2005-11-30 - press release - CPN-M२०६२-०८-१५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20916 अभिलेखालय सि. नं.: NCA-20916

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

हिजो साँझ सवा पाँच बजे सल्यानको सिमानामा पर्ने रोल्पा जिल्लाको जिनावाङ्गमा पार्टी केन्द्रका नयाँ निर्णयहरु, राजनैतिक दलहरुसंग भएको समझदारी एवम् युद्धविरामका विषयमा राजनैतिक प्रशिक्षण गरिरहेका जनमुक्ति सेनाका कार्यकर्ताहरुमाथि कथित शाही सेनाद्वारा हेलिकप्टर बाट गरिएको अन्धाधुन्ध प्रहारका कारण हाम्रो पार्टी केन्द्रका पूर्व सदस्य, जनमुक्ति सेनाका डिभिजन कमाण्डर एवं रोल्पा जिल्लाका एक लोकप्रिय नेता क.किमबहादुर थापा (सुनिल) को शहादत भएको खबरले सिंगो पार्टी, जनसेना र जनपंक्ति स्तब्ध भएको छ। क.किमबहादुर थापासंगै सल्यान जिल्लाका अर्का होनहार युवा तथा जनसेना का बटालियन भाइस कमाण्डर क.निर्ममको पनि सो अन्धाधुन्ध प्रहारबाट शहादत हुन पुगेको छ। दिउँसो सल्यान जिल्लाको वुरांसेमा जनमुक्ति सेनाको प्रतिरोधबाट भाग्न बाध्य भएका शाही हत्याराहरुले बेलुका रोल्पामा यो जघन्य हत्याकाण्ड मच्चाएका हुन्। हाम्रो पार्टी ज्ञानेन्द्र शाही र उसका लठैतहरुको यो कायरतापूर्ण अपराधप्रति तीव्र घृणा, आक्रोश र भत्र्सना व्यक्त गर्दै क.किमबहादुर थापा (सुनिल) र क.निर्ममलाई नेपाली जनताको लोकतन्त्र र शान्तिको आकंक्षा पूरा गर्न प्राणको आहुति दिने महान् शहीद घोषणा गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै पार्टी वहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ।

पछिल्लो वार्ता अवधिमा दोरम्बा हत्याकाण्ड मच्चाएर वार्ता भांडने भूमिका खेले जस्तै सामन्ती निरंकुश तत्वहरुले हाम्रो पार्टीका तर्फबाट लोकतन्त्र र शान्तिको पक्षमा तीन महिने युद्धविरामको घोषणा गरेदेखि नै त्यसलाई बीचमै भांड्नका लागि निहत्था कार्यकर्ताहरुको हत्या गर्ने, बेपत्ता पार्ने र जनतालाई आतंकित पार्ने उत्तेजक कृयाकलाप गर्दै आएका छन्। अहिले युद्धविरामको अवधि सकिन लागेको तथा हामीले त्यसलाई अझ लम्ब्याउन सकिने संकेत गरिरहेको, लोकतन्त्र र शान्तिको दिशामा राजनैतिक पार्टीहरुका बीचमा समझदारी बनिरहेको तथा हाम्रो पार्टीले अत्यन्त गंभीरता र लचकतापूर्वक विभिन्न अन्तर्राष्ट्रिय संघ, संस्था र शक्तिहरुसँग अन्तरक्रिया बढाइरहेको आजको विशिष्ट सन्दर्भमा निरंकुश सामन्ती तत्वहरुले भने देशव्यापि सैन्य आतंकलाई तिव्रता दिइरहेका छन्। क.किमबहादुर थापा र क.निर्ममको हत्या त्यही आतंकको पछिल्लो कडी हो। यी घटनाक्रमहरुले सामन्ती दरवार र उसका पृष्ठपोषकहरु नेपालमा कुनै पनि हिसाबले लोकतान्त्रिक निकास र शान्तिको पक्षमा नरहेको मात्र होइन जनताको रगतमा होली खेलेर आफ्नो निरंकुशतन्त्र बचाउने मूर्खतापूर्ण दुश्साहसमा मात्र रहेको तथ्यलाई झन स्पष्ट गरेका छन्।

शोकको यो घडीमा हाम्रो पार्टी नेपाली जनताको लोकतन्त्र र शान्तिको आकंक्षा पूरा गर्न झन दृढता र जिम्मेवारीपूर्वक अगाडि बढिरहने प्रतिबद्धता दोहोर््याउन चाहन्छ। सामन्ती हत्याराहरुका उत्तेजक कृयाकलापबाट हाम्रो महान् पार्टी आफ्नो ऐतिहासिक कर्तव्यबाट कदापि विचलित हुने छैन। नेपाली इतिहासको यो संवेदनशील घडीमा हाम्रो पार्टी मध्ययुगीन सामन्ती निरंकुशतन्त्रलाई सदाका निमित्त बढारेर नेपाललाई एक लोकतान्त्रिक, शान्त र समृद्ध देशमा बदल्न सबै राजनैतिक दल, नागरिक समाज, वौद्धिक तप्का र आम जनसमुदायसँग एकताबद्ध आन्दोलनको आंधिबेहरी सृष्टि गर्न विशेष अपिल गर्दछ। मुठ्ठिभर सामन्ती हत्याराहरुले जनताको ऐतिहासिक पहललाई कदापि रोक्न सक्ने छैनन्, निरंकुशताको अन्त्य र जनताको विजय निश्चित छ। त्यसैगरी हाम्रो पार्टी यस अवसरमा नेपाली जनताको लोकतन्त्र र शान्तिको आकंक्षाका विरुद्ध अभिशाप बनेको निरंकुश सामन्ती पुरानो सत्तासँग सबै प्रकारका सम्बन्ध विच्छेद गरी नेपाली जनताको पक्षमा अझ व्यापकरुपमा लामबन्द बन्न तथा आवाज बुलन्द गर्न विश्वभरिका जनपक्षीय राजनैतिक शक्ति, संघ, संस्था र न्यायप्रेमी जनसमुदायसँग हार्दिक अपिल गर्दछ। नेपाल लोकतान्त्रिक गणतन्त्रको संघारमा छ। त्यसको विजयलाई अब कुनै तानाशाहहरुले रोक्नसक्ने छैनन्।

मिति ः— १५ मार्ग २०६२

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)