2003-02-13 - press release - CPN-M२०५९-११-०१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20953 अभिलेखालय सि. नं.: NCA-20953

महान् जनयुद्धको सातौं वार्षिकोत्सवका उपलक्ष्यमा

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को अपील

आदरणीय जनसमुदाय !

अद्र्ध–सामन्ती र अद्र्ध–औपनिवेशिक नेपाली समाजको आमूल परिवर्तन गरी देशका सम्पूर्ण उत्पीडित वर्ग, जाति, क्षेत्र र लि¨का जनसमुदायलाई मुक्त गर्ने महान् उद्देश्यका साथ नेपाली सर्वहारा वर्गको गौरवशाली अग्रदस्ता नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा पहल भएको ऐतिहासिक जनयुद्धले यही फाल्गुण १ गते ७ वर्ष पूरा गरी आठ वर्षमा प्रवेश गरेको छ। सामान्य अवस्थामा ७ वर्षको अवधि एउटा देशको इतिहासका दृष्टिले छोटो नै मानिने गर्दछ। तर, सामन्तवाद र साम्राज्यवादको साँठगाँठमा आधारित पुरानो सामन्ती सत्ताका विरुद्ध जन–विद्रोह, त्याग र बलिदानका दृष्टिले ७ वर्षको यो आँधीतुफानले भरिएको अवधि नेपालको इतिहासमा सयौं वर्षसम्मका लागि अविस्मरणीय बनिसकेको छ। ७ वर्ष अगाडि पहल गरिएको महान जनयुद्ध, आज सामन्तवाद र साम्राज्यवादको फौजी शक्तिका विरुद्ध वीरता, सौर्य, विलक्षण रणकौशल र बलिदानका अपूर्व उदाहरणहरु प्रस्तुत गर्दै रणनैतिक सन्तुलनको अवस्थासम्म विकसित भएको छ। प्रतिकृयावादी सैन्य शक्तिको अहंकारलाई धुलो चटाउँदै विगत १४ महिनामा महान् जनमुक्ति सेनाले आफ्नो फौजी श्रेष्ठता र अपराजेयतालाई स्थापित गरिसकेको छ। सयौं वर्षदेखि सामन्ती सत्ताको शोषण–उत्पीडन, अपमान, भेदभाव र अत्याचारमा पिल्सिएका सबै वर्ग, जनजाति, दलित जाति, मधेशी समुदाय, कर्णाली र सेती महाकालीका जनता एवं आधा धर्ती र आधा आकाश ओगट्ने महिला समुदायले आफ्नो मुक्ति स्वतन्त्रता र स्वाभिमानको झण्डाका रुपमा जनयुद्धलाई आत्मसात् गरी देशका सम्पूर्ण ग्रामीण इलाकाहरुमा नयाँ जनसत्तामा आफ्नो आत्म–निर्णयको अधिकारको अभ्यास गर्ने प्रक्रियालाई तीव्रता दिइरहेका छन्। संश्लेषित रुपमा भन्नु पर्दा ७ वर्षको जनयुद्धले शोषण, भेदभाव र अन्यायमा टिकेको पुरानो नेपाललाई भत्काउने तथा न्याय, समानता र स्वतन्त्रतामा आधारित नयाँ नेपालको निर्माण गर्ने प्रक्रियामा विश्वलाई नै आश्चर्यचकित पार्ने गुणात्मक उँचाइ हासिल गरेको छ। पार्टीको वैचारिक संश्लेषणमा माक्र्सवाद–लेनिनवाद–माओवाद र प्रचण्डपथको विकास, सैन्य क्षेत्रमा ब्रिगेड स्तरका संरचनाहरुसहितको महान् जनमुक्ति सेनाको विकास, केन्द्रीय सत्ता उन्मुख संयुक्त क्रान्तिकारी जनपरिषद ् र ग्रामीण इलाकाहरुमा देशव्यापी रुपमा भइरहेका नयाँ जनसत्ताहरुको विकास, जातीय र क्षेत्रीय स्वशासनको अभ्यास र विकासले जनवादी नयाँ नेपालको निर्माण प्रक्रियामा प्राप्त ऐतिहासिक सफलतालाई स्पष्ट गर्दछन्।

प्रिय जनसमुदाय !

यतिबेला हामी सबैले अनुभूत गरिरहेका छौं कि जनयुद्धका यी ऐतिहासिक सफलताहरु नेपाली जनताका हजारौं सर्वश्रेष्ठ छोराछोरीहरुको रगतको मूल्यमा, हजारौं छोराछोरीको अंगभंग र अपांग हुनुको मूल्यमा, हजारौं दिदी बैनीहरुमाथि गरिएको पाशविक बलात्कारको चित्कारका मूल्यमा, हजारौं छोराछोरीहरुले सामन्ती सत्ताका कालकोठरीमा सामना गरिरहेका दमन र यातनाको मूल्यमा तथा लाखौं जनसमुदायले पिएको आँसु र सामना गरेको अकथनीय दुःख, कष्ट र यातनाको मूल्यमा हासिल भएका हुन्। महान् जनयुद्धको वार्षिकोत्सवको यस ऐतिहासिक अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) जनवादी नयाँ नेपालको निर्माणका लागि आफूसंग भएको अन्तिम र सर्वाेच्च साधन–जीवनकै आहुती दिने कमरेड सुरेश वाग्ल,े कमरेड रामवृक्ष यादव, कमरेड रीतबहादुर खड्कालगायत जनताका करिब ५,५०० श्रेष्ठ छोराछारीहरुप्रति संग्रामी अभिवादनका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र ती महान् अमर शहीदहरुको सपना साकार पार्न अन्तसम्म लड्ने प्रतिज्ञा गर्दछ। त्यसैगरी, पार्टी जनयुद्धको प्रक्रियामा घाइते भई अंगभंग हुन पुगेका, दुश्मनको कालकोठरीमा यातनाको सामना गरिरहेका तथा गाउँ, घर, शहर सबैतिर दुश्मनको आतंक र अत्याचारको सामना गरिरहेका तमाम योद्धा र जनसमुदायप्रति यस ऐतिहासिक अवसरमा जुझारु अभिवादन प्रकट गर्दछ। यस अवसरमा हाम्रो महान् जनयुद्धलाई प्रत्यक्ष वा परोक्ष रुपमा नैतिक र भौतिक सहयोग गर्ने देशका सम्पूर्ण वामपंथी, प्रगतिशील, देशभक्त र जनवादी शक्ति र आम जनसमुदायप्रति आभार र अभिवादन प्रकट गर्दछ। साथै यस ऐतिहासिक अवसरमा सर्वहारा अन्तर्राष्ट्रवादको उच्च भावनासहित नेपाली जनयुद्धलाई प्रारम्भदेखि नै हर तरहले आफ्नै आन्दोलनका रुपमा सहयोग गर्ने हाम्रो पार्टी समेत सदस्य रहेको रिमलगायत विश्वका तमाम क्रान्तिकारीहरुप्रति हार्दिक आभार र क्रान्तिकारी अभिवादन प्रकट गर्दछ।

आदरणीय जनसमुदाय !

हामी सबैलाई थाहा भएकै कुरा हो कि यस वार्षिकोत्सवको केही दिन पहिले मात्र पुरानो सत्ता र नयाँ जनसत्ताका बीचमा युद्ध–विरामको घोषणा भएको छ। परस्पर विरोधी दुई विचार, दुई सेना र दुई सत्ताका बीचमा युद्ध–विराम ठीक त्यो चरणमा भएको छ जतिबेला महान् जनयुद्ध आफ्नो विकास प्रक्रियाको रणनैतिक सन्तुलनको चरणमा पुगेर प्रत्याक्रमणको तयारी गर्दै थियो। हाम्रो पार्टीले यो युद्ध–विरामलाई आजको अन्तर्राष्ट्रिय शक्ति सन्तुलनका सन्दर्भमा रणनैतिक सन्तुलनको अभिव्यक्तिका रुपमा परिभाषित गरेको छ। पुरानो सत्ताले हाम्रो पार्टी र आन्दोलनका विरुद्ध लगाएका तथाकथित आरोपहरु फिर्ता लिई युद्ध–विरामसहित वार्ताका निमित्त वातावरण तयार पारेपछि हामीले पनि युद्ध–विरामको घोषणा गरेका छौं। निश्चितरुपमा रणनैतिक सन्तुलनको वास्तविक अभिव्यक्तिका हिसाबले आएको वार्ताको मोर्चा पनि भिन्न रुपमा युद्धकै अर्काे मोर्चा हो। साँचो अर्थमा हामी कम्युनिष्टहरु बिना हिंसा नै वार्ताद्वारा जनसमुदाय अधिकार सम्पन्न भएमा सर्वाधिक खुशी हुनेछौं। सर्वहारा वर्ग र श्रमजीवी जनसमुदायले कहिल्यै पनि आफ्नो तर्फबाट हिंसाको पहिलो पहल गर्दैनन्। प्रतिक्रियावादी शासक वर्गले जनसमुदायमाथि थोपरेको हिंसाको प्रतिरोधको आवश्यकताले हिंसात्मक क्रान्तिलाई जन्म दिने गरेको छ र जनसमुदाय शोषण–अत्याचारबाट मुक्त नभएसम्म त्यसको अन्त पनि असंभव छ। जेहोस्, अहिलेको वार्ता प्रक्रियालाई हाम्रो पार्टीले अत्यन्त गंभीरतापूर्वक लिएको छ। वार्ताको टेबुलबाट जनताका राष्ट्रियता, जनतन्त्र एवं जनजीविकाका आधारभूत समस्याहरुको समाधान गर्न हामी आफ्नो तर्फबाट पूरै गंभीरता र जिम्मेवारीका साथ लाग्ने छौं। प्रतिकृयावादी पुरानो सत्ता, अन्तर्राष्ट्रिय साम्राज्यवादी र विस्तारवादी शक्तिहरुबाट हुन सक्ने सबै प्रकारका षड्यन्त्रहरुप्रति सतर्क र सावधान रहँदै देश र जनताको आधारभूत हितहरुका पक्षमा हामी वार्ता गर्नेछौं। तर, इतिहासका निर्माता जनसमुदायको सक्रियता बिना वार्ताको टेबुलबाट सकारात्मक अग्रगामी निकास कदापि संभव हुँदैन। अतः वार्तालाई देश र जनताको पक्षमा सफल तुल्याउन हाम्रो पार्टी, यो वार्तालाई सत्ता पक्ष र हाम्रो पार्टीको मात्र नभई सबै राजनैतिक दल, बौद्धिक व्यक्तित्व एवं आम जनसमुदायकै वार्ता प्रक्रिया बनाउन हार्दिक अनुरोध गर्दछ। जनताको सक्रिय सहभािगता बिना वार्ताबाट अर्थपूर्ण परिणाम प्राप्त गर्न कठिन हुनेछ।

यस सन्दर्भमा हामी आम जन–समुदायसंग यो कुरा पनि स्पष्ट राख्न चाहन्छौं कि वार्ताको प्रक्रियामा देश र जनताका आधारभूत हितहरुमा हामी कुनै संझौता गर्ने छैनौं। जनताका आधारभूत हित र जनयुद्धको शक्तिका विरुद्ध छलछाम, षड्यन्त्र र धोखा हुने स्थिति आएमा हामी कुनै पनि बिन्दुमा युद्ध–विराम भंग गरी निर्णायक युद्धमा अगाडि बढ्ने छौं। तर शान्तिपूर्ण वार्ताबाट अग्रगामी राजनैतिक निकासका लागि हाम्रो तर्फबाट अधिकतम प्रयास गरिनेछ। फेरि पनि हामी दोहोर््याउन चाहन्छौं कि सबै जनपक्षीय राजनैतिक शक्ति र मुख्यतः आम जनसमुदायको सक्रिय पहल र सहभागिता बिना अग्रगामी निकास पुरानो सत्तासंगको वार्ताबाट असंभव नै हुन्छ।

नेपाल यतिबेला आफ्नो राजनैतिक इतिहासको अत्यन्त संवेदनशील र संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक, राजनैतिक र सांस्कृतिक संरचनामा गुणात्मक परिवर्तन नगरी अब देशले अग्रगति लिन सक्ने अवस्था छैन। संवेदना र संक्रमणको आजको स्थितिमा विश्वका विभिन्न प्रतिकृयावादी शक्ति केन्द्रहरुले आ–आफ्नो स्वार्थअनुसार नेपाल र नेपाली जनताका विरुद्ध चलखेल र हस्तक्षेप बढाइरहेका छन्। यो अवस्थामा देशको राष्ट्रिय एकता मजबूत गर्न पनि अग्रगामी जनतान्त्रिक निकास अनिवार्य भएको छ। आउनुहोस् ! वार्ता प्रक्रियालाई सिंगो देशलाई एकताबद्ध पार्ने र नयाँ र प्रगतिशील नेपाल निर्माण गर्ने प्रक्रियामा बदल्न एकजुट होऔं ! महान् जनयुद्धको सातौं वार्षिकोत्सव– जिन्दावाद !

मितिः २०५९ फागुन १ गते