2006-05-04 - press release - CPN-M२०६३-०१-२१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21069 अभिलेखालय सि. नं.: NCA-21069

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

सात संसदवादी राजनैतिक दलको सरकारद्धारा हिंजो गरेको युद्धविरामको घोषणाका साथै हाम्रो पार्टी तथा यसका नेताहरुमाथि लगाइएका झुट्टा आरोपहरु खारेज गरी वार्ताका निम्ति गरिएको आह्वानलाई हामी जनताको लोकतन्त्र, शान्ति र अग्रगमनको आकांक्षा परिपूर्तिका दिशामा लिइएको एक सकारात्मक कदमका रुपमा स्वागत गर्दछौं। हाम्रो पार्टी आगामी दिनमा १२–बु“दे समझदारी र ऐतिहासिक जनसंघर्षको मर्म र भावनाअनुसार वार्ताको माध्यमबाट शान्तिपूर्ण ढंगले देशलाई नया“ गणतान्त्रिक युगमा प्रवेश गराइने विश्वास गर्दै र आफ्ना तर्फबाट त्यसका लागि अधिकतम प्रयत्न गर्ने विश्वास दिलाउं“दै सरकारस“ग वार्तामा बस्ने निर्णय गर्दछ। वार्ता अवधिभर दुबै पक्षले पालन गर्नु पर्ने आचारसंहिताको प्रारुप हामीले सरकारलाई बुझाई सकेका छौं र आशा छ त्यसको इमान्दारीतापूर्वक कार्यान्वयन हुने छ।

अहिले देश गणतन्त्रउन्मुख संक्रमणकालमा छ। जनसंघर्षमार्फत् अभिव्यक्त जनादेश, निशर्त संविधानसभा हु“दै लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्नु हो भन्ने कुरा दिनको घामझैं छर्लङ्ग छ। यो स्थितिमा ०७ सालदेखि नेपाली जनताका विरुद्ध भ्रम, षडयन्त्र र धोखाको निकृष्ट खेल खेल्दै आएका सामन्ती तत्वहरुले फेरि इतिहासको पुनरावृत्ति गर्न नपाउन भन्नका लागि सर्वाधिक दृढता र तदारुकताका साथ कदम चाल्नु पर्ने क्षेत्र भनेको सेनालाई जनताको नियन्त्रणमा ल्याउने तथा त्यसको लोकतान्त्रीकरण गर्ने क्षेत्र हो। यसका लागि सामन्ती अभिजात वर्गीय निरंकुश राजतन्त्रको बचाउका लागि जनतामाथि दमन, हत्या र आतंक मच्चाउन निर्देशन गर्ने कमाण्डरहरुलाई कार्यवाहीको प्रक्रियाबाट अगाडि बढ्नु हामी त्यो दिशाको अनिवार्य पूर्व सर्त ठान्दछौं। यदि निरंकुशतन्त्रका मतियार प्रमुख अपराधीहरु दण्डहीन अवस्थामा यथावत राखियो भने त्यो सा“पलाई दूध पिलाउनु जस्तो मात्र हुने छ, जसले अन्ततः डसी छाड्ने छ र इतिहासको पुनरावृत्ति गरी छाड्ने छ। हामी आफ्नो नेतृत्वमा रहेको जनमुक्ति सेनालाई जनताको लोकतान्त्रिक आकांक्षा अनुसार नया“ राष्ट्रिय सेनामा शान्तिपूर्ण ढंगले पुनर्संगठित र संयोजित गर्न तयार रहेको कुरा पुनःस्पष्ट गर्दै कथित शाही सेनालाई नया“ राष्ट्रिय सेनामा रुपान्तरण गर्न ठोस कदमका निम्ति अपिल गर्दछौं।

