2003-02-25 - press release - CPN-M२०५९-११-१३ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-18775 अभिलेखालय सि. नं.: NCA-18775

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

युद्ध-विराम र वार्ता प्रक्रियालाई हाम्रो पार्टीले अत्यन्त गंभीरतापूर्वक लिंदै, सत्तापक्ष बाट पनि त्यहि गंभीरताको अपेक्षा गरेको कुरा सर्वविदित्तै छ। हामीले वार्ताको सहज र विश्वासयोग्य वातावरण निर्माण गर्न आफ्नो तर्फबाट अधिकतम प्रयत्न गर्दै आएको कुरा पनि कसैबाट छिपेको छैन। तर, सत्तापक्षबाट युद्ध-विराम भएको एक महिना बित्न लाग्दा समेत वार्ताको पक्षमा कुनै सकारात्मक र ठोस कदम नचाल्नुले स्थितिलाई असहज र आशंकामय बनाउंदै लगेको छ। जो, जहां छ त्यो त्यहिं रहने युद्ध-विरामको सर्वमान्य परिभाषा विपरित सत्तापक्षबाट युद्ध-विराम पछि झन चेकिङ्ग, धरपकड र सादापोशाकमा सुराकी बढाएर लाने काम गर्नु, आस्थाका बन्दीहरुको स्थिति सार्वजनिक गरि रिहाईको प्रकिया थाल्नुको बदला अदालतले रिहा गरेकाहरुलाई समेत पक्डेर थुन्ने काम गर्नु आदिले ठूलो विडम्बनाको मात्र संकेत गर्दछ। देशका विभिन्न जिल्लामा यस अवधिमा दर्जनौं राजनैतिक कार्यकर्ताहरुलाई गिरफ्तार गर्नु तथा कंचनपुरमा युद्ध-विरामको पालना गर्दै शान्तिपूर्वक बसिरहेको जनमुक्ति सेनाको एउटा सानो टुकडीलाई घेरा हाली हतियारसहित गिरफ्तार गर्नुले सत्तापक्षबाट भएको युद्ध-विरामको गंभीर उल्लंघनलाई स्पष्ट गर्दछ। हामी सत्तापक्षसंग यस प्रकारका युद्ध-विराम भंग हुने र वार्ता विथोलिने गैर-जिम्मेवार गतिविधिलाई अबिलम्व रोक्न तथा युद्ध-विरामपछि हतियार सहित गिरफ्तार गरिएकाहरुलाई हतियारसहित रिहा गर्न र अन्य आस्थाका बन्दीहरुको स्थिति सार्वजनिक गर्दै र रिहाको प्रक्रिया थालेर वार्ताको प्रक्रियालाई गंभीरतापूर्वक अगाडि बढाउन जोडदार आग्रह गर्दछौं। साथै देश र जनताको भविष्यप्रति चिन्तित एवं वार्ताद्धारा समस्याको समाधान चाहने सबै राजनैतिक शक्ति, वौद्धिक समुदाय, मानव अधिकारवादी, संघ-संस्था, पत्रकार एवं आम जन-समुदायसंग युद्ध-विराम भंग गर्ने र वार्ता विथोल्ने देशी विदेशी तत्व, प्रवृत्ति र गतिविधिका विरुद्ध संयमित र जिम्मेवारपूर्ण ढंगले तर तदारुकताकासाथ आवाज उठाउन हामी हार्दिक अनुरोध गर्दछौं। हामी युद्ध-विराम र वार्ताको माध्यमबाट जन-समुदायको शान्ति, स्वतन्त्रता र प्रगतिको आकंक्षा अनुसार आर्थिक, राजनैतिक र सांस्कृतिक परिवर्तन सहितको निकास खोज्न प्रतिबद्ध भएर आएका छौं। देश र जनताप्रतिको हाम्रो यो समर्पित जिम्मेवारीवोधलाई कमजोरी ठानेर हल्का टिप्पणी गर्ने तथा भ्रम र आशंका फैलाउने काम हावी हुंदै गएमा र हामीलाई वाध्य पारिएमा देश र जनताकै निमित्त अन्तसम्म लड्ने हाम्रो दृढ राजनैतिक इच्छाशक्ति र प्रतिबद्धतामा कुनै कमी नआएको तथ्य पनि हामी सबैसंग स्पष्ट गर्न चाहान्छौं। हामीले कुनै राजनैतिक प्रचारबाजीका निमित्त यो कुरा भनिरहेका छैनौं अपितु वास्तविकतालाई मात्र अभिव्यक्त गरिरहेका छौं। जन-समुदाय र हाम्रो पार्टीको धैर्यको परिक्षा लिने काम गर्नु कसैको हितमा हुने छैन। शान्ति, स्वतन्त्रता र प्रगति सुनिश्चित गर्ने अग्रगामी निकास, देश र जनताको आवश्यकता र आकंक्षा हो। अत : युद्ध-विराम र वार्ता प्रक्रियालाई त्यो आवश्यकता र आकंक्षा अनुसार सफल तुल्याउनकालागि एकजूट हुन सम्पूर्ण जन-पक्षीय राजनैतिक शक्ति, वौद्धिक समुदाय एवं आम जन-समुदायसंग पुन : हार्दिक अनुरोध गर्दछौं।

मिति : - १३ फाल्गुण २०५९

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा.(माओबादी) के.स.