2002-12-12 - press release - CPN-M२०५९-०८-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21077 अभिलेखालय सि. नं.: NCA-21077

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
पूर्वी केन्द्रीय कमाण्ड
Eastern Central Command

प्रेस–वक्तव्य

पूर्वमा ने.क.पा. (माओवादी) द्वारा सञ्चालित महान् जनयुद्धले आरोह र अवरोहका अनेकौं श्रृंखलाहरुका बीचबाट अग्रगति हासिल गर्दै आएको छ। यो प्रक्रियामा पार्टी, जनसेना र जनसमुदायका महान् योद्धाहरुले त्याग, वीरता र बलिदानका भव्य कीर्तिमानहरु स्थापित गर्दै आएका छन्। यसै क्रममा पार्टीको केन्द्रीय योजनालाई निरन्तरता दिने प्रक्रियामा यही मंसीर १९ गते राती सिरहा जिल्लाको लाहानमा जनमुक्ति सेनाद्वारा इलाका प्रहरी कार्यालय, नेपाल बैंक लिमिटेड तथा नेपाल बाणिज्य बैंक, आदि माथि आकस्मिक हमला गरी कब्जा गर्ने र ध्वस्त पार्ने काम सफलतापूर्वक सम्पन्न भएको छ।

यसै सिलसिलामा सो खण्डको राजमार्ग बन्द गर्ने र उदयपुरको ताराघारी स्थित ब्यारेक नजिकै शाही सेनामाथि एम्बुस गर्ने काम पनि शानदार रुपमा सफल भएको छ। यो कार्यवाहीमा प्रहरी तर्फ ३ तथा शाही सेना तर्फ ३ गरी ६ जना मारिएका छन् भने जनमुक्ति सेनाका तर्फबाट कम्पनी सेक्सन कमाण्डर क. सुझावको शहादत भएको छ। सो कार्यवाहीबाट नगद रु.३ करोड २५ लाख ५३ हजार, जिन्सी– सुन, चाँदी सहित ५० लाख गरी जम्मा करीब पौने चार करोड र थ्री–नट–थ्री राइफल, विभिन्न किसिमका पेस्तोल र बारबोर (टी.भी.) समेत ६० भन्दा बढी हतियार तथा अन्य युद्ध सामग्री कब्जा गरिएका छन्। मधेशमा सम्पन्न यो कार्यवाही राजनीतिक, आर्थिक र प्राविधिक दृष्टिले विशेष महत्वको रहेको छ।

अन्तमा, हाम्रो पार्टी यो फौजी कारवाहीलाई सफलतापूर्वक सम्पन्न गर्ने जनमुक्ति सेनाका योद्धाहरुप्रति विशेष हार्दिक धन्यवाद ज्ञापन गर्दछ। साथै पार्टी यो फौजी कारवाहीमा शहादत प्राप्त गर्नु हुने कम्पनी सेक्सन कमाण्डर क. सुझाव सहित विभिन्न फौजी कारवाहीहरुमा बहादूरीपूर्वक लड्दै शहादत प्राप्त गर्नु हुने जनसेना का सबै वीर योद्धाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ।

मिति– २६ मंसीर २०५९

अगम
इन्चार्ज ने.क.पा. (माओवादी)
पूर्वी केन्द्रीय कमाण्ड