2006-03-15 - press release - NHRC२०६२-१२-०२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20125 अभिलेखालय सि. नं.: NCA-20125

मिति: 2006-03-15
ने.क.पा (माओवादी) लाई आग्रह, २०६२ चैत २

ने.क.पा. (माओवादी) का कार्यकताहरूले झागाझोली रातामाटा ८ डाँगी सिन्धुलीकी सरस्वती लामालाई २०६२ पुस १४ गते काभ्रे जिल्लाको मंगलटारवाट, फिकुरी सातदोबाटो नुवाकोटका शिक्षक नारायणसिंह तमाङ्गलाई २०६२ फागुन २३ गते, नेपाली कांग्रेस अर्घाखाँचीका सक्रिय सदस्य तेजकुमार श्रेष्ठ (रणप्रसाद) लाई २०६२ फागुन २८ गते सोही जिल्लाको भगवतीबाट र खारी-१ कुमाल्टारी धादिङ्गका शाही नेपाली सेनामा कार्यरत रामवहादुर सुनुवारकी श्रीमती शोभा थापा (सुनुवार) लाई २०६२ फागुन २० गते सोही ठाउँबाट कब्जामा लिएको भन्ने प्राप्त उजुरीहरूका सम्बन्धमा यस आयोगको ध्यानाकर्षण भएको छ।

रामेछाप जिल्ला स्वास्थ्य कार्यालयको एक टोली सोही जिल्लाको ठोसे तथा वाम्ती स्वास्थ्य चौकीमा परिवार नियोजन शिविर सञ्चालनार्थ जादैगर्दा २०६२ फागुन १७ गते दोलखाको मैनापोखरीबाट उक्त स्वास्थ्य कार्यालयको बा १ झ - ३४५३ नम्वर प्लेटको गाडीलाई ने.क.पा (माओवादी) का कार्यकर्ताले नियन्त्रणमा लिई एक दिनपछि जलाइदिएको भन्ने उजुरी पनि आयोगमा प्राप्त भएको छ।

यसैगरी कुदाक काउले भोजपुरका निवर्तमान गाविस अध्यक्ष तथा नेपाली काँग्रेस (प्रजातान्त्रिक) का महासमिति सदस्य वीरबल राईको घरजग्गा लगायत अन्य सम्पूर्ण सम्पत्ति नें.क.पा. (माओवादी) का कार्यकर्ताहरूले २०६२ असार ७ गतेदेखि आफ्नो कब्जामा लिई हालसम्म फिर्ता नगरेको उजुरी पनि आयोगमा प्राप्त भएको छ।

आयोग ने.क.पा.(माओवादी) लाई मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुनप्रति विभिन्न समयमा जारी सार्वजनिक प्रतिबद्धतालाई ख्याल राखी कब्जामा लिएका सम्पूर्ण व्यक्तिहरूलाई विना शर्त अबिलम्ब रिहा गर्न र आम नागरिकको स्वतन्त्रपूर्वक बसोवास गर्न पाउने तथा स्वास्थ्य उपचार पाउने हकमा कुनै पनि किसिमले अवरोध नपुर्‍याउन आव्हान गर्दछ।
ध्रुव नेपाल
निमित्त सचिव