2005-08-30 - press release - INSEC२०६२-०५-१४ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-19650 अभिलेखालय सि. नं.: NCA-19650

प्रेस विज्ञप्ति

०६२ भदौ १४ गते

प्रेस विज्ञप्ति

आज बेपत्ता पारिएका व्यक्तिहरूसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (३० अगस्त) का दिन, बेपत्ता पारिएका नागरिकहरूको अवस्था सार्वजनिक गराउन इन्सेकले स्थापनाकालदेखि नै प्रयास गर्दै आएको स्मरण गराउन चाहन्छौं।

संसारमा सबै भन्दा बढी नागरिक बेपत्ता पारिने देशमध्ये एक भनेर अन्तर्राष्ट्रिय मानवअधिकार संघ संस्थाहरूले आफ्नो सूचीमा नेपाललाई राख्दै आएका छन्। सन् २००४ देखि आज (३० अगस्त)सम्म ३६३ जनालाई राज्यपक्षबाट बेपत्ता पारिएको अभिलेख यस संस्थामा छ। बेपत्ता भनिएका नागरिक छानबिनका लागि सरकारद्वारा गठित समितिले गत वर्षो साउनदेखि छानबिन प्रतिवेदन सार्वजनिक गर्दै आएको छ। उक्त समितिद्वारा प्रकाशित प्रतिवेदनमा रिहा गरिसकिएका भनिएकामध्ये केही नागरिकहरूको अवस्था अझै अज्ञात रहेको उदाहरण प्रस्तुत गर्न चाहन्छौ।

काभ्रेपलाञ्चोक जिल्ला फूलबारी गाविस-८ लकाइनेका ३५ वर्षीय हरिप्रसाद बोलखेलाई ०६० पुस १२ गते बनेपाको चारदोबाटो भन्ने स्थानबाट सादा पोशाकका सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए। ०६१ असोज २६ गते मलेगू समितिले सार्वजनिक गरेको प्रतिवेदनमा हरिप्रसाद बोलखेको नाम थुनामा रहेको उल्लेख छ। राष्ट्रिय दैनिक पत्र-पत्रिकाहरू र इन्सेकद्वारा प्रकाशित मानवअधिकार वर्षपुस्तक २००५ को पृष्ठ ६५ मा पनि समितिको प्रतिवेदन अनुसार बोलखे थुनामा रहेको जनाइएको छ। तर, थुनामा रहेका आफ्ना दाइलाई कहाँ राखिएको हो पत्ता नलागेपछि प्रेमप्रसाद बोलखेले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरे। सर्वोच्च अदालतले गृह मन्त्रालयसँग सार्वजनिक गरेको प्रतिवेदन माग गर्‍यो। गृहमन्त्रलयले सर्वोच्च अदालतलाई बोधार्थ गरी ०६२ असार ८ गते माहान्यायाधीवक्ताको कार्यालयलाई पठाएको पत्रमा भने समितिले पेश गरेको प्रतिवेदनमा हरिप्रसाद बोलखेको नाम पक्राउपछि रिहा भएको सूचिमा समावेश भएको देखिन्छ भन्दै १ सय २६ जनाको सूचिको प्रतिलिपीसमेत संलग्न राखी पठायो। नौ महिना अघि थुनामा राखिएको भनिएका व्यक्ति सोही सूचिमा नौ महिनापछि कसरी रिहाको सूचिमा परे - यो अनुत्तरित प्रश्नले गर्दा छानबिन समितिको प्रतिवेदन शङ्काको घेरामा रहेको छ।

यसैगरी छानबिन समितिले रिहा भइसके भनिएका धादिङका, विदुर रेग्मी, वैकुण्ठ भुजेल, हरिप्रसाद आचार्य, रामप्रसाद आचार्य, नवराज थापा र हरिशरण थापाहरूको अवस्था अज्ञात रहेको उनीहरूका परिवारजनले यस संस्थामा दिएको निवेदनमा उल्लेख गरेका छन्।

बोलखेलगायतका व्यक्तिलाई रिहा गरिएको भए कुन मितिमा, कहाँबाट, कसको रोहबरमा रिहा गरिएको हो त्यसको समेत सार्वजनिक जानकारी गराउन सरकारसँग माग गर्दछौ। त्यसैगरी विभिन्न आरोपमा अपहरण गरेर बेपत्ता पारिएका व्यक्तिहरूको स्थिति सार्वजनिक गर्न नेकपा (माओवादी)लाई आह्वान गर्दछौँ।

सुबोधराज प्याकुरेल
अध्यक्ष