2006-10-16 - press release - INSEC२०६३-०६-३० - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20295 अभिलेखालय सि. नं.: NCA-20295

प्रेस विज्ञप्ति

०६३ असोज ३० गते

प्रेस विज्ञप्ति

मजदुरहरुमाथि गरिएको सांघातिक आक्रमणको भर्त्सना

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध नेपाल स्वतन्त्र यातायात मजदुर संघका सदस्यहरुमाथि आज राजधानीको केन्द्र नयाँसडकस्थित नेपाल वायुसेवा निगमको कार्यालय अगाडि नेकपा (माओवादी) निकट अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यकर्ताहरुद्वारा गरिएको सांघातिक आक्रमणप्रति हामी गम्भीर खेद प्रकट गर्दछौं।

आज बिहान ८:३० बजेतिर नेपाल स्वतन्त्र यातायात मजदुर संघका कार्यकर्ताहरुले संगठनको नियमित क्रियाकलाप अर्न्तर्गत यातायात मजदुरको भलाईका लागि स्थापित कोष संचालनार्थ आफ्ना सदस्यहरुसँग आर्थिक संकलन गरिरहेको अवस्थामा माओवादी निकट ट्रेड युनियन महासंघका कार्यकर्ताहरुले विवाद सिर्जना गरेका थिए। तत्पश्चात् अपरान्ह २.०० बजेतिर बसमा आएका माओवादी निकट मजदुरहरुले यातायात मजदुर संघका सदस्यहरुमाथि भौतिक आक्रमण गरी महिला सदस्यहरु समेतलाई सख्त घाइते बनाए। निर्घात कुटपिटबाट घाइते भएका जिफन्टका केन्द्रीय सदस्यद्वय विदुर कार्की, नरनाथ लुइँटेल, वागमती अञ्चल प्रमुख दिपक पौडेल, महिला सदस्य सुनिता थापासमेत नौजनालाई उपचार्रार्थ वीर अस्पताल पुर्याइएको छ। घाइतेहरुमध्ये अधिकांशको टाउको तथा कञ्चटमा चोट लागेको छ।

यसरी नागरिकको पेशागत स्वतन्त्रतामाथि धावा बोल्दै जाने र भौतिक आक्रमणका माध्यमबाट भिन्न संगठनका क्रियाकलापहरु जबर्जस्त बन्द गर्न खोज्ने प्रवृत्तिले लोकतन्त्र, बहुलवाद, नागरिक स्वतन्त्रता र मानवअधिकारप्रति नेकपा (माओवादी) ले र्सार्वजनिक गर्दै आएका प्रतिबद्धताहरु खोक्रा सावित भएका छन्।

अन्तर्राष्ट्रिय मान्यताप्राप्त मानवअधिकारका आधारभूत सिद्धान्तहरुले प्रत्येक व्यक्तिलाई विचार, शान्तिपूर्ण सभा तथा संगठन गर्न पाउने स्वतन्त्रता प्रदान गरेका छन्। प्रत्येक व्यक्तिलाई उसको हितको रक्षाका निम्ति ट्रेड युनियन स्थापना गर्ने एवम् त्यसमा सम्मिलित हुने अधिकार रहन्छ। तर, आजको घटनाबाट यस्ता मान्यताहरुको ठाडो अपमान हुनुका साथै शारीरिक आक्रमणका माध्यमबाट नागरिक अधिकारहरु कुण्ठित गर्ने प्रयत्न भएको छ। अर्कातर्फ राजधानीको केन्द्रमा मजदुर कार्यकर्ताहरुमाथि दिनदहाडै संगठित रुपमा यस्तो आक्रमण हुँदासम्म मुकदर्शक भएर बस्ने सरकारको नागरिक सुरक्षाप्रतिको संवेदनशीलतामाथि गम्भीर प्रश्नचिन्ह खडा भएको छ।

जनताको पेशागत संगठन स्वतन्त्रताको सम्मान नगर्ने प्रवृत्ति तत्काल बन्द गर्न र मानवअधिकार तथा ट्रेड युनियन स्वतन्त्रताका मान्यताहरुलाई सम्मान गरेको व्यवहारमा देखाउन माओवादी नेतृत्वसमक्ष हामी आग्रह गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष