2005-02-06 - press release - CPN-M२०६१-१०-२४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20985 अभिलेखालय सि. नं.: NCA-20985

नेपाल दलित मुक्ति मोर्चा
केन्द्रीय समिति

प्रेस वक्तव्य

हाम्रो देश यतिबेला युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ। मुलुकमा विद्यमान रहँदै आएको त्रिकोणात्मक शक्ति सन्तुलनको स्थिति अब दुई धारमा विभाजित बन्न पुगेको छ। सामन्ती नायक ज्ञानेन्द्रले कथित शाही घोषणामार्फत देशमा निरङ्कुश अधिनायकवाद अब वैदेशिक प्रतिक्रियावादको दलाल तथा राष्ट्रिय आत्मसमर्पणवादी समान्ती ज्ञानेन्द्र शाही र मुक्तिकामी नेपाली जनताबीच आमनेसामने टक्कर भइरहेको छ। दुश्मन र सम्पूर्ण नेपाली जनता बीचमा धु्रवीकरण तीव्र रुपले भइरहेको छ। विगत ९ वर्षदेखि सञ्चालित महान् जनयुद्ध रक्षा सन्तुलनको चरण हुँदै रणनैतिक प्रत्याक्रमणको अन्तिम र निर्णायक चरणमा प्रवेश गरेको र प्रत्याक्रमणको पहिलो योजना विकेन्द्रित कारबाहीको परिणाम पुरानो सामन्ती सत्तामा आएको विघटन र पतनको अभिव्यक्ति कथित शाही घोषणा मार्फत भएको छ।

आज जनयुद्ध नेपाली जनताको मुक्तियुद्ध बनिसकेको छ। अर्कोतिर विश्व साम्राज्यवादको नायक अमेरिकी साम्राज्यवाद र दक्षिण एसियाको दादा भारतीय विस्तारवादको निद हराम भएको छ। यसरी नेपाली जनताको मुक्ति आन्दोलन र जनयुद्धको जीतबाट प्रत्यक्ष वा परोक्षरुपमा पतन र धराशायी बन्दै गएको सामन्तवादलाई विदेशी प्रतिक्रियावादी शक्तिहरुले हतियार, प्राविधिक तालिम दिएर नेपाली मुक्तिकामी जनताको नरसंहार गर्न उत्साहित गरिरहेका छन्। नेपाली जनताको अग्रगामी राजनैतिक निकासको चाहना, शान्ति र प्रगतिको भावना विपरीत असोज १८ र माघ १९को घटनाले ठूलो आघात पुर््याएको छ। अमेरिकी र भारतीय शाषकहरुले औपचारिक चिन्ता मात्र प्रकट गरेर ‘मुखमा राम राम वगलिमा छुरी’ भने जस्तै व्यवहार गर्दै आइरहेका छन्। शाही फासीवादी सत्ताका भरौटे शाही सेनाले आन्दोलनकारी जनसमुदायमाथि निर्मम दमनचक्र चलाइरहेको छ। अर्कोतिर ग्राामीण भू–भागमा कथित मुठभेडको नाममा दिनहुँ दजनौं निहत्था व्यक्तिहरुलाई कव्जामा लिएर नृशंस हत्या गरिरहेको छ। पोखरामा विद्यार्थीहरुले गरेको प्रदर्शनमाथि र नेपालगन्जमा सर्वसाधारणलाई हेलिकोप्टरबाटै गोली चलाउने, एफएम रेडियो, पत्रपत्रिका र सञ्चार सम्पर्क पूर्णरुपले विच्छेद गरिएको छ। यसरी शाही कू मार्फत जनताका सीमित प्रजातान्कि अधिकारहरु समेत अपहरण गरेर कथित सङ्कटकाल लगाई गरिएको चरम राज्यआतंकको नेपाल दलित मुक्ति मोर्चा जोडदार विरोध र भत्र्सना गर्दछ। यसका साथै पुरानो सत्ताद्वारा वेपत्ता पारिएका मोर्चाका केन्द्रीय सदस्य अशोक वि.क. सहित १६ सयभन्दा बढी राजबन्दीहरुलाई सार्वजनिक गरी रिहा गराउन, कथित शाही घोषणा, सङ्कटकाल र राज्यआतंक तुरुन्त बन्द गर्न, अग्रगामी राजनैतिक निकासको निम्ति संयुक्त राष्ट्र सङ्घको मध्यस्थतामा वार्ता गरी लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न, राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व गराइ सामन्ती सत्ताले सदियौंदेखि नै पछाडि पारिएका दलित जनसमुदायलाई सामाजिक जीवनका क्षेत्रमा विशेषाधिकार प्रदान गरी लागू गराउन, छुवाछुत प्रथालाई सामाजिक अपराध घोषणा गरी व्यवहारमा लागू गराउन, उत्पीडित जाति–जनजाति, समुदाय, क्षेत्रीय र भाषिक समुदाय दलित र अन्य सबै वर्गका ज्वलन्त समस्या समापन गराउन जाति–जनजाति एवं उत्पीडित वर्ग गरी समस्त शोषित पीडितहरुको आन्दोलनलाई समायोजन गरी अगाडि बढ्नु अपरिहार्य भएको छ।

