2005-09-30 - press release - CPN-M२०६२-०६-१४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20974 अभिलेखालय सि. नं.: NCA-20974

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

देशको अत्यन्त संकटग्रस्त राजनैतिक अवस्थाप्रति गम्भीर र जिम्मेवार हुँदै संविधानसभामार्फत् लोकतान्त्रिक गणतन्त्रको अग्रगामी राजनैतिक निकासलाई सहज र प्रभावकारी पार्ने उद्देश्यका साथ हाम्रो पार्टीले एकतर्फी युद्धविरामको घोषणा गरेको कुरा सर्वविदितै छ। देशभित्र र देशवाहिरका सम्पूर्ण प्रजातन्त्रप्रेमी, परिवर्तनकामी एवं शान्तिका पक्षधर जनसमुदायका विभिन्न तह र तप्काबाट यसको व्यापक स्वागत र समर्थन भइरहेको पृष्ठभूमिमा निरङ्कुश सामन्ती शाही सत्ता झन् पछि झन् तिल्मिलाउँदै गइरहेको छ। शाही सत्ताले देशव्यापी रुपमा बढाउँदै लगिरहेको हत्या–हिंसा लगायतका आतंक र अपराधिक क्रियाकलापहरुका अटुट श्रृङ्खलाहरुले उसको यही कुरालाई पुष्टि गरिरहेको छ।

पाल्पा जिल्लाको बहादुरपुरमा पार्टीका राजनैतिक तथा संगठनात्मक काममा खटिरहेका हाम्रो पार्टीका छ जना निशस्त्र कार्यकर्ताहरुलाई आफ्नो कव्जामा लिएर निर्मम तथा पासविक हत्या गरी शाही सत्ताले आफ्नो खुनी एवं रक्तपिपासु चरित्र प्रदर्शन गरेको मात्र छैन आम जनसमुदायको परिवर्तन र शान्तिको चाहनामाथि समेत अर्को हमला गरेको छ। शाही सत्ताद्वारा घटाइएको उक्त हत्याकाण्डको हाम्रो पार्टी निन्दा र भत्र्सना गर्दै शाही सत्ताप्रति घोर आक्रोश व्यक्त गर्दछ। शाही सत्तावाट विभत्स हत्या गरिनुभएका सम्पूर्ण कमरेडहरुलाई शहीद घोषणा गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ।

यसै सन्दर्भमा हाम्रो पार्टीका तर्फबाट भएका भनिएका ‘अपहरण’ र ‘जवर्जस्ती चन्दा असुली’को विषयमा कतिपय संघ–संस्था र मानवअधिकारवादीहरुद्वारा व्यक्त चिन्ताप्रति हाम्रो ध्यान आर्कषण भएको छ। हामी के स्पष्ट गर्न चाहन्छौं भने पार्टीको तर्फबाट गरिएको युद्धविरामको मूल भावना, अध्यक्ष क.प्रचण्डको निर्देशन मुताविक सम्पूर्ण पार्टी पंक्ति राजनैतिक र जनसेवामूलक काममा सहभागी भइरहेका छन्। शाही सत्ताको गिद्दे दृष्टिलाई छल्दै आफ्नै संगठनात्मक काममा सहभागी भइरहेका शिक्षक तथा विद्यार्थीहरुलाई अपहरणको संज्ञा दिनु शाही सत्ताको नियोजित प्रचारवाजी भन्दा अर्को केही नभएको स्पष्ट गर्न चाहन्छौं। वास्तविक अपहरण र युद्धबन्दीबारे हाम्रो पार्टीको नीतिप्रतिको व्यावहारिक प्रतिवद्धता कसैका अगाडि छिपेको छैन।

शाही सत्ताको नियोजित र षडयन्त्रमूलक हरकतहरुको स्वतन्त्र, निष्पक्ष एवं स्थलगत अध्ययन गरी तथा पूर्ण निष्कर्षमा पुग्न पनि हामी सम्वन्धित सबैमा अपील गर्दछौं। यसरी नै सामन्ती निरङ्कुशतावादको विरुद्ध चौतर्फी घेराबन्दी गर्दै छिटो भन्दा छिटो संविधानसभा र लोकतान्त्रिक गणतन्त्रको राजनैतिक निकासमा धु्रवीकृत हुने र व्यापक मोर्चावन्दी विकासार्थ सङ्घर्षको आँधी सृष्टि गर्न समेत सम्पूर्ण राजनैतिक शक्ति, नागरिक समाज र जनसमुदायमा हार्दिक अपील गर्दछौं।

२०६२ असोज १४ गते

कृष्णबहादुर महरा
प्रवक्ता
ने.क.पा. (माओवादी)
केन्द्रीय समिति