Archive ref no: NCA-20035
मिति: 2006-01-12
आयोगद्वारा रक्षा र गृह सचिवसग छलफल, २०६२ पुस २८
ललितपुर, पुस २८, २०६२ - राज्यद्वारा पक्राउ गरी वेपत्ता पारिएका भनिएका व्यक्तिहरूको तदारूकताका साथ खोजी गर्ने क्रममा राष्ट्रिय मानव अधिकार आयोगले आज श्री ५ को सरकारका गृह सचिव बालकृष्ण प्रसाई तथा रक्षा सचिव विष्णुदत्त उप्रेतीसँग आज आयोगमा छलफल गर्यो।
सो अवसरमा आयोगले राज्यद्वारा वेपत्ता पारिएको भनी आयोगमा प्राप्त उजुरीहरूका सम्बन्धमा सचिवद्वयलाई जानकारी गराएको थियो। सचिवद्वयले आयोगले यस सम्बन्धमा मागेका जानकारी उपलब्ध गराउने र आयोगलाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
छलफलमा आयोगका सदस्यहरू तथा अधिकृत कर्मचारीहरू संलग्न हुनुहुन्थ्यो।
ध्रुव नेपाल
निमित्त सचिव