2003-09-26 - press release - CPN-M२०६०-०६-०९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20959 अभिलेखालय सि. नं.: NCA-20959

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee
प्रेस वक्तव्य

जनसमुदायको भावना एवं विभिन्न राजनैतिक र मानवअधिकारवादी संघ, संस्था तथा नागरिक समाजको अपीलसमेतलाई गंभीरतापूर्वक विचार गरि हाम्रो पार्टीले दशैंका सन्दर्भमा यहि आश्विन १५ गते देखि २३ गतेसम्म अर्थात् सप्तमीदेखि पूर्णिमासम्मको ९ दिनकालागि आफ्ना तर्फबाट सबै प्रकारका आक्रमक कार्यवाहीहरु स्थगित गर्ने निर्णय गरेको छ। हाम्रो पार्टीले एकतर्फीरुपमा गरेको यो स्थगनको अवधिमा पुरानो सत्ताको कथित सुरक्षा निकायद्धारा जनता एवं जनमुक्ति सेनाको कुनै पनि इकाईमाथि हमला गरिएमा त्यसको सशक्त प्रतिकारकालागि सक्रिय रक्षाको अवस्थामा रहन केन्द्रीय कार्यालयद्धारा सिंगो पार्टी पंक्ति, जनमुक्ति सेना र नयां जनसत्ताका सबै अंगहरुलाई निर्देशित गरिएको छ।

आज वैदेशिक शक्ति केन्द्रहरु मुख्यत अमेरिकी साम्राज्यवादको हातमा खेलिरहेको प्रतिगामी पुरानो सामन्ती सत्ताले हाम्रा विरुद्ध युद्धविराम र वार्ता भंग गरेको झुट्टो र नियोजित आरोप खडा गरि त्यसलाई जनता मार्ने लाईसेन्स बनाउन कशरत गरिरहेको छ। तेस्रो चरणको वार्तासम्म आउंदा नयां राजनैतिक निकासको ढोका बन्द गर्ने, आफ्नो भाग्य र भविष्यको फैशला गर्ने सार्वभौम अधिकारबाट जनसमुदायलाई वञ्चित गर्ने तथा युद्धविराम भए देखिनै त्यसको ठाडो उल्लङघन गर्दै हत्या र आतंकको श्रृँखला बढाउंदै लगेर वार्ता चलिरहेकै बेला दोरम्बामा कायरता र पाशविकताले भरिएको नरसंहार मच्चाएर प्रतिरोधका निमित्त हाम्रो पार्टी र जनसमुदायलाई वाध्य पार्ने तत्वहरुले त्यस किसिमको प्रचार गर्नु सुर्यलाई हत्केलाले छोप्न खोज्ने मूर्खता मात्र हो। जनसमुदायबाट पूरै अलग—थलग भएको आफ्नो प्रतिगामी सामन्ती सत्ताको आयु लम्ब्याउने हतियारकारुपमा युद्धविराम र वार्तालाई प्रयोग गर्न खोज्नु भन्दा ठूलो षडयन्त्र अरु केही हुन नसक्ने तथ्य आम नेपाली जनताले राम्रोसंग बुझेको कुरा तीन दिनको नेपाल बन्द र देशव्यापि प्रतिरोधको सफलताले प्रमाणित गरेको छ। अहिले हाम्रो पार्टीको नयां रणनीति अन्तर्गतका प्रारम्भिक प्रतिरोधबाट नै होस गुमाएका कथित शाही सेनाका नाइकेहरुले एकातिर चारैतिर भइरहेको पराजयमाथि पर्दा हाल्न विशुद्ध झुट्टो प्रचारको सहारा लिइरहेका छन् भने अर्कातिर आफ्ना दैनिक कार्यमा संलग्न गांउघरका निर्दोष र निहत्था जनताको हत्या गरेर मूठभेडका झुट्टा बयान जारि गरिरहेका छन्। हालै हाम्रो नयां रणनीतिबाट मर्माहत भएको बरm त्यसको असलि मर्म बुझन् पूर्णतः असफल भएको प्रमाण प्रस्तूत गर्दै नेपालगंजमा कथित शाही सेनाको एउटा नाइकेले गरेको कालो बान्ता, उदयपुरमा घाँसदाउरा गर्न गएका सर्वसाधारण जनताको निर्ममतापूर्वक हत्या गरेर तथा आछाममा सानातिना व्यापार गर्ने स्थानिय जनताको हत्या गरेर “मूठभेडमा धेरै माओवादी मारिएको” प्रचार देखि सर्लाहीमा डांकाहरुको गिरोहलाई माओवादी भनेर प्रचार गर्नुसम्मले उक्त तथ्यलाई स्पष्ट गर्दछन्। अमेरिका लगायतका वैदेशिक प्रतिकृयावादीहरुले दिएका २। ४ वटा नयाँ हतियारका बलमा नेपाल र नेपाली जनताको स्वाभिमानमाथि खेलवाड गर्ने, पुरानो सत्ताका भाडाका सिपाहीहरुका कृयाकलाप यो भन्दा अर्को रहेको छैन। पुरानो सत्ता र उसको कथित सेना आज राष्ट्रघात, जनहत्या, आतंक र बलात्कारको मात्र प्रतिनिधि बन्न पुगेको छ र यहि वास्तविकताले विद्रोह र प्रतिरोधलाई अनिवार्य बनाएको छ।

