2006-09-15 - press release - NHRC२०६३-०५-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20277 अभिलेखालय सि. नं.: NCA-20277

मिति: 2006-09-15
बालअधिकारको सम्मान गर्न आव्हान

(राष्ट्रिय मानव अधिकार आयोगले ४२ औं राष्ट्रिय बाल दिवसका अवसरमा जारी गरेको।)

प्रेस विज्ञप्ति, भदौ २९, २०६३

बालअधिकारको सम्मान गर्न आव्हान

राष्ट्रिय मानव अधिकार आयोगले स्थापनाकालदेखि नै बालअधिकार संरक्षण र सचेतनाका लागि निरन्तर र सक्रियतापूर्वक काम गरिरहेको छ। आयोग बालबालिकाको अधिकार संरक्षणका लागि सरकार, राजनीतिक दलहरू र अन्य सम्बन्धित पक्ष सबैलाई निरन्तर दवाव दिदैं आएको यस अवसरमा उल्लेख गर्न चाहन्छ। बालअधिकार संरक्षण र सचेतनाका क्षेत्रमा विभिन्न राष्ट्रिय, स्थानीय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले खेलेको भूमिकाले मुलुकमा बालअधिकार बारेको सचेतना बृद्धि हुने क्रम जारी छ।

यसका बाबजुद, अहिले पनि मुलुकमा हजारौं बालबालिका बालअधिकारको दृष्टिकोणबाट जोखिमपूर्ण अवस्थामा रहन बाध्य छन्। विभिन्न राजनीतिक दलहरूले आफ्नो सभा, समारोह र पदर्शनहरूमा आम बालबालिकाको प्रयोगलाई निरन्तरता दिइरहनु यसको एउटा उदाहरण हो। बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने गरी बालबालिकालाई राजनीतिक सभा र पदर्शनहरूमा प्रयोग गर्ने कार्य रोक्न सम्बद्ध सबैसँग आयोग आग्रह गर्दछ।

मुलुकमा हजारौं बालबालिका अहिले पनि शिक्षाबाट वञ्चित छन्। त्यस्तै हजारौं बालबालिका प्राथमिक स्वास्थ्य उपचारकै पर्याप्त अभावमा रहेका छन्। अर्कोतिर यातायात, कलकारखाना, होटल लगायत घरेलु काममा बाल श्रमिकको समस्या ज्वलन्त रूपमा रहेको छ। सशस्त्र द्वन्द्वका कारण विस्थापित परिवारका बालबालिका शिक्षा, स्वास्थ्य, बसोबास, स्वच्छ खानेपानी र उचित खानेकुरा जस्ता आधारभूत अधिकारकै अभावमा बाँचिरहेका छन् भने सशस्त्र द्वन्द्वकै कारण अनाथ बन्न बाध्य बालबालिकाहरूको स्थिति पनि यो भन्दा भिन्न छैन।

आयोग बाल दिवसका अवसरमा बालअधिकारका यी लगायतका सम्पूर्ण समस्यासँग जुध्न र बालअधिकारको ग्यारेन्टी हुने स्थिति सृजना गर्न यस क्षेत्रमा सम्पूर्ण कार्यरत संघ/संस्थाको थप बलियो र साझा प्रयासमा जोड दिन्छ। यसैगरी सरकार, राजनीतिक दलहरू र अन्य सबैलाई बालअधिकारको सदैव सम्मान र सो अनुरुपको व्यवहार गर्न समेत यसै अवसरमा स्मरण गराउँछ।

ध्रुव नेपाल

निमित्त सचिव