Archive ref no: NCA-20038
मिति: 2006-01-13
ने.क.पा. (माओवादी)द्वारा धम्की र अपहरण जारी, २०६२ पौष २९
राष्ट्रिय मानव अधिकार आयोगमा ने.क.पा (माओवादी) ले मुलुकका विभिन्न भागमा व्यक्तिहरूलाई अपहरण गर्ने र धम्की दिने जस्ता अमानवीय क्रियाकलापहरू गरेको भनी यो साता विभिन्न उजुरीहरू प्राप्त भएका छन्।
प्राप्त उजुरी अनुसार दोलखा जिल्ला जफे गाविस वडा नं ४ बस्ने नरबहादुर न्यौपानेलाई उनका छोराहरू शाही नेपाली सेनामा जागीर खाएको आरोपमा ने.क.पा. (माओवादी)ले यही मंसिर १० गते अपहरण गरी पचास हजार बुझाउने शर्तमा मंसिर १२ गते अपहरण मुक्त गरेको र उक्त रकम नबुझाएमा हत्या गर्ने धम्की समेत दिएकोले ज्यूज्यानको रक्षा गरी मानव अधिकारको संरक्षण गरी पाउँ भनी आयोगमा उजुरी पर्न आएको छ।
यसैगरी माओवादी समूहले धादिङ्ग जिल्ला केवलपुर गाविस वडा नं. २ बस्ने गोमाकुमारी कोइरालालाई २०६० पुष २८ गते राति ९ बजे र बारा जिल्ला भरतगञ्ज सिंगौल गाविस वडा नं. १ बस्ने सन्तोष केसीलाई यही पुष ९ गते दिउँसो निजहरूकै घरबाट केही कुरा बुझनु छ भनी कब्जामा लिएर गएको र हालसम्म पनि मुक्त नगरेको भनी आयोगमा उजुरी परेको छ।
आयोग ने.क.पा (माओवादी) लाई पटक पटक र्सार्वजनिक रूपमा मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति जारी गरेको प्रतिबद्धता समेतलाई ध्यानमा राखी मानव अधिकार तथा मानवीय कानूनको पूर्ण पालना गर्नका निम्ति अपहरित व्यक्तिको विना शर्त तत्काल रिहाइ एवं स्वतन्त्रतापूर्वक बाँच्न र जीवनयापन गर्न पाउने अधिकारको सम्मान गर्न आव्हान गर्दछ।
ध्रुव नेपाल
निमित्त सचिव