2006-04-08 - press release - CPN-M२०६२-१२-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21073 अभिलेखालय सि. नं.: NCA-21073

प्रेस वक्तव्य

अन्तिम धुकधुकी धानिरहेको शाही सत्ताविरुद्ध राजनीतिक दल, विभिन्न पेशागत संघ/संस्थालगायत न्यायपे्रमी जनसमुदायले संचालन गरेको आन्दोलनले एकातिर नयाँ आकार ग्रहण गर्दै गइरहेको छ भने अर्कोतिर जनमुक्ति सेनाले आफ्नो आक्रमणलाई अझ व्यापक र शहर केन्द्रीत गरिरहेको कुरा जगजाहेर छ।

यसैक्रममा रुपन्देहीदेखि कपिलवस्तुसम्मको शाही जल्लादहरुको व्यापक फोर्टिफिकेशनमाथि गरिएको बृहत् हमला तथा घेराबन्दीले नेपाली जनयुद्ध र जनताको मुक्ति आन्दोलनको विकासको नयाँ स्थितिलाई स्पष्ट गर्दछ। प्रचण्डपथले विकसित गरको नयाँ सैन्य कार्यदिशाको स्पिरिटद्वारा सामरिक, राजनीतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण मानिने रुपन्देहीदेखि कपिलवस्तुसम्मका एक दर्जन क्याम्पहरुमा गरिएको हमलाले निरंकुश राजतन्त्रविरुद्धको निर्णायक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ। साथै ढाडमा टेकेर टाउकोमा हान्ने सैन्य रणनीतिको यो शानदार प्रयोग आगामी दिनमा झन् ठूलो हमला तथा घेराबन्दीको निम्ति ऐतिहासिक अभ्यास सावित हुनेछ। यतिबेला शहर, राजमार्ग र तराईमा गरिएको यो आक्रमणद्वारा जनमुक्ति सेनाले एकैसाथ थुप्रै क्यापम्हरु क्षतविक्षत पार्दै अञ्चल र जिल्ला सदरमुकामहरुलाई एउटै घेराभित्र राखेर आक्रमण गर्दै ध्वस्त गर्न सफल भएको र नयाँ उच्च आक्रमणको रिहर्शल शानदार ढंगले सफल पारेको छ।

यो आक्रमणको क्रममा दुई दर्जन शाही जल्लादहरुको मृत्यु हुनुका साथै सदरमुकाम र बख्तरबन्द गाडी समेत ध्वस्त गर्नुका साथै केही हतियारसहित महत्वपूर्ण युद्धसामाग्री जनमुक्ति सेनाले कब्जा गरेको छ। वीरतापूर्ण यस आक्रमणको क्रममा जनमुक्ति सेनाका कम्पनी कमाण्डरसहित १५ जना योद्धाहरुको वलिदानी भएको कुार समेत स्पष्ट गर्न चाहन्छौं। र, महान् शहीदहरुप्रति भावपूर्ण अभिवादन अर्पण गर्दै लालसलाम गर्दछौं। नेपाली जनतको स्वतन्त्रता प्राप्ति नभएसम्म जनमुक्ति सेनाले अझ व्यापक आक्रमण गर्दै अगाडि बढ्नेछ र यस ऐतिहासिक अभियानमा न्याप्रेमी जनसमुदाय र राजनीतिक दलहरुको समेत महत्वपूर्ण सहयोग रहने कुरामा विश्वस्त छौं।

मिति–२०६२ चैत्र २६ गते

प्रभाकर
डेपुटी कमाण्डर
जनमुक्ति सेना, नेपाल
नेकपा (माओवादी)

दिवाकर
इञ्चार्ज
पश्चिम केन्द्रीय कमाण्ड
नेकपा (माओवादी)