2006-07-25 - press release - NHRC२०६३-०४-०९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20249 अभिलेखालय सि. नं.: NCA-20249

मिति: 2006-07-25
आयोगको ध्यानाकर्षण, २०६३ साउन ९

ललितपुर - राष्ट्रिय अपांग महासंघद्वारा अन्तरिम संविधान मस्यौदा समितिमा अपांगको प्रतिनिधित्व गराउन माग राखी सिंहदरबार परिसरमा विरोध प्रदर्शनका क्रममा नेपाल सरकारले प्रहरी बल प्रयोग गरी पक्राउ तथा दू्र्व्यहार समेत गरेको भन्ने शिकायत आयोगमा प्राप्त हुन आएको हुँदा उक्त घटनाका सन्दर्भमा आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

आयोगले यस घटनाका सम्बन्धमा प्रहरीद्वारा भएका पक्राउ लगायतका घटनाहरू एवं अपांग महासंघद्वारा गरिएको प्रदर्शनलाई नजिकबाट अनुगमन गरिरहेको छ।

आफ्नो हक-अधिकारको लागि घेराउ तथा धर्ना जस्ता विरोधका कार्यक्रमहरू शान्तिपूर्ण ढंगले गर्नपाउने कुनै पनि नागरिकको अधिकार भएकाले यस किसिमको प्रदर्शन गर्न पाउने अधिकार सुनिश्चित हुने व्यवस्था मिलाउन र अनावश्यक बल प्रयोग नगर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।

साथै, आफ्नो संवैधानिक अधिकार प्रयोग गर्दा अर्काको अधिकार समेतको ख्याल गरी विरोध कार्यक्रम शान्तिपूर्ण रुपमा गर्न र प्रदर्शनका क्रममा आवश्यक संयमता अपनाउन प्रदर्शनकारीलाई समेत आयोग आव्हान गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव