2004-04-21 - press release - CPN-M२०६१-०१-०९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18906 अभिलेखालय सि. नं.: NCA-18906

लोकतान्त्रिक गणतन्त्र, नेपाल, को स्थापना गरौं !

२०६१ जेठ ५, ६ र ७ गते देशव्यापी राजनैतिक हडताल सफल पारौं !

आदरणीय जनसमुदायहरु,

सर्वप्रथम हामी ने.क.पा.(माओवादी), जनमुक्ति सेना नेपाल र संयुक्त क्रान्तिकारी जनपरिषद नेपालको तर्फवाट हाल देशमा तीव्र गतिमा अघि वढिरहेको सामन्ती निरंकुशतावादी र दलाल राजतन्त्रको अन्त्य गरेर पूर्ण लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना गर्ने महान आन्दोलनमा लाखौंको संख्यामा लामवद्ध हुनुभएका सम्पूर्ण न्यायप्रेमी जनसमुदाय, राजनैतिक दलका कार्यकर्ताहरु र विभिन्न जनवर्गीय तथा पेशागत संघ-संस्थामा आवद्ध व्यक्तिहरुलाई हार्दिक अभिनन्दन गर्दछौं।

हाम्रो प्यारो देश नेपाल यतिवेला साँच्चै नै एउटा युगान्तकारी परिवर्तनको संघारमा उभिएको छ। २३५ वर्ष पुरानो जर्जर सामन्ती राजतन्त्रात्मक राज्यसत्ता विरुद्ध विगत आठ वर्षदेखि संचालित सशस्त्र जनयुद्ध र केही समय यता संसदवादी दलहरु र विभिन्न जनवर्गीय तथा पेशागत संघ-संस्थाहरुद्धारा संचालित राजतन्त्रविरोधी आन्दोलनको संयुक्त परिणाम स्वरुप नेपाली इतिहासमा पहिलोपटक गणतन्त्रात्मक लोकतन्त्रको स्थापना हुनसक्ने सम्भावना प्रवल वनेको छ। आज काठमाण्डौंका सडकहरुदेखि सुदूर गाउँघरका कुनाकाप्चासम्म घन्केका गणतन्त्रका नाराहरुले देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्याहरुको दीर्घकालीन समाधान र पूर्ण लोकतन्त्रको वहाली निम्ति भरौटे शाही सेनाको वलमा टिकेको सामन्ती तथा दलाल राजतन्त्रको अन्त्य एउटा अपरिहार्य आवश्यकता भैसकेको पुष्टी गरेका छन। यो स्थितिमा अव संसदवादी र वामपन्थी क्रान्तिकारी दुवै थरि शक्तिहरुले लोकतान्त्रिक गणतन्त्रको न्यूनतम साझा कार्यक्रममा सहमति कायम गरेर संयुक्त आन्दोलनको आँधीवेहरी सिर्जना गर्नु ऐतिहासिक आवश्यकता भएको छ।

