2003-02-02 - press release - CPN-M२०५९-१०-१९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20952 अभिलेखालय सि. नं.: NCA-20952

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party Of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

युद्ध–विरामको घोषणापछि हाम्रो पार्टीको स्थायी समितिको विस्तारित वैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो। बैठकका निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।
१–जनयुद्ध र त्यस पूर्वका तमाम ज्ञात–अज्ञात शहीदहरुप्रति सम्मान व्यक्त गर्दै अगाडि बढेको यस बैठकमा उपस्थित सम्पूर्ण कमरेडहरुबाट वर्तमान परिस्थितिबारे अनुभूतिजन्य सकारात्मक रिपोर्ट प्रस्तुत गरियो।
२–देशको वर्तमान सन्दर्भमा युद्ध–विराम र वार्ता प्रक्रियाको रणनैतिक महत्ववारे क. प्रचण्डद्वारा प्रस्तुत विश्लेषणलाई वैठकद्वारा एकमतले पारित गरिएको छ। त्यस अनुसार यो युद्ध–विराम र वार्ता प्रक्रियालाई देश र जनताको पक्षमा सकारात्मक निकास सहित सफल पार्न पार्टी पूर्ण जिम्मेवारी र गंभीरताका साथ प्रस्तुत हुने निष्कर्ष निकालिएको छ।
३– वैठकले देशमा विद्यमान गृहयुद्धको अवस्थालाई शान्तिपूर्ण वार्ताद्वारा समाधान गरिनु पर्दछ भनी आवाज उठाउने तथा त्यसका लागि पहल र योगदान गर्ने देशका सम्पूर्ण मानवअधिकारवादी लगायतका संघ–संस्था, बौद्धिक व्यक्तित्व, राजनैतिक दल एवं आम जनसमुदायप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै यो दिशामा सहयोग पुर््याउन निरन्तर प्रयासरत कतिपय अन्तर्राष्ट्रिय संघ–संस्थाहरुप्रति पनि बैठकले आभार प्रकट गरेको छ।
४– वार्ता प्रक्रियालाई जिम्मेवारी पूर्वक अगाडि बढाउनका लागि बैठकले केन्द्रीय वार्ता टोलीको पूनर्गठन गरेको छ। नवनिर्मित वार्ता टोली निम्नअनुसार रहेको छः— क.बाबुराम भट्टराई— संयोजक, क.रामबहादुर थापा (क.वादल)–सदस्य, क. देव गुरु¨–सदस्य, क. कृष्णबहादुर महरा–सदस्य र क.मातृकाप्रसाद यादव–सदस्य।
५– अहिलेको बदलिएको सन्दर्भमा बैठकले पार्टी, सेना र मोर्चाद्वारा संयुक्त रुपमा घोषित आगामी फाल्गुण १ र २ गतेको “नेपाल बन्द”लगायत त्योसंग सम्बन्धित संघर्षका कार्यक्रमहरुलाई फिर्ता लिने निर्णय गरेको छ। जनयुद्धको आगामी वार्षिकोत्सव, शहीद सप्ताह लगायतका नियमित कार्यक्रमहरुलाई आ–आफ्नो स्थितिअनुसार शान्तिपूर्ण ढंगले उत्सवका रुपमा मनाउन सबै क्षेत्र एवं जिल्लाहरुलाई निर्देशन गर्ने ठेगान भएको छ।
६– वार्ता प्रक्रियालाई सहज र गंभीरतापूर्वक अगाडि बढाउन निश्चित बौद्धिक र राजनैतिक व्यक्तित्वहरुलाई सहजकर्ताका रुपमा सहयोग गरी दिन अनुरोध गर्ने समेत बैठकले निर्णय गरेको छ।
७– युद्ध–विरामको घोषणा र त्यसको वरिपरि चलेका कैयौं अफवाह र भ्रम प्रति वैठकको ध्यान आकर्षित भएको छ। वैठक स्पष्ट गर्न चाहन्छ कि युद्ध–विरामको घोषणा र आजसम्म पनि हाम्रो पार्टीका कुनै केन्द्रीय सदस्यहरुको दरबारिया सत्तापक्षका कसैसँग पनि कुनै प्रकारको भेटघाट, गोप्य सम्बन्ध रहेको भन्ने प्रचार सम्पूर्ण रुपले झुट्टो हो। वार्ताको निमित्त वातावरण बनाउन पहल गर्र्ने केही निश्चित मानवअधिकारवादी र राजनीतिक व्यक्तित्वहरुसंग परोक्ष सम्बन्धबाहेक हाम्रो पार्टी केन्द्रको कसैसँग कुनै अपार्दर्शि सम्बन्ध नरहेको तथ्य स्पष्ट गर्दै बैठक त्यस प्रकारका अफवाहप्रति सावधान रहन जनसमुदायसँग अनुरोध गर्दछ। वार्ताका निमित्त विभिन्न पक्ष र कोणबाट पहल हुँदै आएको सत्तापक्षबाट पनि केही समयदेखि वार्ताको चाहना व्यक्त भइरहेको तथा हाम्रो पार्टीले समेत निश्चित न्यूनतम सर्त पूरा गरी वातावरण बनाइएमा वार्तामा बस्न तयार रहेको सार्वजनिक घोषणाका सन्दर्भ र पृष्ठभूमिमा वर्तमान युद्ध–विराम कुनै आकस्मिक परिघटना नभएकोकुरा स्पष्ट हुन्छ। यो बैठक यहाँ यो कुरा पनि स्पष्ट गर्न चाहन्छ कि विभिन्न राजनैतिक दल र बौद्धिक व्यक्तित्वहरुको गोलमेच सम्मेलन, अन्तरिम सरकार र संविधान सभा मार्फत प्रतिगमनका विरुद्ध अग्रगामी राजनैतिक निकासका लागि संघर्षरत तथा त्यसका लागि देशका प्रमुख राजनैतिक दलहरुका प्रमुख नेताहरुसंग निरन्तर सम्पर्क र अन्तरक्रियामा रहँदै आएको हाम्रो पार्टीले वार्ता प्रक्रियामा राजनैतिक दलहरुको महत्व र भूमिकालाई अवमूल्यन गर्ने कुराको आशंका कतैबाट नगरियोस्। हामी देशलाई आजको जटिल राजनीतिक स्थितिबाट मुक्त गर्न पूर्वाग्रहरहित ढंगले यो वार्ता प्रक्रियालाई सत्ता पक्ष र हाम्रो पार्टीको मात्र नभएर सम्पूर्ण राजनैतिक दल, बौद्धिक व्यक्तित्व र आम जनसमुदायको वार्ता प्रक्रिया बनोस र त्यस प्रक्रियाबाट नयाँ शान्त र प्रगतिशील नेपालको जन्म होओस् भन्ने चाहन्छौं। गोलमेच सम्मेलनको हाम्रो मर्म र औचित्य भनेको नै यही हो। स्वभाविक रुपले हामी,सत्ता पक्ष, सबै राजनैतिक दल र बौद्धिक व्यक्तित्वहरुबाट त्यही गंभीरताको अपेक्षा गर्दछौं।

मिति १९ माघ ०५९

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा.(माओवादी)केन्द्रीय समिति