2004-04-08 - press release - CPN-M२०६०-१२-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18905 अभिलेखालय सि. नं.: NCA-18905

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
पश्चिम केन्द्रीय कमाण्ड
सेति महाकाली क्षेत्रीय व्यूरो

प्रेस-वक्तव्य

यति बेला नेपालमा आठ वर्षको जनयुद्धले सशस्त्र जनविद्रोहको ज्वाला ओकल्न थालेको छ। ने.क.पा. (माओवादी) को नेतृत्वमा देशका अनकन्टार ग्रामिण इलाका देखि राजधानिका सडकहरुमा समेत गणतन्त्र नेपाल जिन्दावाद ! को नारा सहित विद्रोहको डढेलो सल्किसकेको छ। पार्टी हेडक्वाटर र पश्चिम केन्द्रीय कमाण्ड कार्यालयको जिवन्त निर्देशनमा सेति महाकाली क्षेत्रको "सशस्त्र जनर्माचिङ्ग अभियान" ले विद्रोहको दिशामा हलचल पैदा गरेको छ। हजारौं हजार जनताहरु जनफर्मेशनको रुपमा एक एरियाबाट अर्को एरिया र एउटा जिल्लाबाट अर्को जिल्लामा अत्यन्त हर्षोल्लास तथा बलिदानी भावका साथ सशस्त्र परिचालित भएका छन। यसैलाई "ज्ञानेको सिता खाएर गिता गाउने" प्रचार माध्यमले "अपहरण" को संज्ञा दिएको छ। यस क्रममा कैलाली, कञ्चनपुरमा किसान आन्दोलनले नयाँ जागरण तथा विद्रोह पैदा गरेको छ। सामन्तका जग्गा कब्जा र किसान आन्दोलन शसक्त हुंदै गएको छ। हाम्रो पार्टीका क्षेत्रीय व्यूरो सदस्य तथा कैलालीका जिल्ला सेक्रेटरी क. प्रवेश (जगत रजगैज्ञा) को शहादतले जनतामा आफ्नो प्यारेा नेताको सपना पुरा गर्ने संकल्प र दुश्मन प्रति घृणा र आक्रोसको ज्वाला दन्किएको छ।

यस क्रममा कैलाली जिल्लामा हजारौं किसानहरुको ४३ ट्रयाक्टर सहितको फर्मेशनले चैत १६ गते सामन्त मार्टिन सिंहको मसुरो बाली सहीत ४० विगाह जमिन कब्जा गरेको छ। यसै गरी चैत २४ गते कञ्चनपुर जिल्लाको संकरपुर गा.ज.स. ढुङ्गामा ५ सय किसानहरुको सय वटा ट्रयाक्टर सहित को र्फमेशनले सामन्त कल्यान सिंहको २१ विगाह को ऊखु बाली सहित सय विगाह जग्गा कब्जा भएको छ। कैलालीमा चैत २२ गते ५ जना र कञ्चनपुरमा चैत २५ गते डि.सि.एम. क. शिखर सहित ३ जना हाम्रो होनाहार योद्धाहरुको शाही अमेरिकी सेनाका जल्लाद तथा उनीहरुकै गुण्डाद्धारा हत्या गरेको छ। सशस्त्र जनर्माचिङ्ग अभियान र किसान आन्दोलनमा सहर्ष जनसहभागितालाई 'अपहरण' गरेको भनि चिच्चाउने प्रतिक्रियावादी राज्यसत्ताका टट्टूहरुले एस.एल.सि परिक्षा दिइरहेको २५ जना विद्यार्थिहरुलाई अछाम मंगलसेनबाट गिरफ्तार गरी बेपत्ता पारेको छ। यस बिचमा कतिपय जिल्लामा आफुलाई एमाले र मसालएकताकेन्द्रका कार्यकर्ता हुँ भन्ने केही मानिसहरुले आन्दोलन भाड्ने र पत्रकार सम्मेलन गरी कुप्रचार गर्ने काम गरिरहेका छन।

हामी सशस्त्र जनर्माचिङ्गकासाथमा किसान आन्दोलनलाई सफल पार्न पूर्ण उत्साहका साथ अघि बढिरहेका कार्यकर्ता र जनसमुदायलाई अझै अघि बढ्न हार्दिक बधाइका साथ निर्देशन गर्दछौ। क. प्रवेश लगायतका शहिदहरु प्रति रेड स्यालुट अर्पण गर्दै उहाँहरुको सपना सकार पार्ने संकल्प गर्दछौ। हत्या, दमन, बलात्कारका विरुद्ध सशस्त्र जनर्माचिङ्गलाई जनविद्रोहको रुपमा उठाउदै अगाडी बढ्न प्रतिबद्ध छौ। गणतन्त्रको पक्षपाती र मसाल एकताकेन्द्रका कार्यकर्तालाई मित्रवत रुपमा अघि बढ्न आहन गर्दै यदी यो आन्दोलन विरुद्ध गुण्डागर्दि र अनर्गल भ्रम छर्ने काम गरियो भने अघि बढ्ने कार्वाहीमा हामी जिम्मेवार नहुने जानकारी गराउछौं सबै संचारकर्मि र पत्रकारहरुलाई हावाको भरमा नभई सबै कुरा सत्य तथ्य प्रचार गर्न आग्रह गर्दछौं।

मिति- २०६० चैत २६ गते

प्रभाकर
इन्चार्ज
सेति महाकाली क्षेत्रीय व्यूरो
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)