2005-02-04 - press release - CPN-M२०६१-१०-२२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20989 अभिलेखालय सि. नं.: NCA-20989

नेपाल कम्यूनिष्ट पार्टी(माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central committee

प्रेस वक्तव्य

सामन्ती निरंकुश शासनको अन्तिम छट्पटीका रुपमा भाइमारा कृत्रिम राजा ज्ञानेन्द्र शाहीद्वारा देश र जनतालाई अन्धकार र आतंकमा डुबाउने जंगली मूर्खताको प्रर्दशन गरिएको छ। २०४६ सालको ऐतिहासिक जनआन्दोलनका उपलब्धिहरुमाथि टेकेर लोकतान्त्रिक गणतन्त्रका निमित्त संघर्षरत महान् नेपाली जनताका अगाडि अव सामन्ती निरंकुशतन्त्रलाई जरैदेखि उखेलेर मिल्काउने बाहेक अर्को विकल्प रहेकै छैन। निरंकुशतन्त्र र प्रजातन्त्रबीचको यो अन्तिम र निर्णायक लडाइको संगीन मोडमा देशका सम्पूर्ण जनपक्षीय राजनैतिक शक्ति, नागरिक समाज, वौद्धिक समुदाय र सवै तह र तप्काका जनसमुदाय एकजुट भएर अगाडि बढ्नु इतिहासको अपरिहार्य आवश्यकता हो। यसै ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर नै हाम्रँे पार्टीले पूर्ण गंभीरता र जिम्मेवारिताका साथ सामन्ती निरंकुशताका विरुद्ध संयुक्त मोर्चाको आब्हान गरिसकेको छ। व्यापक संयुक्त मोर्चाको आब्हानलाई प्रभावकारी तुल्याउन हाम्रँे पार्टी यसै वक्तव्यमार्फत संसदवादी राजनैतिक दलहरुसँग स्थानीय र केन्द्रीय दुवै स्तरवाट मोर्चा कायम गर्ने र आन्दोलनलाई अग्रगति प्रदान गर्न तयार रहेको घोषणा गर्दछ। आपसी मनमुटावलाई त्यागेर देश र जनताको सर्वत्र हितका निमित्त तल र माथि दुवैतिरवाट मोर्चा कायम गर्दै निरंकुशतन्त्रका विरुद्ध आन्दोलनको आँधि सृष्टि गर्ने काममा जहाँ जसरी संभव हुन्छ, त्यहाँ त्यसरी नै अगाडि आउन हाम्रँे पार्टी सवै जनपक्षीय शक्तिहरुसँग हार्दिक अपील गर्दछ। सो प्रयोजनका निमित्त आफ्ना तर्फवाट आवश्यक त्याग र लचकताका लागि हामी पूर्ण रुपले तयार रहेको कुरा सम्वन्धित सवैमा स्पष्ट गर्न चाहन्छौं।

ज्ञानेन्द्रद्वारा गरिएको प्रतिगामी सत्तापलटका विरुद्व हाम्रो पार्टीले तत्काल प्रतिक्रियास्वरुप आव्हान गरेको माघ २० देखि २२ गतेसम्मको तीन दिने नेपाल बन्द कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने आम जनसमुदायप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। सूचना संचार तथा स्वतन्त्र पत्रकारितामाथि निरंकुशताको तरवार चलाउँदै हिजो पोखरामा शाही सैनिक आतंककारीहरुद्वारा विद्यार्थीहरुमाथि गरिएको नाजी शाही अत्याचारको घोर भत्सर्ना गर्दै हाम्रो पार्टी देशका सम्पूर्ण विद्यार्थी, शिक्षक, प्राध्यापक र अभिभावकहरुसँग सशक्त प्रतिरोधमा उत्रन जोडदार अपील गर्दछ। सशक्त प्रतिरोध नै जनरक्षाको एकमात्र आधार हो भन्ने कुरा सबैले आत्मसाथ गर्नु आजको ऐतिहासिक आवश्यक्ता हो।

यसै सन्दर्भमा हाम्रँे पार्टी आप्नो निरंकुश र प्रतिगामी कदम अविलम्व फिर्ता लिन ज्ञानेन्द्र शाहीलाई चुनौती दिन्छ। यदि आफ्नो निरंकुश कदम फिर्ता लिइँदैन भने हाम्रो पार्टी महान् जनयुद्धको दशौं वर्ष प्रवेशको ऐतिहासिक दिन आगामी फागुन १ गतेदेखि देशव्यापी रुपमा अनिश्चितकालिन नाकाबन्दी र चक्काजाम कार्यक्रममा उत्रनेछ। सो अवधिका निमित्त दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको भण्डार गर्दै आन्दोलनको उक्त कार्यक्रम सफल पार्न चौतर्फी सहयोगका लागि हाम्रँे पार्टी देशका सबै राजनैतिक दल, नागरिक समाज, वौद्धिक समुदाय, पत्रकार मित्र लगायत सबै तह र तप्काका जनसमुदायसँग हार्दिक अपील गर्दछ। एक्काईसौं शताब्दी जनताको शताब्दी हुनेछ र सामन्ती निरंकुशतन्त्र परास्त बन्ने कुरा निश्चित छ।

२२ माघ २०६१

प्रचण्ड
अध्यक्ष
केन्द्रीय समिति
ने.क.पा.(माओवादी)