2005-09-13 - press release - CPN-M२०६२-०५-२८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20975 अभिलेखालय सि. नं.: NCA-20975

प्रेस वक्तव्य

आम नेपाली जनसमुदायको शान्ति र प्रगतिको आकांक्षाप्रतिको गंभीर जिम्मेवारीबोधसहित हाम्रो पार्टीबाट एकतर्फीरुपमा भए पनि युद्धविराम गरेर देशलाई अग्रगामी निकास दिने बाटोमा अग्रसर भएको कुराको सबैतिरबाट स्वागत भइरहेको स्थितिमा निरंकुशतावादी सत्ताधारीहरुले युद्धविराम भंग गराउने उद्देश्यका साथ फासीवादी क्रियाकलापमा बढवा दिइरहेका छन्। देशव्यापीरुपमा चलाइएको त्यसप्रकारको फासीवादी हर्कतलाई हाम्रो जिल्लामा पनि जारी राखेको छ।

त्यसक्रममा यही भदौ २५ गते उरहरी गाजसको मोतीपुरबाट संसदीय दलका कार्यकर्ताहरुसँग देशको अग्रगामी निकासका बारे छलफलमा जुटिरहेको अवस्थामा हाम्रो जिल्ला पार्टी सदस्य रामबहादुर दहित, एरिया सेक्रेटरी मेघराज पाण्डे, एरिया सदस्यहरु कल्ठु चौधरी, विष्णु शर्मा, खुमबहादुर राना, पार्टी सदस्यहरु भीमबहादुर चौधरी र सुन्दर चौधरीलाई सिभिल ड्रेसमा गाउँ पसेको कथित सुरक्षाफौजको डफ्फाले गिरफ्तार गरेको छ। हामीलाई उत्तेजनामा ल्याइ युद्धविराम भंग गराएर देशलाई पुनः युद्धको भूमरीमा धकेल्न गरिएको उक्त गिरफ्तारीको घोर भत्र्सना गर्दै उहाँहरुको जीवनरक्षा र शीघ्र रिहाइको जोडदार माग गर्दछु। त्यसको लागि आ–आफ्नो तर्फबाट पहल गर्नका लागि नागरिक समाज, मानवअधिकारवादी, पत्रकारलगायत सबैमा हार्दिक अनुरोध गर्नुका साथै देशमा शान्ति र नयाँ राजनैतिक निकासको निम्ति उपयुक्त वातावरण सृजना भएको बेला यसलाई सार्थक परिणाम निकाल्ने दिशातिर होइन युद्धविराम भंग गराएर देशलाई भयंकर संकटको अन्तहीन दुश्चक्रमा फसाउने युद्धपिपासु शाही हत्याराहरुको यसप्रकारको हर्कतका विरुद्ध सशक्त एवं जोडदार भण्डाफोर गर्न समेत अन्य राजनीतिक दललगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय शान्तिप्रेमी जनसमुदायमा अनुरोध गर्दछु।

र, अन्तमा एकपछि अर्को पराजय भोग्दै गएका शाही अधिनायकवादीहरुले युद्धविराम गरिएको स्थितिमा जुन फाशिष्ट कदम चालिरहेका छन्, त्यो उनीहरुको हारको परिणाम भएको हुँदा उत्तेजित नबनी संयमितरुपमा पार्टी नीतिप्रति दृढ रहँदै धैर्यताका साथ कामकाज अघि बढाउन पार्टीपंक्तिका सम्पूर्ण कमरेडहरुमा अनुरोध गर्दछु।

मितिः २०६२ भदौ २८

क्रान्तिकारी अभिवादन सहित

सागर
सेक्रेटरी
नेकपा (माओवादी), दाङ