अब देशमा निरङ्कुश सामन्ती अधिनायकवादी राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त सम्पूर्ण तह र तप्काका जनसमुदाय, संसदवादीहरु, माओवादी क्रान्तिकारीहरु, जनपक्षीय सङ्गठनहरु, विभिन्न सङ्घ–संस्था, नागरिक समाज आदि एकढिक्का भएर सशक्त जनसङ्घर्षको आँधिबेहरी सृजना गर्नभन्दा अर्को विकल्प छैन। अब पनि सामन्ती अधिनायकवादी निरकुश शाषकहरुसँग भिख मागेर लोकतान्त्रको बहाली होला भन्नु भन्दा ठूलो मूर्खता र धोका अर्को हुन सक्दैन। बरु अहिलेको सर्बोच्च आवश्यकता सामन्ती व्राहमणवादी निरङ्कुश राजतन्त्र र शाही फासीवादका विरुद्ध सारा प्रहार केन्द्रित गर्दै आज देशमा चलिरहेको महान् जनयुद्धको अन्तिम र निर्णायक चरण रणनैतिक प्रत्याक्रमणको योजनासँग संयुक्त जनआन्दोलनलाई समायोजन गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सशक्त जनआन्दोलनको आँधि तुफान चलाउन मोर्चाको तर्फबाट हामी हार्दिक अपील गर्दछौं।

यसैक्रममा विभिन्न राजनैतिक शक्तिहरु, पेशागत सङ्घ संस्थाहरु, जनतान्त्रिक सङ्गठन तथा मुक्ति मोर्चाहरुले आयोजना गर्ने सामन्ती निरङ्कुता विरोधी, राजतन्त्र विरोधी सबै प्रकारका आन्दोलनहरुमा पूर्णरुपमा ऐक्यवद्धता जनाउँदछौं। सामन्ती निरङ्कुतावादको अन्तिम र गणतन्त्रको लागि हाम्रो संगठनको तर्फबाट आगामी फागुन ३ र ४ गते नेपालबन्द सहितका सङ्घर्षका विविध कार्यक्रमहरु तय गरिएको छ। हाम्रो मोर्चाद्वारा घोषित सङ्घर्षका कार्यक्रमहरुलाई हर तरहले सहयोग र समर्थन गरी सफल पारिदिनु हुन् आम नागरिक समाज, राजनैतिक शक्ति, व्यवसायी, विभिन्न सङ्घ संस्था कर्मचारी, शिक्षक, विद्याथी लगायत आम जनसमुदायमा होर्दिक अपील गर्दछौं।

२०६१माघ २४

तिलक परियार
अध्यक्ष
नेपाल दलित मुक्ति मोर्चा