2003-12-03 - press release - CPN-M२०६०-०८-१७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18858 अभिलेखालय सि. नं.: NCA-18858

जनमुक्ति सेना नेपाल पश्चिम डिभिजन कमाण्ड
सेती-महाकाली क्षेत्रीय व्यूरो

प्रेस वक्तव्य

शाही अमेरिकी सेनाले डोटीको दिपायल, अछामको मंगलसेन, कैलालीको चोसेकाँडा तथा कटुन्जे गरी दुईवटा नाकाबाट चौतर्फी घेरा गरी कैलालीको पन्डोन गा.ज.स.को खिमडीमा केन्द्रीत भई अपरेशन गर्न खोज्दा, लिस्ने-गाम तेस्रो ब्रिगेडको एक टुकडीले भीषण आक्रमण गर्‍यो। २०६०, मंसीर १६ गते ब्रिगेड कमाण्डर क. विविधको नेतृत्वमा भएको उक्त आक्रमणमा शाही अमेरिकी सुरक्षा फौजका १५ जनाको सफाया हुनुको साथै १७ जना घाइते भएका छन्। उक्त कार्वाहीबाट ४ थान एस.एल.आर. सोका ५ हजार राउण्ड गोली तथा २० थान म्याग्जिन, ३-०-३ राइफल ४ थान, सोको गोली ५ सय राउण्ड, म्याग्नम राइफल १ थान सोको गोली ४५ राउण्ड, एल.एम.जी.को म्याग्जिन १० थान, १० वटा जि.पि.एम.जी.को माला, सञ्चार सेट एक थान, २२ थान झोला र लजिस्टिकहरु कब्जा भएका छन्।

जनमुक्ति सेना तर्फ ७ जना वीर योद्धाहरुले शहादत प्राप्त गर्नु भएको छ। त्यस्तै पाँचजना घाइते हुनु भएको छ। आफ्नो पराजयको ढाकछोप गर्न उल्टै ५० जना माओवादीको मृत्यु र हातहतियार कब्जा जस्ता झुठ्ठा बकवासले कदापि वास्तविकता छोप्न सक्दैन। वीरता र सौर्यपूर्ण आक्रमणद्वारा दुश्मनको वृहत अपरेशन योजनालाई असफल पारी दुश्मनलाई क्षतविक्षत पार्न सफल हुनुहुने जनमुक्ति सेनाका कमाण्डर तथा सदस्यहरुलाई हार्दिक बधाई। वीर शहीदहरुप्रति भावपूर्ण श्रद्धान्जली र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिन्छ। जनहत्या, लूट र बलात्कारको अर्को नाम 'युनिफाइड कमाण्ड' का विरुद्ध जनताको विद्रोहको नेतृत्व गर्दै जनमुक्ति सेनाले अध्यक्ष क. प्रचण्डको नेतृत्वमा पुरानो सत्ताको विघठित अन्तिम रुपलाई ध्वंश गरी नयाँ नेपालको लागि अन्तिम आक्रमणको बाटोमा अघि बढिरहन जुनसुकै चुनौतीको पनि सामना गर्न तयार रहने छ।

२०६०/८/१७

क. विविध
कमाण्डर
लिस्ने-गाम तेस्रो ब्रिगेड
तथा सेती-महाकाली क्षेत्रीय व्यूरो

क. प्रभाकर
संयोजक/इन्चार्ज
सैन्य परिचालन समिति
सेती-महाकाली क्षेत्रीय व्यूरो