2004-07-06 - press release - CPN-M२०६१-०३-२२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20992 अभिलेखालय सि. नं.: NCA-20992

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
केन्द्रीय समिति

मिति ः २०६१/३/२२

प्रेस वक्तव्य

हालै हाम्रो गौरवशाली संगठन अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिको कार्यालयको बैठक सम्पन्न भएको छ। वर्तमान राजनीतिक परिस्थिति र आफ्नो आन्दोलनको विकास क्रममा बैठकले लिएका महत्वपूर्ण निर्णयहरुलाई सार्वजनिक गर्न यो वक्तव्य जारी गरिएको छ।

१. विगत केन्द्रीय समितिको सचिवलायको बैठकले लिएको निर्णय, संगठन र संघर्षहरुका बारेमा केन्द्रीय कार्यालयको रिपोर्ट अध्यक्षबाट सबै उपकेन्द्रको उपकेन्द्रीय इन्चार्जहरुबाट उपकेन्द्रहरुका तथा कार्यालयका सबै साथीहरुबाट जीवन्त रिपोर्ट प्रस्तुत भयो। रिपोर्टहरुको सार बिगत बैठकले लिएको संगठन र संघर्षसम्बन्धी योजना कार्यान्वयनले महत्वपूर्ण एवं ऐतिहासिक उपलब्धिका साथ महान् सम्भावनाको ढोका खोलेको ठहर गरेको छ।

२. हालै सम्पन्न संघर्षमा सरकारले शैक्षिक समस्या समाधान गर्नका लागि वार्ताको वातावरण तयार गर्ने प्रक्रिया स्वरुप संगठन माथि लगाइएको आतंककारीको आरोप फिर्ता लिने र संगठनका महासचिव हिमाल शर्मालगायतका बेपत्ता पारिएका नेता कार्यकर्ता सार्वजनिक गरी वार्ता प्रक्रिया अगाडि बढाउने सर्तमा संघर्षका कार्यक्रमलाई स्थगित गरिएको सर्वविधितै छ। तर सरकारले हाम्रो बेपत्ता नेता, कार्यकर्ताहरु सार्वजनिक गर्ने प्रक्रियामा ढिलाइ भइरहेको तथा हाम्रो संगठनका धनुषा उपाध्यक्ष राम उद्गार मुखिया, बाँके + सल्यान विशेष जिल्ला समिति सदस्य सारदा वलीको हत्या, काठमाडौं उपत्यकामा संगठनका कार्यकर्ता राजन डंगोल, रमेश तिमलसिनालाई गिरफ्तार गरी बेपत्ता पारिनुका साथै देशका विभिन्न भागमा संगठनका कार्यकर्ताहरु गिरफ्तार र हत्या गर्ने कार्य नरोकिएको, एकपछिय रुपमा सरकारले जथाभावि विवादास्पद अभिव्यक्तिहरु दिइरहेका कारणले वार्ताको आवरणभित्र गम्भीर षड्यन्त्र भइरहेको स्पष्ट देखिन्छ। तसर्थ षड्यन्त्रलाई तत्काल बन्द गरेर शैक्षिक समस्यालाई समाधान गर्न इमान्दारी पूर्वक वार्ता प्रक्रियालाई अगाडि नबढाए त्यसबाट उत्पन्न हुने गम्भीर नतिजा र परिणामप्रति सरकार स्वयं जिम्मेवार हुनुपर्ने जानकारी गराउन चाहन्छौं।

३. संघर्षको क्रममा शैक्षिक समस्या समाधान कार्यदलको गठन गरी विभिन्न मानवअधिकारवादी तथा विभिन्न संघ, संस्था, संगठनहरुका व्यक्तित्वहरुले संघर्षको मर्म एवं विद्यार्थी समुदायप्रति जिम्मेवार हुँदै गरिएका पहललाई हामीले सकारात्मक ठानेका छौं। यसको लागि सम्बद्ध पक्षलाई विशेष धन्यवाद दिन चाहन्छौं। तर पछिल्लो चरणमा कार्यदलको निस्क्रियताले शैक्षिक समस्या समाधान गर्ने विषयप्रति गम्भीर हुनुभन्दा पनि संघर्षको कार्यक्रमलाई नै मुख्य समस्या ठानी यसलाई स्थगन गराउन मात्र आफ्नो भूमिकालाई केन्द्रित गरिएको हो कि भन्ने आशंका जन्मिएको छ। समस्या समाधान गर्न वार्तालगायत सम्पूर्ण विषयमा हाम्रो तयारी पूरा भइसकेको वर्तमान सन्दर्भमा उक्त कार्यदलको विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

४. देश आज एउटा गम्भीर मोडमा उभिएको छ। नेपाली विद्यार्थी आन्दोलनले अत्यन्तै ठूलो मूल्य चुक्ता गरेर प्राप्त उपलब्धिलाई गुम्न नदिन तथा शैक्षिक आन्दोलनलाई नया उचाइमा उठाउन आज मुलुकका सम्पूर्ण शक्तिहरु एकजुट हुनु परेको छ। त्यसैले मुलुकको यस गम्भीर राजनीतिक संकट समाधानका निम्ति एवं प्रतिगमनलाई ठीक पार्न तथा शैक्षिक आन्दोलनलाई निर्णायक उपब्धिमा पूँजीकृत गर्न संयुक्त आन्दोलनमा अगाडि बढ्न सम्पूर्ण विद्यार्थी संगठनलाई आह्वान गरिन्छ।

अध्यक्ष
(लेखनाथ न्यौपाने)
अनेरास्ववियु (क्रान्तिकारी)