यो ऐतिहासिक आवश्यकता र देश र जनताको चाहनालाई मध्यनजर गर्दै नेपाली सर्वहारावर्गको अग्रदस्ता ने.क.पा.(माओवादी) ले केही समयदेखि लोकतान्त्रिक गणतन्त्रको न्यूनतम कार्यक्रममा सहमति कायम गरेर सामन्ती तथा दलाल राजतन्त्रको विरुद्धमा संयुक्त आन्दोलन संचालन गर्न सम्पूर्ण संसदवादी तथा अन्य लोकतन्त्रवादी शक्तिहरुसंग सार्वजनिक अपील गर्दै आइरहेको छ। साथै हामीले विगतमा सत्तासीन कम्युनिष्ट पार्टीहरुद्धारा राज्यसत्ता संचालनमा भएका कतिपय कमीकमजोरीहरु, प्रतिक्रियावादीहरुले कम्युनिष्ट क्रान्तिकारीहरु विरुद्ध विश्वव्यापी रुपमा नियोजित ढंगले फिंजाएका भ्रमहरु र परिवर्तित वस्तुगत परिस्थितिलाई समेत ध्यान दिंदै भविष्यमा वहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक राज्यप्रणालीप्रति आफनो सार्वजनिक प्रतिवद्धता व्यक्त गरिसकेका छौं। त्यसैले देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले संसदवादी र क्रान्तिकारी जनवादी शक्तिहरु वीच फाटो पारेर आफनो स्वार्थ पूर्ति गर्न गरिरहेका विविध षडयन्त्रहरुप्रति सजग रहँदै आज सवै खाले लोकतन्त्रकोनिम्ति प्रमुख दुश्मनको रुपमा रहेको निरंकुश राजतन्त्रका विरुद्ध संयुक्त प्रहार केन्दि्रत गर्न हामी सम्पूर्ण लोकतान्त्रिक शक्तिहरु र आम जनसमुदायमा पुन: जोडदार अपील गर्दछौं। यसै क्रममा विभिन्न संसदवादी दलका कार्यकर्ताहरु, विद्यार्थीहरु, वुिद्धजीवीहरु र संचारकर्मीहरुले स्वस्फूर्त रुपमा गणतन्त्रको नारा वुलन्द गरेर संसदवादी तथा क्रान्तिकारी जनवादी शक्तिहरु वीचमा राजतन्त्रविरोधी आन्दोलनमा सहकार्यको निम्ति जुन मार्ग प्रशस्त गरेका छन त्यसको हामी हार्दिक कदर गर्दछौं।

परन्तु केही समयदेखि चुलिंदै गएको राजतन्त्रविरोधी आन्दोलनवाट तिल्मिलाएको शाही सैनिक फासिवादी सत्ताले एकातिर आन्दोलनकारी शक्तिहरुमाथि निर्मम दमनचक्र चलाएर र अर्कोतिर झना-मसिना सुधार र चुनावको हल्ला मच्चाएर आन्दोलनलाई तुहाउने षडयन्त्र गरिरहेको छ। खाशगरी उसले एकातिर ग्रामीण इलाकाहरुमा कथित मुठभेडको नाउँमा दिनहुँ दर्जनौं निहत्था व्यक्तिहरुलाई कव्जामा लिएर नृसंस हत्या गरिरहेको छ वा जनसभामा भेला भएकाहरुमाथि हवाइ आक्रमण गरेर दर्जनौंको ज्यान लिइरहेको छ भने अर्कोतिर शहरी इलाकाहरुमा शान्तिपूर्ण जुलुसप्रदर्शनमा सहभागी भएका राजनैतिक नेता तथा कार्यकर्ताहरु, संचारकर्मीहरु र अन्धा-अपांगहरु समेतलाई निर्मम कुटपीट र धरपकड गरिरहेको छ। यस्तो फासिवादी दमनको हत्कण्डा अतिरिक्त यो निरंकुश राजतन्त्रात्मक सत्ताले निकट भविष्यमा आफनै अधिनायकत्वमुनि कथित सर्वदलीय वा सर्वपक्षीय सरकार र प्रायोजित संसदीय चुनावको हरियो घाँस देखाएर आन्दोलनकारी शक्तिहरु वीचमा फुट पार्ने भयंकर षडयन्त्रको तानावाना पनि वुनिरहेको छ। तर दरवार हत्याकाण्डदेखि असोज १८ हुँदै अहिलेसम्मको ज्ञानेन्द्र-पारस गिरोहका काला कर्तूतहरुलाई राम्ररी देख्दै आएका जोकसैलाई यो लोकतन्त्रविरोधी खतरनाक चलखेल वुझ्न कुनै कठिनाइ हुनुहँदैन। किनकि शाही सेनाको वलमा कथित 'राजकीय सत्ता' को दावी गर्दै वारम्वार आफैले जारी गरेको संविधान मिच्दै सीमित लोकतान्त्रिक अधिकार समेत अपहरण गर्दै आएको राजतन्त्रलाई समूलनष्ट नगरी अव देशमा टालटुले सुधार, निर्वाचन वा संविधान संशोधनले सच्चा लोकतन्त्र स्थापित हुनै सक्दैन। अर्थात कमसेकम भरौटे शाही सेनालाई विघटन गरेर नयाँ राष्टि्रय सेना निर्माण नगरेसम्म र जनताका चुनिएका प्रतिनिधिहरुले नयाँ संविधान निर्माण नगरेसम्म देशमा पुँजिवादी अर्थको समेत लोकतन्त्रको वहाली सम्भवै छेन।