निश्चियनै देश पुनः गृहयुद्धमा धकेलिएकोमा हामी अत्यन्त संवेदनशिल छौं। हामी देशमा वास्तविक युद्धविराम, शान्ति र प्रगति चाहान्छौं। देशको स्वतन्त्रता र प्रगतिका निमित्त सम्पूर्णरुपले समर्पित जनताका छोराछोरी हुनुको नाताले वैदेशिक प्रतिकृयावादीहरुको आड र निर्देशनमा नेपाल र नेपाली जनताको अस्मितामाथि भइरहेका खेलवाडको विरुद्ध अन्तसम्म लड्ने हाम्रो ऐतिहासिक कत्र्तव्यवोध पनि त्यहि संवेदनशिलताको उच्चतम अभिव्यक्ति हो। २१ औं शताब्दिका महान नेपाली जनतालाई आफ्नो भविष्यको फैशला आफैं गर्ने सार्वभौम अधिकार प्राप्त नहुंदासम्म विद्रोहको नेतृत्व गर्न हामी प्रतिबद्ध छौं। विगत युद्धविराम र वार्ता प्रक्रियाद्धारा शान्तिपूर्ण ढंगले निकास खोज्ने हाम्रो र जनताको उत्साह, जिम्मेवारीवोध र लचकताका विरुद्ध पुरानो सत्ताले ठूलो विश्वासघात गरेकोे छ। त्यसबाट हामीले मात्र युद्धविराम गरेर तथा त्यसको पालन गरेर समस्याको समाधान हुन नसक्ने यर्थाथ प्रमाणित भइसकेको छ। पुरानो सत्ता र कथित शाही सेनाका अपराधिक कृयाकलापका कारणनै हामीले चाहेरपनि विभिन्न जातजाती, भाषा, भाषि र साँस्कृतिक विराशतसहितका नेपाली जनताका परम्परागत चाड पर्वहरुमा एक पक्षीयरुपमा युद्धविराम गरिरहनु अन्ततः उनिहरुलाई नै अनावश्यक अवसर दिनुमात्र हुन पुग्दछ। त्यसकारण विदेशी प्रतिकृयावादको बुई चढेर नेपाली जनतामाथि अत्याचार गर्ने पुरानो सत्तामाथिनै दबाव केन्द्रीत गर्न हामी देशका सम्पूर्ण जनपक्षीय राजनैतिक शक्ति मानवअधिकारवादी संघ संस्था, नागरिक समाज लगायत आम जनसमुदायसंग हार्दिक अनुरोध गर्दछौं। जनताको सार्वभौम अधिकारलाई वास्तविक अर्थमा सम्मान गर्न पुरानो सत्ता तयार हुने बित्तिकै हामी स्थायी युद्धविराम गर्न समेत तयार छौं। अन्यथा पुरानो सत्तालाई बढारेर नफालेसम्म लडिरहन प्रतिबद्ध रहेको कुरा पुनः स्पष्ट गर्न चाहान्छौं।

मिति ः— ९ आश्विन २०६०

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)