2004-11-15 - press release - CPN-M२०६१-०७-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20941 अभिलेखालय सि. नं.: NCA-20941

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य

हालै संयुक्त राष्ट्र सङ्घलगायत विभिन्न अन्तर्राष्ट्रिय सङ्घ–संस्थाका प्रतिनिधिहरुद्वारा नेपाली गृहयुद्धको स्थिति एवं शान्तिवार्ताको सम्बन्धमा प्रकट गरिएको चिन्ता र आग्रहप्रति हाम्रो ध्यान आर्कषित भएको छ।

हाम्रो पार्टीले नेपाली जनतालाई वास्तविक अर्थमा सार्वभौम तुल्याउने तथा अग्रगामी राजनैतिक निकासद्वारा गृहयुद्धको समाधान गर्ने उद्देश्यका लागि शान्तिवार्ताको पक्षपोषण गर्दे आएको छ। सो प्रयोजनका लागि दुई पटकसम्म अत्यन्त गम्भीरता र जिम्मेवारीपूर्वक हाम्रो पार्टी पुरानो सत्ताका सरकारहरुसँग वार्तामा बसेको कुरा सर्वविदितै छ। तर २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सीमित प्रजातान्त्रिक उपलब्धिहरुको समेत अपहरण गरेर देशमा वस्तुतः सैनिक शासन थोपर्ने दुस्साहस गर्ने सामन्ती तत्वहरुले वार्तालाई हमेशा आफ्नो प्रतिगामी स्वार्थपूर्ति गर्ने हतियारकारुपमा प्रयोग गर्न खोजेको तथ्यमात्र प्रमाणित हुँदै आएको छ। यही कटु ऐतिहासिक पृष्ठभूमिमा नै हाम्रो पार्टीले संयुक्त राष्ट्र सङ्घ वा कुनै भरपर्दो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाको मध्यस्थता वा सहयोगमा मात्र पुरानो सत्तासँगको वार्ताले सार्थक परिणाम दिन सक्ने निष्कर्ष निकालेको हो। तर त्यो दिशामा सकारात्मक पहल होइन पुरानो सामन्ती सत्ताले निरन्तर सैनिकीकरण, जनहत्या र आतङ्कको प्रक्रियालाई मात्र बढाइरहेको छ।

गृहयुद्धका सन्दर्भमा कमिशन र भष्टाचारबाट आकुत सम्पत्ति थुपार्न पल्केका कथित शाही सेनाका अधिकांश जनरलहरु तथा सामन्ती दरबारीयाहरु अन्तर्राष्ट्रिय जनमतलाई भ्रमित पार्ने कुनियतले बाह्यरुपमा वार्ताको हल्ला गरेर यथार्थमा गृहयुद्ध चर्काउने षड्यन्त्रमा नै तल्लिन रहेको कुरा आम नेपाली जनताले देखिरहेका छन्। नेपाली जनता तथा स्वयम् शाही सेनाका अधिकांश जुनियर अफिसर एवं जवानहरुको समेत शान्तिको आकांक्षा विपरीत भइरहेको यो षड्यन्त्रको स्थितिमा हाम्रा अगाडि देश र जनताका पक्षमा, सामन्ती सैनिक अधिनायकवादको विरुद्ध जमेर प्रतिरोध गर्नुको अर्को विकल्प रहेकै छैन। संयुक्त राष्ट्र सङ्घको मध्यस्थता र संविधानसभाको हाम्रो सर्वमान्य प्रजातान्त्रिक मागको उपेक्षा गरेर देशलाई सैनिकीकरण मार्फत अगाह अन्धकारतिर धकेल्ने षडयन्त्र गर्ने पुरानो सामन्ती सत्तालाई सबै प्रकारको आर्थिक, राजनैतिक, फौजी र कुटनैतिक सहयोग बन्द गरेर गरिव नेपाली जनताको शान्ति र प्रजातान्त्रिक आकांक्षालाई सहयोग पुर््याउन हामी जनपक्षीय अन्तराष्ट्रिय समुदायसँग हार्दिक अपील गर्दछौं।

२०६१ कार्तिक ३० गते

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति