2003-09-20 - press release - CPN-M२०६०-०६-०३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20958 अभिलेखालय सि. नं.: NCA-20958

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

राजनैतिक र फौजी दुबै दृष्टिले अग्रगामी र शान्तिपूर्ण निकासको ढोका बन्द गरेर युद्धविराम र वार्ताको औचित्य समाप्त पारि सामन्ती प्रतिगमन र “शाही सैनिक” आतंकलाई नै निरन्तरता दिन मूर्खता गर्ने पुरानो सत्ताका विरुद्ध आयोजित तीन दिनको नेपाल बन्द कार्यक्रम पूर्णरुपले सफल भएको छ। राजधानी देखि देशभरिनै “शाही सैनिक” आतंकको प्रतिरोध र पुरानो सत्ताका झुट्टा र नियोजित प्रचारबाजीको अवज्ञा गर्दै जनसमुदायले यो बन्दलाई सफल तूल्याएका छन्। पुरानो सामन्ती सत्ता र उसका भरौटेहरुको कूतर्क विपरित बन्दको यो सफलता आतंकका विरुद्ध प्रतिरोधको परिणाम हो। अहिले तीन दिन लामो नेपाल बन्दलाई पूर्णरुपले सफल पारेर जनसमुदायद्धारा, वस्तूतः अग्रगामी निकासका निमित्त हामीले अघि सारेको गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान—सभाको निर्वाचनको न्यूनतम कार्यसूचीलाई एक पटक पुनः व्यापकरुपमा अनुमोदित गरिएको छ। यस सन्दर्भमा हामी शाही सैनिक आतंकको वीरतापूर्ण प्रतिरोधका क्रममा शाहदत प्राप्त गर्नै अमर शहीदहरुप्रति भावपूर्ण श्र्रद्धाञ्जली अर्पण गर्दै बन्द सफल पार्न सहयोग पुर््याउने तमाम क्रान्तिकारी एवं आम जनसमुदायमा न्यानो अभिवादन सहित हार्दिक आभार प्रकट गर्दछौं।

घटनाक्रमहरुले स्पष्ट गरिरहेका छन् कि वैदेशिक साम्राज्यवाद, मुख्यतः अमेरिकी साम्राज्यवादको बुई चढेर देशको राष्ट्रिय स्वतन्त्रता एवं जनताको हित र परिवर्तनको आकंक्षाका विरुद्ध गई रहेको पुरानो सामन्ती सत्ता जनसमुदायबाट पुरै अलग—थलग भइसकेको छ। साम्राज्यवादको रोटीको टुक्रा र इसारामा चल्ने भाडाका सिपाहीमा पतन भएको कथित शाही सेनाको काम आज देश र जनताको हितमा समर्पित योद्धाहरुको कायरतापूर्वक हत्या गर्नु भएको छ। इतिहासको यो संवेदनशिल घडिमा देश र जनताको रक्षा, मुक्ति, शान्ति र प्रगतिकालागि शाही सैनिक आतंकलाई परास्त गर्न अनिवार्य छ र त्यसकालागि जनयुद्धको अर्को विकल्प छैन। आफ्नो भाग्य र भविष्यको फैशला गर्ने जनसमुदायको सार्वभौम अधिकार स्थापित नहुँदासम्म जनयुद्ध निरन्तर अगाडि बढ्ने छ।

महान जनयुद्ध, सामन्तवाद र साम्रँज्यवादका विरुद्ध नेपाली जनताले आत्मनिर्णयको अधिकार प्रयोग गर्दै सञ्चालन गरेको ऐतिहासिक विद्रोह हो। इतिहासका तमाम महान विद्रोह र क्रान्ति जस्तै यो पनि कतिपय भूल, कमी र दुर्घटना समेतका बीचबाट अगाडि बढिरहेको छ। विकास र विजयको साथ साथै क्रान्तिकारी शक्ति अझ परिपक्व बन्दै जाने कुरा सूनिश्चित छ। यो ऐतिहासिक विद्रोहमा अझ दृढतापूर्वक लामबद्ध भई नयाँ नेपालको निर्माणमा एकजूट हुन हामी सम्पूर्ण वामपंथी, प्रगतिशिल, देशभक्त र जनवादी शक्ति एवं आम जनसमुदायसंग हार्दिक अपील गर्दछौं।

मिति ः— ३ असोज २०६०

बाबुराम भट्टराई
संयोजक
संयुक्त क्रान्तिकारी जन परिषद ,नेपाल

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)
तथा
सर्वोच्च कमाण्डर
जन—मुक्ति सेना, नेपाल