लामो समयदेखि हिन्दु उच्च जातीय अहंकारवाद (व्राहमणवाद) मा आधारित सामन्ती सत्ताद्वारा नेपाली जनता वर्गीय, जातीय, क्षेत्रीय र लिङ्गीय भेदभाव, शोषण र उत्पीडनको शिकार भई आएका छन्। यो अवस्थामा नेपाली जनतालाई सामन्ती शोषणबाट मुक्त गर्न धर्म निरपेक्ष राज्य, जातीय–क्षेत्रीय स्वशासन, लिङ्गीय समानता, जनपक्षीय आर्थिक सुधार तथा गणतान्त्रिक राज्यसंरचनाको पक्षपोषण गर्ने राजनैतिक दलहरु, नागरिक समाज, जातीय संघ, संस्था तथा बौद्धिक व्यक्तित्वहरुका बीचमा वृहद् गणतान्त्रिक मोर्चा बन्नु हामी अनिवार्य ठान्दछौं। जनताका आधारभूत समस्या हल गर्ने कुरालाई सुनिश्चित गर्न तथा सामन्ती षडयन्त्रका खतरालाई चकनाचुर पार्न समेत त्यसप्रकारको गणतान्त्रिक मोर्चामार्फत् आन्दोलनकै रुपमा संविधानसभामा जाने कुराको महत्वलाई आत्मसात गर्दै हामी त्यसका लागि आवश्यक बहस र पहलका निमित्त सम्बन्धित सबैस“ग विशेष अनुरोध समेत गर्न चाहन्छौ।

नेपालमा विद्यमान समस्याको लोकतान्त्रिक, शान्तिपूर्ण र अग्रगामी समाधानमा संयुक्त राज्य अमेरिकाले हमेसा व्यवधान खडा गर्ने साम्राज्यवादी दादागिरीको प्रदर्शन गर्दै आएको छ। दोस्रो वार्ता कालमा कथित शाही सेनालाई दोरम्बा हत्याकाण्ड मच्चाउन उक्साउने भूमिकादेखि १२–बुंदे समझदारीका विरुद्ध निरन्तर विषवमन गर्नेसम्म र अहिले अर्को वार्ताको ठीक पूर्वसन्ध्यामा रिचर्ड वाउचर आएर “शाही” सैनिक हेडक्वार्टरमा मन्त्रणा गरी त्यसको प्रशंसा गर्ने र हामीलाई धम्क्याउने काम गरेर संयुक्त राज्य अमेरिकाले नेपालमा लोकतन्त्र र शान्ति होइन आफ्नो साम्राज्यवादी स्वार्थपूर्ति गर्न विशाल चीन र भारतका बीचको नेपालमा निरन्तर युद्ध र अशान्ति चाहेको कुरा पुष्टि गरेको छ। यो स्थितिमा नेपालमा लोकतन्त्र र शान्तिका लागि अमेरिकी हस्तक्षेप र दादगिरीका विरुद्ध आवाज उठाउन पनि हामी देशभक्त र स्वाभिमानी सबै राजनैतिक शक्ति र आम जनतास“ग विशेष अपिल गर्दछौं।

अन्तमा, जनताको लोकतन्त्र र शान्तिको आकांक्षाप्रति गहिरो जिम्मेवारीबोधका साथ १२–बुंदे समझदारीप्रति प्रतिबद्ध हुंदै हामी वार्तामा प्रवेश गर्दैछौं। हाम्रो यो जिम्मेवारीबोधलाई “युद्धबाट थाकेको” वा “खुल्ला राजनीतिमा आउने हतारो” भनेर कमजोरीका रुपमा कसैले बुझ्छ भने उसले हाम्रो विचार र भावनालाई रत्तिभर बुझ्न नसकेको मात्र ठहरिने छ। नेपाल र नेपालीका निमित्त संघर्षका कुनै पनि मोर्चामा अन्तसम्म लड्न हामी तयार छौं। तर, यसपटकको वार्ताको मोर्चा पहिलाका दुई वार्ता जस्तो असफल हुने छैन भन्ने कुरामा हामी आशावादी छौं किनकि यसका पछाडि ऐतिहासिक जनसंघर्षको शक्ति र निशर्त संविधानसभाको सहमति अन्तर्निहित रहेको छ। वार्ताको प्रारम्भिक चरणपश्चात् विद्यमान संसद, संविधान र सरकार विघटन र खारेज भई जनताको आकांक्षा अनुसार अन्तरिम विधान र अन्तरिम सरकार गठन हुनेछ र त्यसले निशर्त संविधानसभाको निर्वाचनको सम्पूर्ण प्रक्रियालाई नेतृत्व गर्ने छ भन्ने विश्वास हामीले लिएका छौं। अन्ततः यो प्रक्रियाको सफल अवतरणका लागि महान् नेपाली जनताको राजनैतिक चेतना र निरन्तर आन्दोलनले निर्णायक भूमिका खेल्नेछ। हाम्रो पार्टी जनताको त्यो भूमिकामा विश्वस्त छ।

मितिः– २१ वैशाख २०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)