2005-11-30 - press release - CPN-M२०६२-०८-१५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20913 अभिलेखालय सि. नं.: NCA-20913

संयुक्त क्रान्तिकारी जनपरिषद ्, नेपाल
(वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति)
United Revolutionary People's Council, Nepal
(Broad National Political Conference Organizing Committee)

प्रेस–विज्ञप्ति

संयुक्त क्रान्तिकारी जनपरिषद ्, नेपालको हालै सम्पन्न वैठकका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस–विज्ञप्ति जारी गरिएकोछ ।

१. ने.क.पा.(माओवादी)को नेतृत्वमा केन्द्रीय जनसरकार उन्मुख क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा गठित ‘संयुक्त क्रान्तिकारी जनपरिषद ्, नेपाल’ को पुरानो केन्द्रीय संगठन समिति विघटन गरी देशमा विकसित नयाँ राजनैतिक सन्दर्भमा क्रान्तिकारी आधार इलाका तथा जनसत्ताहरुलाई सुदृढ गर्ने र सवै सामन्तवाद तथा साम्राज्यवाद विरोधी शक्तिहरुको वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजना गर्ने लक्ष्य सहित पार्टी, जनसेना, स्वायत्त जनसरकार, जनवर्गीय संगठन र पेशागत समूहहरु समेतको प्रतिनिधित्व हुने गरी निम्न वमोजिमको २१–सदस्यीय ‘वृहद् राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति’ गठन गरिएको छः

१.वावुराम भट्टराई (पार्टी) २.नन्दकिशोर पुन (जनमुक्ति सेना) ३.देव गुरुङ (तमुवान स्वायत्त गणतन्त्र) ४.लेखराज भट्ट (सेती–महाकाली स्वायत्त गणतन्त्र) ५.खड्गबहादुर वि.क. (भेरी–कर्णाली स्वायत्त गणतन्त्र) ६. रामचरण चौधरी (थारुवान स्वायत्त गणतन्त्र) ७. सन्तोष वुढा मगर (मगरात स्वायत्त गणतन्त्र) ८. गोपाल खुम्बु किराँती (किराँत स्वायत्त गणतन्त्र) ९.प्रभु साह (मधेस स्वायत्त गणतन्त्र) १०. दावा लामा (तामाङ स्वायत्त गणतन्त्र) ११. पवनमान श्रेष्ठ (नेवाः मुक्ति मोर्चा) १२.मणिचन्द्र थापा (सांस्कृतिक मोर्चा) १३. शिवराज गौतम (किसान मोर्चा) १४.जयपुरी घर्ती (महिला मोर्चा) १५. लेखनाथ न्यौपाने (विद्यार्थी मोर्चा) १६.शालिकराम जमरकट्टेल (मजदुर मोर्चा) १७. तिलक परियार (दलित मोर्चा) १८. गुणराज लोहनी (शिक्षक मोर्चा) १९. खिमलाल देवकोटा (कानून) २०.मंगल नेपाली (स्वास्थ्य) २१. (रिक्त)

आयोजक समितिको संयोजकमा बाबुराम भट्टराई र सचिवमा देव गुरुङलाई चयन गरिएको छ ।

२. तत्काल देशमा लोकतन्त्र, शान्ति र अग्रगमनको न्यूनतम कार्यभारलाई पूरा गर्न सामन्ती निरंकुश राजतन्त्र विरुद्ध संघर्षरत शक्तिहरुको वृहद राष्ट्रिय राजनीतिक सम्मेलन, अन्तरिम सरकारको गठन, स्वतन्त्र र निष्पक्ष संविधानसभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्नुपर्ने ठहर वैठकले गरेको छ । त्यसको निम्ति निरंकुश राजतन्त्र विरुद्ध संघर्ष गरिरहेका सवै राजनैतिक पार्टीहरु, नागरिक समाज, पेशागत समूह आदिसंग संवाद, समझदारी, सहकार्य र संयुक्त आन्दोलनको निम्ति पहल गर्ने र वृहद् राष्ट्रिय राजनीतिक सम्मेलनको वातावरण निर्माण गर्दै जाने निर्णय भएको छ ।

३. जनता र अन्तर्राष्ट्रिय समुदायमा भ्रम छर्ने र राजाको फसिष्ट फौजी शासनलाई वैधता प्रदान गर्ने कुत्सित मनसायले घोषणा गरिएको नगरपालिकाको निर्वाचन र चर्चामा ल्याइएको संसदको निर्वाचनलाई पूर्ण रुपले ध्वस्त र असफल पार्नु पर्ने निर्णय वैठकले गरेको छ । त्यसको निम्ति योजनावद्ध संघर्षका कार्यक्रमहरु तय गरिएको छ, जसमा मंसीर मसान्तसम्म आन्तरिक तयारी गर्ने, पौष महिनाभर प्रचारात्मक कार्यक्रमहरु गर्ने र माघदेखि क्रियात्मक संघर्षहरु अघि वढाउने ठेगान भएको छ ।

४. देशभर निर्माण भएका क्रान्तिकारी आधार इलाका र विभिन्न स्तरका जनसत्ताहरुलाई सुदृढ गर्ने र जनसमुदाय संगको सम्वन्धलाई अझैं सुव्यवस्थित र सुमधुर वनाउने लक्ष्यकासाथ वैचारिक–राजनीतिक, सांगठनिक, आर्थिक कार्य र नीतिनियमहरुवारे कतिपय महत्वपूर्ण निर्णयहरु लिइएका छन् । जस अनुसार मुलुकी ऐन प्रकृतिको सार्वजनिक कानून, कृषि तथा वन, उद्योग तथा वाणिज्य, कर प्रणाली, जनसहकारी, जनसुरक्षा र जनमिलिसिया, जनशिक्षा, जनसंस्कृति, जनस्वास्थ्य, समाजकल्याण, महिला तथा परिवार, गैर–सरकारी संस्था, सूचना तथा संचार आदि क्षेत्रको निर्देशिका र नियम–कानूनको मस्यौदा निश्चित अवधिभित्र गर्ने जिम्मेवारी विभिन्न व्यक्तिहरुलाई तोकिएको छ । केन्द्रीय स्तरमा मोडेल आधार इलाकाको एकीकृत विकास योजना तयार गर्न बाबुराम भट्टराईको संयोजकत्वमा एक उप–समिति निर्माण गरिएकोछ । नेपाली विशेषता अनुरुपको संघात्मक प्रणाली र स्वायत्त प्रणाली सम्वन्धी नीति निर्माण तथा स्वायत्त गणतन्त्रहरुको ठोस भौगोलिक सीमाकंनका लागि देव गुरुङको संयोजकत्वमा अर्को उप–समिति गठन गरिएको छ । जनसत्ताहरुले निश्चित करप्रणाली र नीतिनियम अन्तर्गत व्यवस्थित र पारदर्शी ढंगले आर्थिक कार्यभार संचालन गर्ने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने वारे पनि ठोस निर्णयहरु लिइएको छ ।

२०६२ मंसीर १५

बाबुराम भट्टराई
संयोजक,
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति
संयुक्त क्रान्तिकारी जनपरिषद ् , नेपाल