2006-03-13 - press release - NHRC२०६२-११-२९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20124 अभिलेखालय सि. नं.: NCA-20124

मिति: 2006-03-13
नाकाबन्दी फिर्ता, पेशा, व्यवासाय गर्न पाउने र वेपत्तासम्बन्धमा विशेष खोजी कार्य, २०६२ फागुन २९

नाकाबन्दी फिर्ता लिन आव्हान

ने.क.पा (माओवादी) ले यही चैत १ गतेदेखि राजधानी काठमाडौं उपत्यका, क्षेत्रीय, अञ्चल तथा जिल्ला सदरमुकामहरूको नाकावन्दी र चक्काजाम र चैत २१ गतेवाट-अनिश्चितकालीन देशव्यापी यातायात, कलकारखाना, वजार, शिक्षणसंस्था र कार्यालयहरु वन्द गर्ने भनी गरेको घोषणाप्रति यस आयोगको गम्भीर ध्यानाकर्षा भएको छ।

यो घोषणाबाट स्वतन्त्र रूपमा पेशा, व्यवसाय गर्न पाउने, अवागमन गर्ने, अत्यावश्यकीय सेवा प्राप्त गर्ने लगायत आधारभूत अधिकारहरूबाट आम नागरिक वञ्चित हुने संभावनाप्रति आयोग चिन्ता व्यक्त गर्दछ।

डर, धम्की तथा हिंसाको समेत प्रयोग गरी नाकाबन्दी र चक्काजाम गराउने कार्यले आफनो हक प्रयोग गर्दा अर्काको हक हनन गर्न नहुने मानव अधिकारको आधारभूत सिद्धान्तको समेत उल्लंघन हुन जान्छ। आम जनजीवनलाई प्रभावित हुने किसिमले कुनै पनि कार्यक्रम र गतिविधि नगर्न तथा मानव अधिकारको निर्वाध उपभोग गर्न कुनै किसिमले हस्तक्षेप नगर्न आयोग ने.क.पा. (माओवादी) लाई आव्हान गर्दछ।

ने.क.पा. (माओवादी)को केन्द्रीय नेत्तृत्व तहबाट विभिन्न समयमा मानव अधिकार र मानवीय कानुनप्रति जारी र्सार्वजनिक प्रतिबद्धतालाई समेत ख्याल राखी घोषित नाकाबन्दी, चक्काजाम र बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता लिन समेत आयोग ने.क.पा. (माओवादी) लाई आव्हान गर्दछ।

पेशा, व्यवासाय गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह

नेपाल यातायात मिनिबस सेवा समिति र कान्तिपुर यातायात व्यवसायी संघको छुट्टा छुट्टै प्रतिनिधिमण्डलले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकसँग भेट गरी अखिल नेपाल यातायात मजदूर संघले यही फागुन २४ गतेदेखि दुवै संघ अन्तर्गतका बसहरू सञ्चालन नगर्न दिएको चेतावनीप्रति ध्यानाकर्षा गरायो।

आयोग आम नागरिकले स्वतन्त्रपूर्वक पेशा, व्यवसाय तथा आवागमन गर्न पाउने अधिकारमा कुनै पनि पक्षबाट कुनै पनि किसिमले अवरोध सिर्जना गर्नुहुदैन भन्ने मान्यता बमोजिम नेपाल यातायात र कान्तिपुर यातायातका सवारी साधन सञ्चालन गर्नमा कुनै पनि किसिमले अवरोध नपुर्‍याउन सम्बन्धित पक्षलाई आग्रह गर्दछ।

राष्ट्रिय मानव अधिकार आयोगद्वारा वेपत्तासम्बन्धमा विशेष खोजी कार्य

राष्ट्रिय मानव अधिकार आयोगले राज्यद्वारा वेपत्ता पारिएको भनी परेका उजुरीहरूका सम्वन्धमा विशेष खोजी कार्य संचालन गरिरहेको छ। यस क्रममा आयोगको सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा वेपत्तासम्वन्धी कार्य गर्नका लागि एक/एक एकाई स्थापना गरिने भएको छ। ती एकाईहरूले आफनो क्षेत्रमा वेपत्ता सम्वन्धमा थप क्रियाशील भई खोजी कार्य संचालन गर्ने छन्। हाल आयोगको विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा क्षेत्रीय कार्यालयहरू रहेका छन।

आयोगको केन्द्रमा वेपत्तासम्वन्धी हेर्ने छुट्टै एकाई स्थापना भई सो एकाईले वेपत्तासम्बन्धमा क्रियाशील भई काम गरिरहेको छ।

राज्यद्वारा वेपत्ता पारिएका भनिएका नागरिकहरूको खोजीकै सिलसिलामा आयोगको टोलीहरूले रसुवा, नुवाकोट, गोरखा र नवलपरासीमा स्थलगत सूचना सङ्कलन तथा खोजी कार्य सम्पन्न गरेका छन भने सोही सिलसिलामा आयोग टोलीहरू कास्की, बाँके र बर्दियामा पुगेका छन।

ध्रुव नेपाल
निमित्त सचिव