2003-02-16 - press release - CPN-M२०५९-११-०४ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20954 अभिलेखालय सि. नं.: NCA-20954

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal(Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

देशमा विद्यमान गृह—युद्धलाई शान्तिपूर्ण वार्ताको माध्यमबाट अग्रगामी राजनैतिक, आर्थिक र सामाजिक निकास सहित समाधान गर्ने उद्धेश्यद्धारा युद्ध—विरामको घोषणा भएको तीन हप्ता पुग्दै छ। यस बीचमा हाम्रो पार्टीले गृह—युद्धको वर्तमान चरणमा वार्ताको प्रश्नलाई अत्यन्त गंभीरता र जिम्मेवारीपूर्वक लिंदै वार्ता टोलीको गठन र सहज वातावरण निर्माण गर्न अन्य आवश्यक कदमहरु चाल्दै आएको कुरा पनि सर्वविदितै छ। तर, युद्ध—विरामको घोषणासंगै हाम्रो पार्टीका कतिपय वरिष्ठ नेताहरु दरवार गएको र राजासंग गोप्य मन्त्रणा गरेको भन्ने जस्तो नितान्त झुट्टो, कपोलकल्पित र नियोजित प्रचार अगाडि आयो। यो झुट्टो प्रचारलाई हाम्रो पार्टीले देशमा शान्ति र प्रगति नरुचाउने देशी र विदेशी प्रतिकृयावादी तत्वहरुको वार्ता विरोधि षडयन्त्रकारुपमा लिएको छ। हामीले यस प्रकारको प्रचारलाई निन्दा र भण्डाफोर गर्दै वर्तमान वार्ता प्रक्रियालाई देश र जनताको पक्षमा सबै राजनैतिक दल, वौद्धिक व्यक्तित्व र आम जनताको वार्ता प्रकियामा परिणत गरि गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान—सभामार्फत अग्रगामी निकासकालागि आव्हान गर्दा गर्दै पनि कतिपय संसदवादी दलहरु मुख्यतः एमाले, ने.का.का प्रमुख नेताहरुद्धारा त्यो झुट्टो प्रचारलाई नै मलजल गर्ने व्यवहारको प्रदर्शनले स्वयं उनिहरुको नीयतमा समेत गंभीर आशंका उत्पन्न गराइरहेको छ। युद्ध—विराम पछि सहज र विश्वासयोग्य वातावरण निर्माण गर्न तमाम आस्थाका बन्दीहरुको स्थिति सावर्जनिक गर्ने तथा रिहाईको प्रक्रिया अगाडि बढाउनुको सट्टा शाही सेना र सशस्त्र प्रहरीद्धारा अझ बढि दौडधुप, चेकि¨, छापामारी र धरपकड गर्नु तथा कथित चन्दा अभियानका विरुद्ध रक्षा मन्त्रालयद्धारा वक्तव्यवाजीगर्नुले समग्र युद्ध—विराम र वार्ता प्रक्रियामानै नकारात्मक प्रभाव पारिरहेको छ। घटनाक्रमहरुले जन—समुदायको शान्ति, स्वतन्त्रता र प्रगतिको आकंक्षाका विरुद्ध भइरहेका प्रतिकृयावादी षडयन्त्रलाई नै देखाइरहेका छन्। हामी नेपाल र नेपाली जनताको शान्ति, स्वतन्त्रता र प्रगतिको आकंक्षाका विरुद्ध भइरहेका तमाम षडयन्त्रका विरुद्ध एकजूट हुन देशका सम्पूर्ण जन—पक्षीय राजनैतिक शक्ति, वौद्धिक व्यक्तित्वहरु र आम जन—समुदायमा हार्दिक अनुरोध गर्दछौं। हामी आफ्नो तर्फबाट युद्ध—विराम र वार्ता भांडिने कुनै पनि कृयाकलाप रोक्न प्रतिबद्ध छौं। यस सन्दर्भमा कतिपय नक्कली चन्दा आतंक खडा गरि हाम्रो पार्टीलाई त्यस प्रकारको आरोप लगाउने चाल चलिरहेको संकेत देखिरहेको अहिलेको तात्कालिन स्थितिमा, त्यस प्रकारको प्रतिकृयावादी चाललाई असफल तूल्याउने कदमकारुपमा अर्को सूचना नआंउदासम्म पार्टीका तर्फबाट स्वेच्छा बाहेकका सबै प्रकारका चन्दा कार्यक्रम स्थगित गर्न केन्द्रीय कार्यलय सिंगो पार्टी पंक्तिलाई यसै वक्तव्य मार्फत निर्देशित गर्दछ।

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा.(माओवादी)केन्द्रीय समिति
४ फाल्गुण ०५९