2004-03-16 - press release - CPN-M२०६०-१२-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18889 अभिलेखालय सि. नं.: NCA-18889

ने.क.पा.(माओवादी) को अपील

ने.क.पा.(माओवादी), नेपालमा पुरानो सामन्ती सत्ताका वर्गिय, जातीय, क्षेत्रीय र लिङ्गिय शोषण-अत्याचारका विरुद्व‍ विद्रोह गर्ने जन-समुदायको सार्वभौम अधिकारलाई उच्च सम्मान गर्दै, जनताको वास्तविक प्रजातन्त्र स्थापनाकालागि अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएको एउटा जिम्मेवार पार्टी हो। शान्तिपूर्ण र कानुनी संघर्षद्वारा राष्टि्रयता, प्रजातन्त्र र जनजीविकासंग सम्बन्धित जनताका आवश्यकता र आकंक्षाका पक्षमा आवाज उठाँउदा पुरानो सामन्ती सत्ताले विगतमा देशका गरिब गाँउबस्तीदेखि राजधानीसम्म कथित रोमियो लगायतका अपरेशनका नाममा अत्यन्त क्रुरढंगले निहत्था जनताको हत्या गर्ने, आगजनी र लूटपाट मच्चाउने, बलत्कार, कूटपीट र आतंक फैलाउने जस्ता अमानवीय अत्याचारको सिलसिला चलायो। त्यो स्थितिमा सामन्ती सत्ताको अत्याचारबाट आफ्नो रक्षा र मुक्तिकालागि विद्रोहमा उत्रनु बाहेक जनताका अगाडि अर्को विकल्प रहेन। स्पष्ट छ कि, जनसमुदायको विद्रोहको अधिकारलाई विश्वको कुनै पनि सच्चा मानव अधिकारवादी र प्रजातन्त्रवादीले अस्वीकार गर्न सक्तैन। जनताको त्यहि ऐतिहासिक विद्रोहको केन्द्रीकृत अभिव्यक्तिकारुपमा नै हाम्रो पार्टीको नेतृत्वमा जनयुद्धको पहल र विकास हुँदै आएको छ।

जनताका निमित्त गणतन्त्रको स्पष्ट वैचारिक, राजनैतिक र फौजी कार्यदिशाकासाथ पार्टीले दृढतापूर्वक नेतृत्व प्रदान गरेकाले नै अत्यन्त तिव्र गतिमा जनयुद्धको विकास हुँदै आयो। आज आठ वर्ष पुरा हुँदा नहुँदै देशको सम्पूर्ण ग्रामीण इलाका र जन-समुदायको अत्याधिक ठूलो हिस्सा जनयुद्धको वरिपरि गोलबन्द भएको तथ्यपनि कसैबाट छिपेको छैन। अहिले केही वैदेशिक शक्ति केन्द्रहरु मुख्यत: संयुक्त राज्य अमेरिकाबाट प्राप्त आर्थिक र सैनिक सहयोगका बलमामात्र पुरानो सामन्ती सत्ताले राजधानी र जिल्ला सदरमुकामहरुलाई फौजी छाउनीमा परिणत गरेर आफ्नो अस्तित्व प्रदर्शन गरिरहेको छ।

हाम्रो पार्टीले जनयुद्धको ऐतिहासिक पहल देखिनै युद्ध सम्बन्धि जेनेभा संझौता लगायत मानव अधिकारका आधारभूत मूल्य-मान्यताप्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै आएको छ। जनयुद्धका आठ वर्षका तथ्याङ्कहरुलाई पूर्वाग्रहरहित ढंगले हेर्ने जो, कसैले पनि सजिलै देख्न सक्दछ कि मुठभेडपछि आफ्नो कब्जाामा आएका दुश्मनका सेना र प्रहरीलाई हाम्रो जनमुक्ति सेनाले उपचार गर्ने, युद्धबन्दिको सम्मानजनक व्यवहार गर्ने र सकूशल मुक्त गर्ने काम गर्दै आएको छ। जनसमुदायका विरुद्व‍ प्रत्यक्ष अपराधमा संलग्न तत्व बाहेक वैचारिक, राजनैतिक, धर्मिक, साँस्कृतिक, आस्था एवं जाती, रंग र दलगत आधारमा कसैमाथि पनि भेदभाव र आक्रमण नगर्ने हाम्रो पार्टीको स्पष्ट नीति र आचरण रहँदै आएको छ। युद्धकाक्रममा हुन जाने कतिपय कमी, कमजोरीलाई हामीले सार्वजनिकरुपमा आत्मालोचनासहित सच्याउने प्रक्रियापनि अगाडि बढाँउदै आएका छौं।

आठ वर्षको गृहयुद्धलाई नजिकबाट हेर्ने जो कसैले यी तथ्यहरुलाई पनि सजिलै देख्ने छ कि पुरानो सामन्ती सत्ताको कथित सैन्यबलले हजारौं निहत्था राजनैतिक कार्यकर्ता र जनतालाई आफ्नो कब्जामा लिएर बेपत्ता पार्दै आएको छ, गाँउबस्तिका हजारौं किसानका घरगोठहरु जलाँउदै आएको छ, मूठभेडका झुट्टा बयान जारी गरेर हजारौं निर्दोष जनताको हत्या गर्दै आएको छ, हजारौं जनतामाथि कूटपिट र यातनाको श्रृंखला चलाउदै आएको छ, गाँउघरका हजारौं महिलाहरुको बलत्कार गरेको छ र सयौंलाई बलत्कारपछि हत्या गर्दै आएको छ। यसप्रकारका मध्ययुगिन अत्याचारको नेतृत्व गर्ने पुरानो सत्ताले अन्तराष्टि्रय समुदायका अगाडि आफू मानवअधिकारप्रति प्रतिबद्ध रहेको कुरा गर्नु यथार्थमा आफ्ना अपराध लुकाउने सामन्ती पाखण्ड र षडयन्त्रको पराकाष्ठमात्र हो। यो सामन्ती पाखण्डको भ्रममा नपर्न सबैसंग अपील गर्नु हामी आफ्नो कर्तव्य ठान्दछौं।

