राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी अनुबन्धद्वारा प्रत्याभूत गरिएको अधिकार विपरीत हो।

उल्लेखित स्थानमा क्षमताभन्दा बढी व्यक्तिहरूलाई थुनामा राखिएको, थुनुवाहरूलाई कानुन बमोजिम पाउनुपर्ने आधारभूत सुविधाबाट वञ्चित गरिएको र खानेपानी, स्वास्थ्य, खाना, शौचालय तथा सुत्ने स्थानको यथोचित प्रबन्ध नगरिएको पाइयो।

आयोग श्री ५ को सरकारलाई उचित र पर्याप्त आधार विना पक्राउ गरी थुनामा राखिएका व्यक्तिहरूलाई यथाशीघ्र रिहा गर्न आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव