2003-09-03 - press release - CPN-M२०६०-०५-१७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20956 अभिलेखालय सि. नं.: NCA-20956

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

युद्धविराम भएदेखि नै त्यसको एकतर्फी उल्लङ्घन गर्दै आएको शाही सेना र राजनैतिक निकासको ढोका बन्द गरेर सामन्ती प्रतिगमनलाई सुदृढ गर्न खोज्ने सामन्ती दरवारका नोकरहरुले हाम्रो पार्टीलाई एकतर्फीरुपमा वार्ता भङ्ग गरेको भन्ने प्रचार गर्नु, नेपाली जनताको चेतना र स्मरण शक्तिको अपमान गर्ने ‘चोरको ठूलो स्वर’ सिवाय अरु केही नभएको कुरा हामी पुनः स्पष्ट गर्न चाहन्छौं। युद्धविराम, आचारसंहिता र वार्ताको औचित्यलाई व्यवहारतः समाप्त पार्ने प्रतिगामी सामन्ती तत्वहरु अहिले विशुद्ध झूटको खेती गर्दै नेपाल र नेपाली जनतालाई पश्चिमा साम्राज्यवादको आड र इशारामा निरङ्कुशताको जाँतोमा पिस्ने मूर्खतापूर्ण दुस्साहस गरिरहेका छन्। वास्तविक राष्ट्रिय एकता, प्रजातन्त्र, शान्ति र प्रगतिका निमित्त सामन्ती शाही सैनिक आतङ्कवादको प्रतिरोध गरिरहेका नेपाली जनताका श्रेष्ठतम् छोराछोरीहरुलाई ‘उल्टे चोर कोतवालको डाँटे’ भने झैं ‘आतङ्कवाद’को विल्ला भिराएर, संसदवादी राजनैतिक दलहरुको कानुनी सङ्घर्षमाथि समेत निषेधाज्ञा लगाउने सामन्ती प्रतिगामीहरुको षड्यन्त्रले उक्त कुरालाई स्पष्ट गर्दछ। सामान्यतः २०० वर्ष पहिलेदेखि र विशेषतः ५४ वर्षदेखि नेपाली जनतालाई धोका दिंदै आएको तथा राष्ट्रघात, भ्रष्टाचार, तस्करी, हत्या, आतङ्क, विकृति र विसङ्गतिको केन्द्र बनेको सामन्ती दरवारबाट अझै पनि जनहितको याचना र अपेक्षा गर्नु स्वतः अर्थहीन छ।

आज चौतिरबाट नेपाली जनताको प्रतिरोधको घेरामा परेको सामन्ती दरवार साम, दाम, दण्ड, भेदद्वारा आफ्नो आयु लम्ब्याउने व्यर्थ र अन्तिम प्रयास गरिरहेको छ। वार्ताको औचित्य समाप्त भएपछि जनमुक्ति सेनाले पार्टीको नयाँ रणनीतिअनुसार गरेका प्रारम्भिक प्रतिरोधबाट छटपटिएको शाही सेना नामको सामन्ती हत्यारो दल अहिले सफेद झूटको प्रचार गरेर जनतालाई भ्रमित र आतङ्कित पार्ने तथा तल्लास्तरका आफ्ना कथित जवानहरुको मनोबल कायम राख्ने धृष्टता गरिरहेको छ। राजधानीबाहिर भिडन्तका क्रममा मारिएका आफ्नै जवानहरु र उनीहरुबाट जनमुक्ति सेनाले हालै अमेरिकाबाट ल्याइएका एम–सिक्स्टिन ९ः(ज्ञट० लगायतका दर्जनौं हतियार कब्जा गरेका विवरणहरु लुकाउने तथा कयौं पटक नमारिएका माओवादी योद्धाहरुलाई मारिएको भन्ने झुट्टो प्रचार गर्नुले सामन्ती तत्वहरुको मनोदशा र आत्मरतीलाई मात्र प्रदर्शन गर्दछ। कयौं स्थानमा निर्दोष र निहत्था जनतालाई निर्ममतापूर्वक हत्या गरेर माओवादीलाई दोष लगाउनु वा मुठभेडमा माओवादी मारिएको प्रचार गर्ने विगत सङ्कटकालको शैलीलाई अहिले पनि शाही सैनिक आतङ्कवादीहरुले अप्नाइरहेका छन्।

देशलाई अभाव र गरीबीको भुँमरीमा पुर््याएर यसको अस्तित्वमाथि नै प्रश्न खडा गराउने सामन्ती दरवार आज ९० प्रतिशत जनताको भावना, आवश्यकता र आकाङ्क्षाका विरुद्ध पश्चिमा साम्राज्यवाद मुख्यतः अमेरिकी साम्राज्यवादको आड, स्वार्थ र निर्देशनमा चल्ने शाही सेना नामको मुट्ठीभर डफ्फाको बलमा टिकेको छ। देशको भाग्य र भविष्यको फैसला गर्ने सम्पूर्ण अधिकार जनसमुदायलाई दिऊँ भन्ने हाम्रो न्यायपूर्ण आग्रहलाई ठाडै अस्वीकार गर्ने पञ्चायतकालीन निरङ्कुशताका पुजारीहरुले राष्ट्रवाद, बहुदलीय प्रजातन्त्र र शान्तिको कुरा गर्नुले पाखण्डको पराकाष्ठालाई मात्र प्रमाणित गर्दछ। वस्तुतः देश आज एकातिर साम्राज्यवादको पृष्ठपोषक निरङ्कुश सामन्ती राजतन्त्र र अर्कातिर पूर्ण प्रजातान्त्रिक क्रान्तिको शक्तिका बीचमा निर्णायक सङ्घर्षको मोर्चामा रहेको छ। यो ऐतिहासिक सत्यलाई नेपालस्थित अमेरिकी राजदूतले माओवादीलाई एक्ल्याएर अलग–थलग पार्न गरेको खुल्ला अपील र पुरानो सामन्ती सत्ताद्वारा त्यसको अक्षरशः पालन गर्ने प्रतिबद्धताले राम्रोसँग स्पष्ट गरेको छ। साम्राज्यवादी हस्तक्षेप र सामन्ती राष्ट्रघातको योभन्दा ना¨ो साँठगाँठ अरु के हुन सक्छ र ? देशको यो संवेदनशील घडीमा पुरानो सामन्ती सत्ताका झुट्टा र पाखण्डी प्रचार तथा उसले गर्ने षड्यन्त्र र फैलाउने आतङ्कबाट भ्रमित र विचलित नभई देशको स्वतन्त्रता र प्रजातन्त्रको पूर्णताका निमित्त आ–आफ्नो ठाउूबाट मोर्चा कस्नु प्रत्येक देशभक्त र स्वतन्त्रताप्रेमी नेपालीको ऐतिहासिक कर्तव्य हुन आएको छ। आम नेपाली जनता एकढिक्का भएर अगाडि बढ्ने वित्तिकै सामन्ती सत्ता बढारिनेछ र नयाू गणतान्त्रिक नेपालको जन्म हुनेछ। निश्चिय नै नयाँ गणतान्त्रिक नेपालको जन्म त्याग, तपस्या र बलिदानको प्रशव पीडाका बीचबाट नै हुनेछ।

अतः हाम्रो पार्टी आर्थिक, राजनैतिक, साँस्कृतिक, बौद्धिक लगायत सामाजिक जीवनका सबै क्षेत्रबाट सडेको पुरानो सामन्ती सत्तालाई अवज्ञा गर्दै त्यसका विरुद्धको विद्रोहलाई सफल पार्न सहयोगका निमित्त देशका सम्पूर्ण देशभक्त एवम् जनपक्षीय शक्ति तथा आम जनसमुदायसँग हार्दिक अपील गर्दछ। यसैगरी नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई सम्मान गर्ने तथा नेपालमा वास्तविक शान्ति र प्रगतिको कामना गर्ने अन्तर्राष्ट्रिय संघ–संस्था एवम् जनसमुदायसँग नेपालमा बढ्दै गएको वैदेशिक हस्तक्षेप तथा पुरानो सामन्ती सत्ताको निरङ्कुशताका विरुद्ध आवाज उठाउन समेत हामी विशेष अनुरोध गर्दछौं।

१७ भाद्र, ०६०

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा.(माओवादी)
केन्द्रीय समिति