आठ वर्षको बीचमा देशभित्र र बाहिरका मानवअधिकारी संघ, संस्था एवं गृहयुद्धको शान्तिपूर्ण समाधान खोजने देशभित्र र बाहिरका राजनैतिक एवं गैह् राजनैतिक संघ-संस्थाहरुको पहल र चाहनालाई सम्मान गर्दै हाम्रो पार्टीले पुरानो सत्तासंग दुइपटकसम्म युद्धविरामसहित वार्ताको टेबलमा बसेको कुरा सर्वविदितै छ। पछिल्लो वार्तामा सार्वभौम जनतालाई आफ्नो भविष्यको फैशला गर्न दिने सर्वमान्य प्रजातान्त्रिक विधि संविधान-सभाको निर्वाचन गराउने वस्तुवादी माँग हामीले अगाडि सार्‍यौं। तर, जन-आधार र विश्वास पूर्णत: गुमाइसकेको पुरानो सामन्ती सत्ताका नाइकेहरुले जनतालाई फैशलाको अधिकार दिन सहमत हुनुको सट्टा उल्टै वार्ता चलिरहेकै बेला हत्या र आतंक बढाँउदै लगेर दोरम्बा नरसंहारको मच्चन गर्न पुगे। घटनाक्रमले स्पष्ट गर्‍यो कि पुरानो सत्ता न जनतामा विश्वास गर्छ, न गृहयुद्धको शान्तिपूर्ण समाधान नै चाहान्छ। उ वैदेशिक साम्राज्यवादको आर्थिक र सैनिक सहयोगका बलमा नेपाली जनतामाथि सैनिक अधिनायकवादमात्र लाद्न चाहन्छ। त्यो अवस्थामा हाम्रो पार्टी र नेपाली जनताका अगाडि निरंकुश सामन्ती तत्वहरुको सैनिक अधिनायकवादको प्रतिरोध गर्नु भन्दा अर्को विकल्प रहेन।

अहिले पुन: अगाडि बढिरहेको गृहयुद्धकै बीचमापनि हाम्रो पार्टीले विभिन्न मानवअधिकारवादी संघ-संस्था एवं जनपक्षिय राजनैतिक शक्तिहरुको अपील र चाहनालाई सम्मान गर्दै संयुक्त राष्ट्र संघको मध्यस्थतामा वार्ता गर्न तयार रहेको कुरा स्पष्ट गरेको छ। तर, अन्तराष्टि्रय समुदायलाई गुमराहमा राख्न षडयन्त्र गर्ने पुरानो सामन्ती सत्ताले त्यस प्रकारको मध्यस्थता मार्फत समस्याको समाधान गर्न सहमत हुनुको सट्टा तथाकथित निर्वाचनको हल्ला गरेर सैनिक अधिनायकवादलाई निरन्तरतादिने चाल चलिरहेको छ। आज विभिन्न अन्तराष्टि्रय मानव अधिकारवादी संघ-संस्थाहरुको समेत निरन्तर दबाव परेपछि पुरानो सत्ताका नाइकेहरु मानव अधिकारप्रतिको कथित प्रतिबद्धताको कागजको खोस्टो बोकेर जेनेभा जाँदैछन्। नेपाली जनताको बाँच्ने अधिकारका विरुद्ध पुरानो सत्ताद्वारा भइरहेको मध्ययुगिन अत्याचारमाथि पर्दा हाल्ने षडयन्त्र सिवाय त्यो कथित प्रतिबद्धता अरु केही नभएको कुरामा हामी सच्चा मानवअधिकारवादी र प्रजातन्त्रवादीहरुको ध्यानकर्षण गराउन चाहान्छौं।

हामी संयुक्त राष्ट्र संघ लगायत अन्तराष्टि्रय मानव अधिकारवादी संघ-संस्थाहरुसंग नेपालको धरातलीय यथार्थ बुझ्न ठोस पहलका निमित्त अपील गर्दछौं। हाम्रो तर्फबाट त्यसकालागि आवश्यक सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्दछौं। नेपालका गाँउबस्तिमा गरिब नेपाली जनतामाथि भइरहेको अमानवीय अत्याचारको प्रत्यक्ष अनुगमन नगरि पुरानै सत्ताका प्रतिनिधिहरुका औपचारिक भनाइहरुलाईमात्र ध्यान दिइयो भने त्यो नेपाली जनता र स्वयं मानवअधिकारकै घोर अपमान हुने छ। हाम्रो पार्टीले युद्धसम्बन्धि जेनेभा संझौताप्रति मात्र होइन मानवअधिकार सम्बन्धि अन्तराष्टि्रय घोषणाहरुप्रति पनि आफनो प्रतिबद्धता व्यक्त गर्दै आएको छ। र अहिलेको ठोस स्थितिमा अन्तराष्टि्रय मानवअधिकारवादी सम्मेलन मार्फत हाम्रालागि कुनै ठोस प्रस्ताव आएमा त्यसप्रति हाम्रो सकारात्मक प्रत्युत्तर हुने कुरापनि स्पष्ट गर्न चाहान्छौं।

मिति : - १६मार्च२००४

अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)