2005-07-18 - press release - CPN-M२०६२-०४-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20920 अभिलेखालय सि. नं.: NCA-20920

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Commiittee

प्रेस वक्तव्य

विगत केही महिनादेखि हाम्रो पार्टीको आन्तरिक जीवनबारे विभिन्न कोणबाट सार्वजनिक चर्चा ह““दै आएको छ। यसप्रकारको चर्चालाई निरंकुश सामन्ती तत्व र तिनका वैदेशिक पृष्ठपोषकहरुले हाम्रा महान् पार्टीमा फुट र विग्रहको सपना देख्दै त्यसलाई ‘साकार’ तुल्याउन अनगिन्ती षड्यन्त्र र दुस्प्रचार गर्दै आएका छन्। त्यसको ठीक विपरीत देश भित्र र बाहिरका प्रजातन्त्रका पक्षधर राजनैतिक शक्तिहरुदेखि आम–जनसमुदायसम्मबाट गंभीर चिन्तनका साथ एकताका लागि अत्यन्त सकारात्मक र महत्वपूर्ण सुझाव, सल्लाह र आलोचना पनि प्राप्त भइरहेका छन्। उक्त पृष्ठभूमिमा पार्टीको वास्तविक स्थिति र पछिल्ला निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१– हाम्रो पार्टीले सामान्यतः २१ औं शताब्दीमा जनवादको विकास सम्बन्धी प्रस्ताव पारित गरेदेखि र विशेषतः जनयुद्धको रणनैतिक प्रत्याक्रमणमा प्रवेशसँगै विश्व ऐतिहासिक महत्वका वैचारिक प्रश्नहरुको अध्ययन, समीक्षा र बहसको नयाँ प्रक्रियाद्वारा समग्र विचारको विकास गर्नुपर्ने अनिवार्यता महसुस गर्दै आएको छ। बीसौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरुको समुचित समीक्षा, आजको साम्राज्यवादका आर्थिक, राजनैतिक, साँस्कृतिक र सामरिक विशेषताहरुको समग्र संश्लेषण तथा विज्ञान र प्रविधिको नयाँ विकास र यसको विश्वव्यापी प्रभावको वस्तुसंगत निष्कर्षसहित मा.ले.मा.को थप विकास गरेर मात्र २१ औं शताब्दीमा क्रान्तिलाई विजयसम्म डोर््याउन सकिन्छ भन्ने कुरामा हाम्रो पार्टी विश्वस्त रहेको छ। अध्ययन र बहसको यो महान् प्रक्रियालाई अगाडि बढाउने क्रममा आफैभित्रका कतिपय सीमा–कमजोरी तथा दुश्मन र अवसरवादीहरुका षड्यन्त्र र दुस्प्रचारका कारण त्यसलाई अराजनैतिक कचिगंल र व्यक्तिगत आरोप—प्रत्यारोपमा बदलिने खतराप्रति पार्टी केन्द्र सजग भएको छ। अतः केन्द्रीय कार्यालयले सिंगो पार्टी पंक्ति र सम्पूर्ण पार्टी सदस्यहरुलाई केन्द्रको स्वीकृतिविना पार्टीको आन्तरिक जीवनबारे सार्वजनिक टिप्पणी गर्न रोक लगाउने निर्णयसहित स्पष्ट निर्देशन जारी गरेको छ।

२— हाम्रो पार्टीले विचारको विकासद्वारा आफ्ना समस्याहरुको समाधान गर्न, एकता–संघर्ष–रुपान्तरण तथा आत्मालोचना र आलोचनाको विधिद्वारा नयाँ आधारमा नयाँ एकता कायम गर्दै आएको छ। यसबीचमा कमरेड बाबुराम भट्टराई लगायत कतिपय जिम्मेवार कमरेडहरुको संगठनात्मक स्थितिको विषय पनि वर्ग र जनताको आवश्यकता र भावनाअनुसार यसै विधिद्वारा समाधान गरिएको छ। विचारलाई नयाँ स्तरमा विकास गर्ने, सिंगो पार्टी पंक्तिलाई नयाँ आधारमा सुदृढ गर्ने तथा तत्कालीन रुपमा निरंकुश राजतन्त्रका विरुद्ध सम्पूर्ण शक्तिलाई एकतावद्ध गरेर अगाडि बढ्ने ऐतिहासिक उद्देश्यप्रति गंभीरता नै हाम्रो समाधानका प्रेरक तत्व हुन्। त्यसअनुसार क. बाबुराम भट्टराईलाई पोलिट ब्यूरोको स्थायी समिति, क. अशोक र क. राहुललाई पोलिट ब्यूरोको जिम्मेवारीमा चयन गरिएको छ। यसका साथै पार्टीलाई माथिदेखि तलसम्म नयाँ आधारमा एकतावद्ध र सुदृढ गर्न विभिन्न स्तरमा विशेष आन्तरिक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय गरिएको छ।

३– आज, देश इतिहासको अत्यन्त गंभीर र संवेदनशील राजनैतिक मोडमा पुगेको छ। २१ औं शताब्दीका महान् नेपाली जनताको प्रजातान्त्रिक चेतना र आकांक्षामाथि मध्ययुगीन निरंकुशताको सामन्ती तरवार चलाउने दुस्साहस भइरहेको छ। देशको यो संगीन घडीमा सामन्ती निरंकुशतालाई इतिहासको कुडाकर्कटमा मिल्काएर पूर्ण प्रजातन्त्रको स्थापनाका लागि सम्पूर्ण जनपक्षीय शक्तिहरु एकताबद्ध भई अगाडि बढ्नुको अर्काे विकल्प रहेकै छैन। यो ऐतिहासिक उद्देश्यका लागि हाम्रो पार्टी आवश्यकताअनुसार कठोरभन्दा कठोर र लचिलोभन्दा लचिलो निर्णय लिन तयार रहेको छ। अहिले हाम्रो पार्टीमा विकास गरिएको नयाँ एकताले निरंकुशतावादी सामन्ती तत्वहरुको कथित फुटको सपनालाई भंग गर्ने तथा सम्पूर्ण जनपक्षीय शक्तिहरुको एकताबद्ध आन्दोलनलाई थप उर्जा र प्रेरणा प्रदान गर्ने कुरामा हामी विश्वस्त छौं। जनतन्त्रको विजय र निरंकुशतन्त्रको पराजय निश्चित छ।

मिति–२०६२ साउन ३ गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति