2006-05-13 - press release - CPN-M२०६३-०१-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20203 अभिलेखालय सि. नं.: NCA-20203

माओवादीको केन्द्रीय समितिका निर्णयहरु सार्वजनिक

प्रेस विज्ञप्ति

हालै नेपाली सर्वहारा वर्गको गौरवशाली राजनैतिक प्रतिनिधि ने.क.पा.(माओवादी) को केन्द्रीय समितिको विशेष बैठक अध्यक्ष क.प्रचण्डको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भयो। बैठकका महत्वपूर्ण निर्णयहरुको सारसंक्षेप सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१) बैठकको प्रारम्भमा पार्टीका पूर्व केन्द्रीय सदस्य तथा जनमुक्ति सेनाका डिभिजन कमाण्डर क.किमबहादुर थापा (सुनिल लगायत जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण शहीदहरुको सम्झना र सम्मानमा मौनधारणसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गरियो।

२) बैठकमा देशको नयाँ राजनैतिक परिस्थिति र पार्टीको नयाँ योजनाबारे अध्यक्ष क.प्रचण्डद्वारा लिखित प्रस्ताव प्रस्तुत गरियो। गंभीर बहसपश्चात केन्द्रीय समितिको एकमतद्वारा पारित प्रस्तावको सार निम्नानुसार रहेको छ।

क) प्रस्तावले केन्द्रीय समितिको गत ऐतिहासिक चुनवाङ बैठकका राजनैतिक र फौजी निर्णयहरु मूलत: सफलतापूर्वक कार्यान्वयन गरिएको निष्कर्ष निकालेको छ। उक्त बैठकका राजनैतिक निर्णयअनुसार सात संसदवादी राजनैतिक दलहरुसँग १२-बुँदे समझदारी कायम हुन सकेको र त्यही समझदारीका आधारमा ०६२/०६३ को ऐतिहासिक जनआन्दोलन अगाडि आएको कुरा प्रस्तावमा स्पष्ट गरिएको छ।

ख) सडकमा प्रदर्शित जनताको अभूतपूर्व पहल, त्याग, शौर्य र वलिदान, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनामा केन्द्रित भइसकेको पृष्ठभूमीमा 'संसद' को पुनर्स्थापनाले जनआंकक्षालाई प्रतिनिधित्व गर्न नसकेको बरु त्यसले सामन्ती दरवारिया तथा वैदेशिक प्रतिकृयावादीहरुका लागि षडयन्त्रको ठाउँ दिने गंभीर खतरा रहेको कुराप्रति प्रस्तावले सतर्क गराएको छ। जनताको ऐतिहासिक पहलबाट निश्चित भइसकेको आफनो सर्वनासबाट बच्न सामन्ती तत्वहरु केहीपछि मात्र हटेका छन। यो स्थितिमा प्रस्तावले लोकतान्त्रिक गणतन्त्र पक्षधर राजनैतिक शक्ति नागरिक समाज, जातीय तथा सामाजिक संघ, संस्था एवम बौद्धिक व्यक्तित्वहरुका बीचमा गणतान्त्रिक मोर्चा बनाई आन्दोलनलाई संविधानसभाको निर्वाचन नहुँदासम्म जारी राख्नु पर्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ।

ग) प्रस्तावमा, सात संसदवादी दलहरुले जनआन्दोलनको मर्म र भावना विपरीत काम गर्न सक्ने खतराप्रति सावधान गराउँदै अविलम्व १२-बुँदे समझदारी अनुसार अगाडि बढन सात दलको सरकारसँग विशेष आग्रह गरेको छ। प्रस्तावले निसर्त, निष्पक्ष र स्वतन्त्र संविधानसभाको निर्वाचन सुनिश्चित गर्न तथा जनादेश अनुसार शाही सेना, प्रहरी, नोकरशाही लगायत सामन्ती निरंकुशतन्त्रका नाइकेहरुमाथि अविलम्ब कार्यवाही थाल्न जोड दिइएको छ। यदि सात दलको सरकार, १२-बँुदे समझदारी र जनआन्दोलनको गणतान्त्रिक आकांक्षाका विरुद्ध गएमा देशमा अर्को जनविद्रोह हुने र आफनो पार्टी त्यसको नेतृत्व गर्न तयार रहने कुरा पनि प्रस्तावमा स्पष्ट गरिएको छ।

घ) प्रस्तावले संविधानसभाको निर्वाचनमा जनताका निम्न आधारभूत समस्याहरुलाई ठीक ढंगले संवोधन गर्नु पर्ने तथा त्यसका लागि जनतालाई आन्दोलित गरिरहनु पर्ने कुरामा जोड दिएको छ। ती हुन : धर्म निरपेक्ष राज्य, आत्मनिर्णयको अधिकार र जातीय, क्षेत्रीय स्वशासन, नेपाली मौलिकतासहितको संघात्मक राज्य प्रणाली, दलित र महिलाहरुका लागि विशेषाधिकार, क्रान्तिकारी भूमिसुधार, स्वतन्त्र राष्टि्रय अर्थनीति, वैदेशिक हस्तक्षेपको विरोध, वैज्ञानिक र जनमुखी शिक्षा प्रणाली, देशभित्र रोजगारीको सुनिश्चितता आदि।

ङ) प्रस्तावले सात दलको सरकारसंग गर्ने वार्ताका सन्दर्भमा पार्टीको मार्गचित्र निम्न अनुसार स्पष्ट गरेको छ-

३) केन्द्रीय समितिको बैठकले सात दलको सरकारसँग वार्ताका सन्दर्भमा महत्वपूर्ण निर्णय गर्न शिखर वार्ता गर्नु पर्ने तथा त्यसप्रकारको शिखर वार्तामा अध्यक्ष क.प्रचण्डले नै वार्ता टोलीको नेतृत्व गर्ने ठेगान गरेको छ। बैठकले शिखर वार्ताको तयारीका लागि तत्काल केन्द्रीत समितिका प्रवक्ता क.कृष्णबहादुर महराको नेतृत्वमा क.देव गुरुङ र क.दीनानाथ शर्मा रहेको तीन सदस्यीय वार्ता टोलीको गठन गरेको छ।

४) बैठकले शान्तिपूर्ण जनसभाहरुका लागि केन्द्रीय वक्ता टोली समेत निश्चित गरेको छ। सो वक्ता टोलीमा निम्न कमरेडहरु रहनु भएको छ-

बदलिएको परिस्थिति अनुसार शान्तिपूर्ण ढंगले राजनैतिक र संगठनात्मक कृयाकलापलाई अगाडि बढाउन आवश्यक कार्यविभाजन गरिएको छ।

मिति : ३० वैशाख २०६३