2005-06-19 - press release - CPN-M२०६२-०३-०५ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20971 अभिलेखालय सि. नं.: NCA-20971

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committe e

प्रेस विज्ञप्ति

निरंकुश राजतन्त्रका विरुद्ध आन्दोलनरत सात राजनैतिक दलहरुद्वारा हिजो जारी गरिएको प्रेस विज्ञप्ति प्रति हाम्रो पार्टीको ध्यान सकारात्मकरुपले आकर्षित भएको छ। सो विज्ञप्तिमा हाम्रो पार्टीसँग– ‘विश्वासको नयाँ वातावरण सिर्जना गर्न’ गरिएको आह्वानप्रति हामी आफ्नो धारणा निम्न अनुसार स्पष्ट गर्न चाहन्छौं।

१. सामान्यतः २०५८ जेष्ठ १९ गतेको कुख्यातः नारायणहिटी हत्याकाण्ड र विशेषतः गत माघ १९ को शाही ‘कू’ पछि हाम्रो पार्टीले मध्ययुगीन सामन्ती राजतन्त्रका विरुद्ध देशका सबै राजनैतिक दल, बौद्धिक समुदाय र नागरिक समाजसँग एकताबद्ध र मोर्चाबद्ध आन्दोलनका लागि आह्वान गर्दै आएको छ। यसबीचमा हाम्रो पार्टीले बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक गणतन्त्रप्रतिको आफ्नो प्रतिबद्धतालाई स्पष्ट गर्दै, सो प्रयोजनका निमित्त अन्तरिम सरकारको गठन र संविधान सभाको निर्वाचन जस्तो सर्वमान्य प्रजातान्त्रिक विधिमा निरन्तर जोड दिंदै आएको तथ्य पनि कसैबाट छिपेको छैन। तर, विगत लामो समयसम्म प्रमुख संसदवादी राजनैतिक दलहरुले प्रत्यक्ष वा परोक्षरुपमा निरंकुश राजतन्त्रसँगै संझौता गर्न जोड गरिरहेको देख्दा हामीलाई आश्चर्य लाग्ने गर्दथ्यो। अहिले ढिलै भए पनि निरंकुश राजतन्त्रको अन्त्य, पूर्ण प्रजातन्त्रको स्थापना र संविधान सभाको निर्वाचनसम्म जान सात राजनैतिक दलहरुले व्यक्त गरेको प्रतिबद्धतालाई हाम्रो पार्टी एक अग्रगामी कदमका रुपमा स्वागत गर्दछ। आन्दोलनका बलमा सिधै अन्तरिम सरकारको गठन, संविधान सभाको निर्वाचन र लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने आफ्नो तात्कालिक नीतिमा स्पष्ट र दृढ रहंदै हाम्रो पार्टी, निरंकुश राजतन्त्रको अन्त्य गर्न सात राजनैतिक दलहरुसँग व्यापक सहकार्यसहित आन्दोलनलाई सशक्त र संयुक्त पार्न तयार रहेको कुरा स्पष्ट गर्न चाहन्छ। व्यापक सहकार्य र आन्दोलनमा तालमेलकै क्रममा राजनैतिक नारामा रहेको अस्पष्टता स्पष्ट हुँदै जाने कुरामा पनि हाम्रो पार्टी आशावादी रहेको छ।

२. निर्दोष र निहत्था राजनैतिक कार्यकर्ता वा सर्वसाधारण कसैमाथि पनि बल प्रयोग गर्ने हाम्रो पार्टीको नीति कहिल्यै पनि रहेको छैन। एउटा ऐतिहासिक विद्रोह र भीषण गृहयुद्धका क्रममा हुनपुग्ने कतिपय भूल र कमजोरीप्रति सार्वजनिक आत्मालोचना गर्दै हाम्रो पार्टीले त्यसप्रकारका कमजोरीहरुको पुनरावृति रोक्न कडा कदम चालिसकेको तथ्य पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौंं। तर, पुरानो सामन्ती सत्ताको कथित सुरक्षा निकायका निमित्त सुराकीको भूमिका खेल्दै जनताका छोराछोरीहरुको हत्यामा संलग्न तत्वहरुमाथि कार्वाही गर्न गृहयुद्धको बाध्यता पनि हो। त्यसप्रकारको स्थितिको अन्त्यका लागि सबै राजनैतिक दल, नागरिक समाज र बौद्धिक समुदायबाट समेत कथित शाही रक्षकहरुका निमित्त काम नगर्न सार्वजनिक अपिल गरिनुपर्दछ भन्ने हाम्रो आग्रह रहिआएको छ। तैपनि निरंकुशताविरोधी आन्दोलनको ऐतिहासिक आवश्यकता र सात राजनैतिक दलको वर्तमान आह्वानलाई मध्यनजर गर्दै पार्टी, यसै विज्ञप्तिमार्फत् जतिसुकै अपराधी भए पनि अर्को निर्णय नहुंदासम्म निशस्त्र व्यक्तिमाथि भौतिक आक्रमण नगर्न सिंगो पार्टी पंक्ति, जनमुक्ति सेना र नयाँ जनसत्ताका सबै अंगहरुलाई विशेष निर्देशन गर्दछ। त्यसप्रकारका अपराधीहरुलाई नियन्त्रणमा लिई नयाँ जनसत्ताको नियम अनुसार मुद्दा चलाउने प्रक्रियामा भने यो निर्देशनले कुनै बाधा पुर््याउने छैन। साथै पार्टी केन्द्र, निरंकुशता विरोधी राजनैतिक दल, नागरिक समाज र बौद्धिक समुदायसँग सकारात्मक अन्तरक्रिया गर्दै स्वतन्त्र एवं संयुक्त आन्दोलनका लागि उपयुक्त वातावरण निर्माण गर्न आवश्यक पहलका लागि पनि सबै तहका पार्टी कमिटीहरुलाई निर्देशित गर्दछ।

३. बहुदलीय प्रतिस्पर्धा, लोकतान्त्रिक गणतन्त्र र संविधान सभाको निर्वाचनप्रतिको हाम्रो प्रतिबद्धतामा मानवअधिकार र कानुनको राज्यप्रतिको हाम्रो धारणा स्वतः अभिव्यझ भएको कुरा पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौं। निरंकुशताविरोधी आन्दोलनलाई सफलतासम्म पुर््याउन देशको आजको ठोस सन्दर्भमा संसदवादी राजनैतिक दलहरुले आन्दोलनको नारालाई राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासम्म माथि उठाउन र हाम्रो पार्टीसँगको सहकार्य र संयुक्त मोर्चालाई खुल्ला रुप दिन हिच्किचाउन हुंदैन भन्ने हाम्रो स्पष्ट मत रहेको छ। त्यो दिशामा सात राजनैतिक दलबाट ठोस पहलको हामीले विशेष अपेक्षा गरेका छौं।

४. निरंकुशतन्त्रलाई सुदृढ गर्ने षडयन्त्र अन्तर्गत ज्ञानेन्द्र शाहीले घोषणा गरेको कथित निर्वाचनको बहिष्कार गर्ने तथा राजनैतिक नियुक्तिको भण्डाफोर गर्ने सात राजनैतिक दलहरुको निर्णयलाई हाम्रो पार्टी जोडदार र सक्रिय समर्थन गर्दछ।

मिति ः २०६२ असार ५

अध्यक्ष
प्रचण्ड
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति