2006-10-24 - press release - CPN-M२०६३-०७-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20304 अभिलेखालय सि. नं.: NCA-20304

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
विशेष उपत्यका व्यूरो

विषय : प्रेस विज्ञप्ति

उपत्यकामा हुने गरेको लुट, वलत्कार, अपहरण, हत्या जस्ता अपराधिक घटनाहरुबाट प्रताडित बनेका उपत्यकावासि साथै उद्योगी व्यवसायीहरुबाट आएको अनुरोधको आधारमा केही दिन पहिले नेवा:राष्टि्रय मुक्ति मोर्चाको पहलमा नेकपा(माओवादी) र जनमिलिसियाको सहयोगमा प्रहरी प्रशासनकै संरक्षणमा उपत्यकामा गुण्डागर्दी गर्ने साथै विभिन्न उपराधमा सम्लग्न गुण्डा, चोर, ठगहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पछि यही कार्तिक ४ गते छाडिएको सवैलाई अवगत नै छ।

आज दिउँसो करिव ३:०० बजे काठमाडौ, वौद्धमा मादक पदार्थ सेवन गरी स्थानिय जनतामाथि खुकुरी प्रहार गर्ने शसस्त्र प्रहरीका टेकवहादुर तामाङ र गुण्डा सुरेश मगरलाई स्थानिय जनताले समाति माओवादी कार्यकर्तालाई बुझाएका थिए। हाम्रा कार्यकर्ताहरुले ती दुई अपराधिलाई आफनो नियन्त्रणमा लिई जादै गर्दा करिव ५:००बजे कोटेश्वरमा प्रहरीले हस्तक्षेप गरी ती दुई अपराधीलाई आफुसंग लिएर गएको थियो। उक्त प्रहरी हस्तक्षेपको स्थानिय जनताले विरोध गरेका थिए। प्रहरी हस्तक्षेपको विरोध गरेकोमा प्रहरीले जनतामाथि अन्धाधुन्ध लाठिचार्ज गरी हाम्रा कार्यकर्ता सहित नौ जना स्थानिय जनतालाई सिकिस्त घाइते बनाएको छ भने तीन जनालाई नगर प्रहरीले गिरफतार गरेको छ। हाम्रो पार्टी उक्त प्रहरी दमन साथै गिरफतारीको घोर निन्दा एंव भर्त्सना गर्दछ। अपराधिलाई कार्वाही गर्नुको साटो उल्टै संरक्षण दिएर जनतामाथि दमन गर्ने प्रहरी प्रशासनको हर्कत स्पष्ट पार्न उक्त घटना अर्को थप एक उदाहरण बन्न पुगेको छ। लाठिचार्जबाट घाइते हुन पुगेका दिपक के.सी.को हाल काठमाडौ मेडिकल कलेजमा उपचार भईरहेको छ

अत:अपराधि तत्वहरुलाई संरक्षण दिइ दण्डहिनताको स्थिति निम्त्याउने प्रहरी प्रशासनको हर्कत साथै स्थानिय जनतामाथिको दमन प्रति घोर आपत्ति तथा विरोध जनाउदै नेकपा(माओवादी) विशेष उपत्यका व्यूरोले भोलि कार्तिक ८ गते विहान ८ वजे देखि १०:०० बजे (दुई घण्टा)सम्म उपत्यकामा जक्का जाम गर्ने निर्णय गरेको कुरा सवैमा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ। साथै उक्तकार्यक्रम सफल पार्नकोलागि मानवअधिकारवादी संघ सस्था, पत्रकार, वुद्धिजीवि लागाएत आम जनसमुदायमा हार्दीक अपिल गर्दछु।

मिति: २०६३ कार्तिक ७ गते

(हिसिला यमि)
सह इर्न्चाज
विशेष उपत्यका व्यूरो
नेकपा(माओवादी)

हाम्रा मागहरु :

गिरफतार गरिएकाहरुलाई तुरुन्त रिहा गर !
उपत्यकामा बढदो अपराध अविलम्व नियन्त्रण गर !
अपराधिहरु माथिको प्रहरी संरक्षण बन्द गर !
अपराधमा सम्लग्न प्रहरीलाई कार्वाही गर !
कोटेश्वर घटनामा लाठिचार्ज गर्ने प्रहरीलाई कार्वाही गर !
घाइतेहरुको उपचार गर !