2005-06-20 - press release - CPN-M२०६२-०३-०६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20972 अभिलेखालय सि. नं.: NCA-20972

जनमुक्ति सेना नेपाल
पूर्वी डिभिजन कार्यालय

प्रेस वक्तव्य

“हाम्रो महान् र गौरवशाली पार्टी ने.क.पा.(माओवादी)का अध्यक्ष क.प्रचण्डले निरंकुश राजतन्त्रका विरुद्ध बहुदलीय लोकतान्त्रिक गणतन्त्रको राजनैतिक नारामा प्रत्यक्ष एकतावद्ध र मोर्चावद्ध बन्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज र वौद्धिक समुदायसँग गर्नुभएको देशब्यापी अपीललाई आत्मसात गर्दै जनमुक्ति सेना नेपाल, पूर्वी डिभिजनको छैठौ व्रिगेड र सेक्यूरिटी वटालियनले खोटाङको सदरमुकाम दिक्तेलमा रहेका सामन्ती सत्ताका सुरक्षा क्याम्प र कार्यालयहरुमाथि भीषण हमला गरेको छ। यही असार ५ गते राति भएको उक्त हमलामा शाही सेनाको गणमाथि आक्रमण गरी रक्षात्मक स्थितिमा राखेर सोही गणदेखि ३ सय मिटर दूरीमा रहेको जिल्ला कारागार, जिल्ला प्रशासन कार्यालय र संयुक्त गस्ती टोलीलाई पूर्णरुपमा कब्जा गरिएको छ।

उक्त कारवाहीको क्रममा भएको दोहोरो भिडन्तमा १ शाही सेना, ३ सशस्त्र प्रहरी र ४ प्रहरी गरी ८ जनाको मृत्यु हुनाका साथै ८ प्रहरी र १ सेनासमेत ९ जनालाई युद्धवन्दीका रुपमा राखिएको छ। त्यसैगरी कारागारबाट आस्थाका वन्दीहरुसमेत ५४ जनालाई रिहा गराउनुका साथै जिल्लामा रहेका पुरानो सत्ताका एकदर्जन कार्यालयहरुमाथि सेवोटेज गरी कारवाहीको लक्ष्यमा पूर्ण सफलता हासिल गरिएको छ। उक्त कारबाहीबाट ३ थान इन्सास, १ थान एसएलआर, ११ थान थ्रीनट थ्री राइफल, १ माउजर सहित १६ थान हतियार, २१ सय गोली, १० ग्रीनेट र महŒवपूर्ण युद्ध सामाग्रीहरु कव्जा भएका छन्। यस कारबाहीमा सेक्सन सहायक कमाण्डर क.सुस्तिकाले उच्च शहादत प्राप्त गर्नु भएको छ।

यसैगरी बेथान स्मृति पाँचौ व्रिगेडद्वारा गत जेठ ३० गते काभ्रेको घर्तीछाप मैनडाडामा भएको भिडन्तमा १० जना शाही सेना मारिएका छन्। सो भिडन्तमा जनमुक्ति सेनाले शाही सेनावाट इन्सास राइफल ४ थान, इन्सास एलएमजी १ थान, कमाण्डो कोटेट इन्सास राइफल १ थान, एसएमजी मेसिनगन १ थान, एसएलआर राइफल १ थान, गोली १६१५ थान, म्याग्जीन २८ थान, ग्रिनेड ६ थान, झोला ७ थानसहितका महत्वपूर्ण युद्ध सामग्रीहरु कब्जा गरेको छ। त्यसैगरी जेठ २७ गते मंगलटार क्षेत्रको नार्केमा शाही सेनामाथि जनयोद्धाहरुले गरेको कारवाहीमा २० शाही सेनाहरुको घटनास्थलमै मृत्यु हुनुको साथै दुईदर्जन घाइते भएका छन्। उक्त मोर्चाबन्दी आक्रमणबाट जनमुक्ति सेनाले इन्सास राइफल ४ थान, इन्सास एलएमजी १ थान, एसएलआर राइफल २ थानसहित महत्वपूर्ण युद्ध सामग्रीहरु कब्जा गरेको छ।

त्यस्तै यही असार ४ गते काभे्रको ताराखसौलीमा भीडन्त हुँदा २ शाही सेनाको मृत्यु भएको छ भने जेठ २३ गते इलामको फुइयाँटप्पामा भीडन्त हुँदा २ शाही सेनाको मृत्यु भएको छ।

यी माथिका सबै कारबाहीहरुमा ५० भन्दा बढी सेना प्रहरीको मृत्यु, ४ दर्जन भन्दा बढी घाइते, ३३ थान हतियार र ८ हजार गोली, टुइन्च सेल, ग्रिनेट लगायतका महŒवपूर्ण युद्ध सामाग्रीहरु कव्जा भएका छन्। यी सबै भीडन्तहरुमा गरी जम्मा ९ जना कमरेडहरुको उच्च शहादत प्राप्त भएको छ र केही कमरेड घाइते हुनु भएको छ। पूर्वी डिभिजन कार्यालय सबै सहिद कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र परिवारजन एवं सहयोद्धाहरुमा हार्दिक समवेदना व्यक्त गर्दछ। साथै घाइते कमरेडहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। उक्त कारबाहीमा सहभागी कमिसार, कमाण्डर कमरेडहरुसहित बहादुर जनयोद्धाहरुमा संग्रामी अभिवादन सहित सफलताको हार्दिक बधाइ प्रकट गर्दछ।

अन्त्यमा पूर्वी डिभिजन अध्यक्ष कमरेड प्रचण्डको सार्वजनिक अपील एवं प्रतिवद्धतालाई सम्पूर्ण रुपले पालना गरेर जाने संकल्प गर्दै नेपाली जनताको सामन्तवाद विरोधी लामो सङ्घर्षको क्रममा गठित एवं देश र जनताको मुक्ति योद्धाको रुपमा गौरवशाली परम्परा कायम गरेको जनमुक्ति सेनालाई आफ्नै सेना मानेर आगामी दिनमा निरङ्कुश राजतन्त्र विरोधी आन्दोलनमा प्रत्येक मोर्चामा हातेमालो गर्न सम्पूर्ण राजनैतिक पार्टी र जनसमुदायसँग थप अपील गदैछौं।”

२०६२ असार ६ गते

अनन्त
कमाण्डर
जनमुक्ति सेना नेपाल
पूर्वी डिभिजन