2006-09-11 - press release - NHRC२०६३-०५-२६ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20271 अभिलेखालय सि. नं.: NCA-20271

मिति: 0000-00-00
आयोगद्वारा ने.क.पा ( माओवादी ) लाई पत्र

प्रेस विज्ञप्ति/भदौ २६, २०६३

आयोगद्वारा ने.क.पा ( माओवादी ) लाई पत्र

राष्ट्रिय मानव अधिकार आयोगले ने.क.पा ( माओवादी ) विरूद्ध परेका उजुरीहरूको सम्पूर्ण विवरणबारे आयोगलाई जानकारी गराउन अनुरोध गर्दै सो पार्टीको वार्ता सचिवालयमा आज विस्तृत विवरणसहितको पत्र पठाएको छ।

आयोगले पठाएको पत्रमा ने.क.पा ( माओवादी )ले कब्जामा लिएको भनी आयोगमा उजुरी परेका र हालसम्म पनि अवस्था अज्ञात रहेका १५२ व्यक्तिहरूका बारेमा जानकारी दिन भनिएको छ। यही भदौ २४ गते कान्तिपुर टेलिभिजनबाट प्रसारित बहस कार्यक्रममा सो पार्टीका अध्यक्ष प्रचण्डले माओवादीबाट स्थिति अज्ञात पारिएका व्यक्तिहरूको बारेमा जानकारी प्राप्त भएमा उनीहरूको अवस्थाका बारेमा जानकारी दिने भन्ने प्रतिबद्धतालाई समेत ख्याल राखी आयोगले सम्पूर्ण व्यक्तिहरूको नाम राखी माओवादीलाई पत्र पठाएको हो।

आयोगले पठाएको पत्रमा माओवादीले विभिन्न समय र स्थानहरूबाट कब्जामा लिई अज्ञात पारिएका २४ जना व्यक्तिहरूको हत्या गरेको भन्ने आयोगको अनुसन्धानबाट देखिएको हुँदा सो सम्बन्धमा भइरहेको कारवाही र यथार्थ विवरणका बारेमा जानकारी दिन उल्लेख गरिएको छ। त्यसैगरी माओवादीबाट हत्या गरिएका भनी आयोगमा परेका २८ उजुरीहरूका सम्बन्धमा समेत जानकारी दिन आयोगले ने. क. पा. ( माओवादी ) लाई आग्रह गरेको छ।

साथै मानव अधिकार तथा मानवीय कानून विरूद्ध ने. क. पा. ( माओवादी ) तथा उसका भातृ सङ्गठनहरूबाट व्यक्ति तथा परिवारलाई जबरजस्ती विस्थापित गरेको भनी प्राप्त ३१२ र यातनासम्बन्धी ८ उजुरीहरूका बारेमा आयोगलाई जानकारी दिन आयोगले भनेको छ। त्यसैगरी आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी १२ र जबरजस्ती चन्दा माग गर्ने, घर कब्जा तथा तालाबन्दी गर्ने लगायत डर-त्रास र ज्यान समेत मार्ने धम्कीसम्बन्धी प्राप्त ५१ वटा उजुरीहरूका बारेमा पनि जानकारी दिन सोपत्र मार्फ आयोगले ने.क.पा ( माओवादी ) लाई आग्रह गरेको छ।

.

ध्रुव नेपाल

नि.सचिव