2006-01-03 - press release - INSEC२०६२-०९-१९ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20024 अभिलेखालय सि. नं.: NCA-20024

प्रेस विज्ञप्ति

०६२ पुस १९ गते

प्रेस विज्ञप्ति

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कामको सिलसिलामा गइरहेको भे १ च ५७८ नम्बरको गाडीमाथि बाँके जिल्लाको कोहलपुरबाट चार-पाँच किलोमिटर पश्चिमतर्फअवस्थित मदनचोकमा एक समूहले आक्रमण गरी इन्सेक केन्द्रीय कार्यालयका अधिकृत शैलेश शर्मा र गाडीका चालक रमेश विकलाई घाइते बनाएको घटनाले हामीलाई गम्भीर बनाएको छ।

इन्सेक सहकर्मीहरू सवार गाडीलाई स्थानीय मदनचोकमा बिहान साडे नौ बजे मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेत र एकीकृत भेरी बस तथा मिनीबस व्यवसायी संघ बाँकेको नाममा जम्मा भएको करिब १०-१२ जनाको एक समूहले रोकेको थियो। रोकिएको गाडीलाई "यो त इन्सेकको गाडी रहेछ" भन्दै त्यही समूहका केही व्यक्तिले जान भनेका थिए। तर चालकले गाडी अघि बढाउन प्रयत्न गर्नासाथ सिसामा प्रहार गरिएको थियो। त्यसपछि उक्त समूहले गाडीमा तोडफोड गर्दै अन्धाधुन्ध कुटपिट सुरु गरेको थियो। तोडफोडबाट रु. २ लाख मूल्य बराबरको क्षति पुग्न गएको छ।

प्रष्टसँग इन्सेकको नाम तथा लोगो रहेको गाडीमाथि, मानवअधिकारकर्मी संस्थाको गाडी भन्ने पहिचान पछिसमेत आक्रमण गरिनु सामान्य उत्तेजनाको मात्र परिणाम हो भन्ने हामीलाई लाग्दैन। त्यसैले उक्त घटनाको छानबिन राज्यले गर्नु पर्ने हाम्रो माग रहेको छ। यायायात व्यवसायीका नाममा एक समूहले मानवअधिकारकर्मी संस्थालाई निशाना बनाएको सम्बन्धमा यथार्थ पत्ता लगाउन मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेत र एकीकृत भेरी बस तथा मिनीबस व्यवसायी संघ बाँके स्वयम् समेत अग्रसर हुनु पर्छ भन्ने हामी ठान्छौं। साथै, दोषीमाथि कडा कार्बाही गर्न र घाइतेको औषधोपचार तथा गाडीको समेत क्षतिपूर्तिका लागि माग गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष