2004-03-31 - press release - CPN-M२०६०-१२-१८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18899 अभिलेखालय सि. नं.: NCA-18899

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

हाम्रो गौरवशाली पार्टी, ने.क.पा.(माओवादी) को स्थायी समितिका वरिष्ठ सदस्य एवं पूर्वाञ्चल केन्द्रीय कमाण्डका इन्चार्ज क.मोहन बैधलाई भारतीय प्रहरीले आफ्नो कब्जामा लिएको समाचारले सिंगो पार्टी स्तब्ध भएको छ। क.मोहन बैध आँखाको उपचारको सन्दर्भमा केही समयदेखि भारतको पश्चिम बंगालको सिलिगुढीमा रहँदै आउनु भएको थियो। वहाँको उपचारमा सामान्य सहयोग पुर्‍याउने भारतीय युवक नारायण विक्रम प्रधानलाई समेत प्रहरीले कब्जामा राखेको छ।

अहिले क. मोहन बैधलाई कथित हतियार सम्बन्धि झुट्टो मुद्धामा फंसाएर वास्तविक राजनैतिक मुद्धालाई ओझेलमा पार्ने नियोजित षडयन्त्र शुरु हुँदैछ। क. मोहन बैधको गिरफ्तारी कुनै आकस्मिक र सामान्य घटना नभएर नेपालका नदीनाला एवं अन्य प्राकृतिक संपदाका विरुद्ध भारतीय र नेपाली सामन्ती शासकहरुका बीचमा चलिरहेको साँठगाँठ र सौदाबाजीको परिणाम हो। हाम्रो पार्टी त्यो नियोजित षडयन्त्र र क. मोहन बैधको गिरफ्तारीको घोर भर्त्सना गर्दै एउटा बृद्ध र वरिष्ठ राजनैतिक व्यक्तिव्वप्रति सम्मानजनक राजनैतिक व्यवहारका निमित्त सम्बन्धित पक्षसंग जोडदार आग्रह गर्दछ।

दर्शन र सौन्दर्य-शास्त्रका सैद्धान्तिक ज्ञाता एवं नेपाली जनतालाई सामन्तवाद र साम्राज्यवादबाट मुक्त गर्न करिब ४० वर्षदेखि अनवरतरुपमा संघर्ष गर्दै आउनु भएका क. मोहन बैधप्रति कुनै पनि प्रकारको अपमानजनक व्यवहार नेपाली जनतालाई मात्र होइन भारतीय लगायत विश्वभरिका न्यायप्रेमि जनतालाई समेत सैह्य हुने छैन। हाम्रो पार्टी, क. मोहन बैधको सूरक्षा, सम्मान र मुक्तिकालागि आवाज बुलन्द गरि प्रतिकृयावादी षडयन्त्रका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न नेपाल, भारत लगायत विश्वका सम्पूर्ण मानव अधिकारवादी संघ, संस्था, बौद्धिक व्यक्तित्व, जनपक्षिय राजनैतिक शक्ति एवं आम जनसमुदाय समक्ष हार्दिक अनुरोध गर्दछ।

मिति : - १८ चैत्र २०६०

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)