त्यसैले अव देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना निम्ति सम्पूर्ण तह र तप्काका जनसमुदाय, संसदीय र गैर-संसदीय राजनैतिक शक्तिहरु, जातीय तथा क्षेत्रीय मुक्ति संगठनहरु, जनवर्गीय संगठनहरु र पेशागत संघ-संस्थाहरुको संयुक्त तथा सशक्त आन्दोलन वाहेक अर्को विकल्प छँदैछैन। अव पनि निरंकुश राजतन्त्रसंग भीख मागेर लोकतन्त्रको वहाली होला भन्नुभन्दा ठूलो मूर्खता र धोका अर्को केही हुनै सक्दैन। वरु अहिलेको सर्वोच्च आवश्यकता भनेको लोकतान्त्रिक शक्तिहरु वीचका स्वाभाविक वैचारिक र राजनैतिक मतान्तरहरुलाई कायम राख्दै निरंकुश राजतन्त्रका विरुद्धमा साझा प्रहार केन्दि्रत गर्नु र हाल देशमा चलिरहेको जनयुद्ध र जनआन्दोलनलाई संयोजन गरेर गाउँदेखि शहरसम्म, तराईदेखि हिमालसम्म र मेचीदेखि महाकालीसम्म भीषण आन्दोलनको नयाँ तथा उच्च लहर सिर्जना गर्नु हो। यसै क्रममा विभिन्न राजनैतिक शक्तिहरु, पेशागत संघ-संस्थाहरु, जनवर्गीय संगठनहरु आदिले राजतन्त्रको विरोधमा आयोजना गर्ने सवै संघर्षका कार्यक्रमहरुप्रति पूर्ण ऐक्यवद्धता जनाउँदै ने.क.पा.(माओवादी), जनमुक्ति सेना नेपाल र संयुक्त क्रान्तिकारी जनपरिषद को तर्फवाट आगामी २०६१ ज्ोठ ५, ६ र ७ गते देशव्यापी राजनैतिक हडताल गर्ने लगायतका जुझारु संघर्षका कार्यक्रमहरु तय गरिएको छ। तिनलाई हरतरहले साथ दिएर सफल पार्न हामी सम्पूर्ण जनसमुदाय, राजनैतिक शक्तिहरु र संघ-संस्थाहरुसंग हार्दिक अपील गर्दछौं। साथै हामी सम्पूर्ण करदाताहरु, उद्योगपति र व्यापारीहरुलाई यो जनविरोधी राजतन्त्रात्मक सत्तालाई कुनै पनि कर र अन्य महसूल नतिर्न आग्रह गर्दछौं। त्यसरी नै रोजीरोटीको वाध्यताले भरौटे शाही सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीमा भर्ना हुन पुगेका सवै स्वाभिमानी र देशभक्त जवानहरु तथा अफिसरहरुलाई त्यहाँवाट विद्रोह गरेर मुक्तिकामी जनताको पंक्तिमा लामवद्ध हुन विशेष आग्रह गर्दछौं। अन्त्यमा, अत्यधिक जनताको विश्वास गुमाइसकेको यो जनहत्यारा राजतन्त्रात्मक सत्तालाई कुनै पनि प्रकारको सैनिक, आर्थिक र राजनैतिक सहयोग नदिन र लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा आवाज वुलन्द गर्न अन्तर्राष्टि्रय शक्तिहरुलाई हामी अपील गर्दछौं।

तत्कालीन संघर्षको कार्यक्रम

धन्यवाद !

(बाबुराम भट्टराई,)
संयोजक,
संयुक्त क्रान्तिकारी जन-परिषद , नेपाल

(प्रचण्ड)
अध्यक्ष, ने.क.पा.(माओवादी)
तथा सर्वोच्च कमाण्डर, जनमुक्तिसेना नेपाल

२०६१ वैशाख ९