2006-11-22 - press release - INSEC२०६३-०८-०६ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20351 अभिलेखालय सि. नं.: NCA-20351

प्रेस विज्ञप्ति

०६३ मंसिर ६ गते

नेपाल सरकार र नेकपा माओवादीबीच हिजो मंसिर ५ गते सम्पन्न ऐतिहासिक शान्ति सम्झौताको हामी हार्दिक स्वागत गर्दछौं। विगत ११ वर्षेखि जारी हिंसाको विधिवत रुपमा अन्त्य भएको घोषणाले तमाम नेपाली जनतामा राहत प्रदान गरेको कुरा हामीले महसुस गरेका छौँ।

नेपाल सरकार र नेकपा माओवादीकाबीच सम्पन्न बिस्तृत शान्ति सम्झौतामा व्यक्त गरिएका मानवअधिकार, मौलिक अधिकार र मानवीय कानुनको अक्षरशः पालना गर्न हामी सबै राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछौँ। विश्वकै लागि उदाहरण बनेको शान्ति सम्झौताको पालना भएमा मात्र नेपाल पुनः हिंसात्मक द्वन्द्वमा फस्दैन भन्ने स्मरण गराउँदै देशमा स्थायी शान्ति स्थापनाका लागि निम्न कुराहरुमा आवश्यक पहल गर्न हार्दिक अनुरोध गर्दछौँ।

· देशका विभिन्न भागमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, किराँत वर्कर्स पार्टी तथा मधेशी टाइगरलगायतका अन्य सशस्त्र समूहद्वारा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि ती समूहसँग वार्ता प्रक्रिया थालनी गर्न।

· समावेशी राज्य सञ्चालनको अवधारणा अनुसार राज्यको पुनर्संरचना गर्न।

· शिविरमा राखिएका सैनिकहरुको भरणपोषण लगायत मानवोचित व्यवस्थाको सुनिश्चितता तुरुन्त गर्न।

· दण्डहीनताको अन्त्यका लागि विगतका अपराधको छानबिन गरी तथ्य सार्वजनिक गर्न भरपर्दो प्रक्रियाको अविलम्ब थालनी गर्न।

· वर्तमान शान्ति प्रक्रियालाई जनताको मौलिक एवम् मानव अधिकारको पूर्ण प्रत्याभूतिको शान्तिपूर्ण आन्दोलनको सिलसिलाका रुपमा साहसका साथ स्थापित गर्न।

· सम्झौता पत्रमा उल्लेख भएअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यनीति तथा कार्यक्षेत्र स्पष्ट गर्न।

सुबोधराज प्याकुरेल