2006-01-25 - press release - NHRC२०६२-१०-१२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20056 अभिलेखालय सि. नं.: NCA-20056

मिति: 2006-01-25
आयोगले विरोध प्रदर्शनका घटनाहरूको अनुगमन, २०६२ माघ १२

ललितपुर, माघ १२, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगले राजधानीका विभिन्न स्थानहरूमा राजनीतिक दलहरूले आयोजना गरेको विरोध प्रदर्शनका क्रममा भएका घटनाहरूको निरन्तर र नियमित अनुगमन गरिरहेको छ। त्यसरी भएका विरोध प्रदर्शनमा सुरक्षाकर्मीबाट अध्याधिक बल प्रयोग हुनुका साथै जुलुस र विरोध प्रदर्शनमा संलग्न नभएका सर्वसाधारण वटुवाहरूलाई समेत नियन्त्रणमा लिई निर्घात कुटपिट गरिएको तथ्य आयोगले सङ्कलन गरेको छ।

सोही तथ्यहरूका आधारमा आयोगले आज श्री ५ को सरकारलाई राजनीतिक दलहरूद्वारा गरिएको विरोध प्रदर्शनमा सुरक्षाकर्मीबाट अत्याधिक बल प्रयोग हुनुका साथै जुलुस र विरोध प्रदर्शनमा संलग्न नभएका सर्वसाधारण वटुवाहरूलाई समेत नियन्त्रणमा लिई निर्घात कुटपीट गरिएको पाइएकाले शान्तिपूण जुलुसमा सहभागी हुने तथा वटुवाहरूलाई कुटपीट लगायत अत्याधिक बलको प्रयोग नगर्न अबिलम्ब निर्देशन हुन तथा सुरक्षाकर्मीद्वारा घाइते बनाइएका व्यक्तिहरूको निःशुल्क औषधि उपचारको व्यवस्था गर्न सिफारिस गरी पठाएको छ।

साथै आफ्नो अधिकारको उपभोग गर्दा मर्यादामा रही अन्य व्यक्तिको अधिकारलाई सम्मान गर्नुपर्ने मानव अधिकारको आधारभूत मान्यतालाई ख्याल गर्न र शान्तिपूवक रूपमा गरिने कार्यक्रमले कुनै पनि अवस्थामा हिंसालाई वढावा नगर्न नगराउन सम्बन्धित सबै पक्षलाई आयोग आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव