2003-08-27 - press release - CPN-M२०६०-०५-१० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18798 अभिलेखालय सि. नं.: NCA-18798

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस-वक्तव्य

गृहयुद्धमा सन्तुलनको विशेष स्थिति एवम् शान्तिपूर्ण राजनैतिक निकासप्रतिको जनआकाङ्क्षामाथि गम्भीरता र जिम्मेवारीपूर्वक विचार गरेर हाम्रो पार्टी, पुरानो सत्तासूग युद्धविरामसहित वार्तामा सङ्लग्न भएको तथ्य सर्वविदितै छ। वार्ताद्वारा अग्रगामी परिवर्तन खोज्ने जुन गम्भीरता र उत्साहका साथ हाम्रो पार्टीले युद्धविरामको घोषणा गरेको थियो, स्वाभाविक रुपले पुरानो सत्तापक्षबाट पनि हामीले त्यही गम्भीरताको अपेक्षा गरेका थियौं। हाम्रो पार्टीको नेतृत्वमा रहेको जनमुक्ति सेनाले जिम्मेवारीपूर्वक युद्धविराम र आचारसंहिताको मर्म र भावनालाई अक्षरश: पालन गरिरहेको प्रारम्भिक कालदेखि नै पुरानो सत्तापक्षको शाही सेनाले त्यसको उल्लङ्घन गरिरह्यो। युद्धविरामको घोषणापछि पनि शाही सेनाले अनावश्यक चेकिङ्ग र धरपकडलाई मात्र बढाएन अपितु कञ्चनपुरमा शान्तिपूर्वक बसेको हाम्रो जनसेनाको टुकडीलाई घेरा हालेर हतियारसहित कब्जा गर्ने देखि दार्चुला, मकवानपुर, भोजपुर लगायत देशका विभिन्न भागमा हाम्रा कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या गर्ने काम जारी राख्यो। युद्धविरामको घोषणा भएको प्रारम्भिक अवधिमै देखापरेका शाही सेनाका त्यसप्रकारका हरकतहरुले हाम्रो पार्टी एवम् आम जनताको शान्तिपूर्ण राजनैतिक निकासप्रतिको आशा र उत्साहमा गम्भीर ठेस पुर्‍याउने काम गरे।

त्यति हुूदाहुूदै पनि देश र जनताप्रतिको गम्भीर जिम्मेवारीबोधसहित धैर्यतापूर्वक पार्टीले औपचारिक वार्ताको वातावरण विग्रन नदिन प्रयत्न गरिरह्यो। अन्तत: पहिलो चरणको औपचारिक वार्ता प्रारम्भ भयो र पहिलो बैठकमा नै हाम्रो पार्टीले आफ्नो न्यूनतम् राजनैतिक कार्यसूचि प्रस्तुत गर्‍यो। शाही सेनाका अवाञ्छित हरकतहरुका कारण कमजोर परिरहेको युद्धविराम र आचारसंहिताको कार्यान्वयन पक्षलाई सुदृढ गर्दै वार्तालाई सुचारु रुपले अगाडि बढाउन दोस्रो चरणको वार्तामा शाही सेनालाई ब्यारेकको पाूच किलोमिटरभित्र सीमित राख्ने सहमति कायम गरियो। दोस्रो चरणको वार्तामा भएको यो सहमतिलाई शाही सेनाले ठाडै अस्वीकार मात्र गरेन वस्तुत: उसकै दबावमा सरकार समेत परिवर्तन हुन पुग्यो। यो परिघटनापछि वार्ता प्रक्रिया स्वयम् लावारिश बन्न पुग्यो र शान्तिपूर्ण एवम् अग्रगामी राजनैतिक निकासको सम्भावनामा गम्भीर विश्वासको सङ्कट पैदा भयो। लामो अन्तरालमा पुरानो सत्तापक्षको नयाू वार्ताटोलीले पत्राचारको श्रृङ्खलापश्चात् राजनैतिक विषयवस्तुमा छलफल गर्ने लगायत शाही सेनालाई अनुशासित राख्ने सैद्धान्तिक प्रतिबद्धता जनाएर हाम्रो पार्टीको केन्द्रीय समितिका सदस्यहरुलाई रिहाइ गरेको सन्दर्भमा पुन: नयाू आशाका साथ पार्टीले आफ्नो वार्ताटोलीलाई तेस्रो चरणको वार्तामा सहभागी बन्न निर्देशित गर्‍यो।

तेस्रो चरणको वार्तामा सत्तापक्षले जुन अवधारणा पत्र प्रस्तुत गर्‍यो, त्यसले देशका अगाडि विद्यमान मूलभूत समस्यालाई सम्बोधन नगरेको मात्र होइन अपितु सुधारका गुलिया गोलीले लपेटेर असोज १८ पछिको सामन्ती प्रतिगमनलाई नै सुदृढ गर्ने षड्यन्त्र गरेको तथ्यलाई मात्र स्पष्ट गर्‍यो। संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रकै कुरा गर्ने प्रमुख संसदवादी दलहरुको मागलाई समेत सम्बोधन गर्न असफल त्यो 'अवधारणा पत्र'ले हामीलाई हतियार बुझाएर राजनैतिक आत्मसमर्पण गर्नेसम्मको माग गरेर वस्तुत: वार्ताको औचित्य नै समाप्त गर्‍यो। हाम्रो वार्ताटोलीले गम्भीरतापूर्वक त्यसलाई सम्पूर्णरुपले अस्वीकार गरेर संविधान सभामा जाने अर्को नयाू प्रस्ताव पुरानो सत्तापक्षले ल्याएमा मात्र चौथो चरणको वार्ता हुन सक्ने अन्यथा वार्ताको कुनै अर्थ नहुने कुरा स्पष्ट शब्दमा राख्यो। जतिबेला तेस्रो चरणको वार्तामा सो बहश भइरहेको थियो ठीक त्यति नै बेला रामेछापको दोरम्वामा एरिया कमिटीको बैठक गरिरहेका हाम्रो पार्टीका १७ जना निहत्था कार्यकर्ता र २ जना सामान्य जनतालाई शाही सेनाले आफ्नो कब्जामा लिएर हात पछाडि बाूधेर लाइन लगाई कत्लेआम गर्‍यो। यसरी वस्तुत: तेस्रो चरणको वार्तामा प्रस्तुत पुरानो सत्तापक्षको 'अवधारणा-पत्र' ले राजनैतिक र दोरम्वामा शाही सेनाले गरेको १९ जनाको नरसंहारले फौजीरुपमा वार्ता भङ्ग भएको घोषणा गरे। अहिले आफू वार्ताप्रति प्रतिबद्ध रहेको अमूर्त राग अलापेर गोहीको आूशु बगाउनु देश र दुनियाूलाई भ्रमित पार्ने पुरानो सत्तापक्षको घोर अनैतिकता र पाखण्डको परिचायक मात्र हो।

यो सबैलाई थाहा भएकै कुरा हो कि हाम्रो पार्टी जनगणतन्त्रका निमित्त लडिरहेको क्रान्तिकारी पार्टी हो। देशमा पुरानो सत्तापक्षमार्फत् बढ्दै गएको वैदेशिक चलखेल र हस्तक्षेपका कारण नेपालको राष्टि्रय स्वतन्त्रतामा नै बढिरहेको खतरालाई रोक्न तथा जनसमुदायको शान्तिको आकाङ्क्षा पूरा गर्न हामी जनगणतन्त्रको नारालाई तत्कालका लागि वार्ताको टेबलबाट स्थगित गरेर संविधान सभाको निर्वाचनमार्र्फत् समस्या समाधान गर्ने सर्वमान्य विधिमा आयौं। संविधान सभाको नारा कुनै कम्युनिस्ट क्रान्तिकारीको नारा होइन। जनतालाई सार्वभौम अधिकार सम्पन्न मान्ने कसैले पनि संविधान सभामा जान हिच्किचाउनु पर्ने कुनै कारण हामी देख्दैनौं। संविधानमा अपरिवर्तनीय आधार राख्नु र संविधान सभाको विरोध गर्नुले पुरानो सत्तापक्षको जनतामाथि विश्वास नरहेको तथ्यलाई मात्र प्रमाणित गर्दछ। हामीले संविधान सभामा अडान लिनुको अर्थ राज्यप्रणालीको छनोट र सञ्चालनमा जनताको सार्वभौम अधिकारलाई स्थापित गर्नु तथा कुनै हालतमा त्यसलाई कुण्ठित हुन नदिनु हो। त्रिकोणात्मक शक्ति सङ्घर्ष चलिरहेको र त्यसका कारण देशको राष्टि्रय स्वतन्त्रतामा नै खतरा बढिरहेको आजको स्थितिमा जनतालाई यसको फैसला गर्न दिने जस्तो देश हितमा वैज्ञानिक र प्रजातान्त्रिक कुरा अरु केही हुनै सक्तैन। तर, विडम्बना ! पुरानो सत्तापक्ष, बरु देश डुबोस् तर संविधान सभामार्फत् नेपाली जनतालाई सार्वभौम तुल्याउन तयार छैन। पुरानो सत्तापक्ष, विदेशी शक्तिकेन्द्रसूग झुकेर उनीहरुको सहयोगमा देशभक्त नेपालीहरुको रगतमा होली खेल्न तयार छ, तर जनतालाई सार्वभौम मान्न तयार छैन।

त्यो स्थितिमा नेपाली जनताका अगाडि राष्टि्रय स्वतन्त्रता र आफ्नो सार्वभौम अधिकारका निमित्त पुरानो सत्ता पक्षका राष्ट्रघाती, जनविरोधी एवम् निरङ्कुश क्रियाकलापको प्रतिरोध गर्नुबाहेक अर्को विकल्प नरहेको कुरा स्पष्ट हुन्छ। अत: हाम्रो पार्टी, पुरानो सत्ता पक्षले 'मुखमा राम राम, बगलीमा छुरा'को शैलीमा वर्तमान युद्धविराम र वार्ताबाट अग्रगामी निकासको सम्भावनालाई अन्त्य गरेकोले तत्कालका लागि ऊसूगको युद्धविराम, आचारसंहिता र वार्ता-प्रक्रियाको औचित्य समाप्त भएको तथ्य स्पष्ट गर्न चाहन्छ। शान्तिपूर्ण वार्ताद्वारा समस्या समाधान गर्न प्रयत्नशील वार्ताका सहजकर्ताहरु, देशका तमाम राजनैतिक दल, मानवअधिकारवादी संघ, संस्था, बौद्धिक समुदाय एवम् आम जनसमुदाय तथा देश बाहिरका तमाम मित्रहरुप्रति हाम्रो पार्टी हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्न चाहन्छ र सम्बन्धित सबैसूग निरन्तर अन्तर्क्रियासहित आपसी सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्दछ। हामीले आफ्नो तर्फबाट वार्ताको ढोका बन्द गर्नेछैनौं। जनताको सार्वभौम अधिकार र आधारभूत हीतहरु स्थापित हुने स्थितिमा हामी पुन: वार्तामा बस्न सक्नेछौं। त्यसप्रकारको स्थिति र वातावरण तयार गर्न निरन्तर सहयोगका निमित्त हाम्रो पार्टी देशभित्र र बाहिरका तमाम जनपक्षीय शक्ति एवम् जनसमुदायसंग हार्दिक अनुरोध गर्दछ।

१० भाद्र २०६०

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी) के.स.